October 3, 2011

nepali traditional snack-परम्परागत नेपाली खाजा


स्मृति ढुंगाना- परम्परागत खाजा आजभोलि त्यति पाइन्न र देखिन्न पनि। परम्परागत नेवारी खाजा सेटहरू प्रायः चर्चामा रहे पनि अन्य जातिका खाजाका परिकार हराइसकेका छन्। घरमा पनि यस्ता परम्परागत खाना बन्ने क्रम घट्दैगएको छ। सहरी क्षेत्रमा अहिले रेडिमेड खानालाई प्राथमिकता दिइएको पाइन्छ। कम समयमै तयार हुने र रेडिमेड खाना सहज पाइने हुँदा पनि अधिकांशले यस्ता खाना मन पराउँछन्। 
घरमा बन्ने खाजाहरू भुटेको मकै भटमास, चाम्री,आलुदम, कोदोको रोटी, भुटेको गहुँ, उसिनेको आलु, पानीरोटी, पान रोटी, जाउलो, पुवा, गुन्द्रुक साँधेको, खिर, च्याँख्ला, खिचडी, हलुवा, लसुन साँधेको, मोही, भुटेको भात, माल्पुवा, बाबर, सातु र खट्टे (चामल भुटेको) लगायत खानाहरू कमै बन्ने गरेको छन्। स्वस्थ्यका दृष्टिले गुणस्तरतरीयमानिने यस्ता खाजाको माग घटेको छ। युवा पुस्ताले रेडिमेड खाजा मन पराएका कारण पनि यी गुणस्तरीय खाजाहरू हराउँदै गएको छ। 
हाल बीबीएमा अध्ययरत बौद्धका विश्वदीप ढुंगाना सकभर घरमै पाक्ने खाजालाई प्राथमिकता दिन्छन्। घरबाट बाहिर हुँदा उनी परम्परागत खाजाहरू नपाइने गुनासो गर्छन्। 'खाजा खाना कहीँ छिर्‍यो भने रेडिमेड खाजामात्र पाइन्छ। परम्परागत खाजा पाइनै छाडेको छ ,' उनी भन्छन्। सकभर आफैँले घरमा परम्परागत खाजा बनाउन उनी तयार हुन्छन्। 'मलाई परम्परागत खाजाको स्वाद मन पर्ने हुँदा यस्ता परिकार बनाएर खुवाउने गरेको छु ,' उनले भने। उनलाई मन पर्ने खाजाचाहिँ हलुवा रहेछ। उनले आफ्नै जस्तो सोच भएका साथीहरू मिलेर परम्परागत खाजालाई बौद्ध क्षेत्रमा प्रोत्साहन गरिरहेका छन्। 'सबै परिकार नपाए पनि कम्तीमा परम्परागत नेपाली खाजाहरू बौद्धवरिपरिका होटलमा पाइने भएको छ ,' उनले भने। उनीहरूको समूहले मिलेर यो अभियान अन्य क्षेत्रमा पनि बिस्तार गर्ने भएका छन्। 'बिस्तारै पर्यटन क्षेत्रमा यो अभियान बिस्तार हँुदैछ। 
स्थानीय होटल व्यवसायीको सहकार्यमा हामीले मिलेर परम्परागत खाजालाई व्यवस्थित गर्ने भएका छौँ', उनले भने। 
बौद्ध क्षेत्रमै लामो समयदेखि होटल सञ्चालन गरिरहेका हिराकाजी शाक्य भन्छन्,'युवा पुस्ताले परम्परागत खाजा पनि राख्नुपर्छ भनेपछि हामीले राखेका छौँ। अहिले च्याँख्ला र नेपाली खाजा सेट राखेका छौँ। केही दिनमै नयाँ परिकार पनि थप्छौँ', उनले भने। झन्डै तीन वर्षदेखि सातदोबाटोमा प्राकृतिक खानाहरूमात्र बिक्री गरिरहेको अमृत भोजनका डा. उमेश श्रेष्ठ भन्छन्, 'रेडिमेड खानाले स्वस्थ्यमा गम्भीर असर पार्छ। प्रशोधित खानामा मिसावट हुने हँुदा हामी स्वस्थ छौँ भन्ने कुरा गलत हो।' उनले परम्परागत र प्राकृतिक खाजाहरूलाई प्राथमिकतामा राखेका छन्। 'परम्परागत खानाहरू पोषिलो हुने हँुदँ लोप नहोस् भनेर सबैका लागि तयार गरेका छौँ। अहिलेे युवा पुस्ताले यस्तो खानामा जोड दिन थालेका छन्', उनले भने। साधारण मूल्यमै उनले परम्परागत खाना बिक्री गरिरहेका छन्। 'बजारमा पाइने खाजाहरू हामीकहाँ पाइन्न। बरु परम्परागत खाजाहरू च्याँख्ला, सातु र फ्रेस पकाएका परिकारमात्र पाइन्छन्। 
गृहिणी शारदा न्यौपानेले प्रायः घरमा सहजै पाइने खाजाहरू तयार गर्ने गरेकी छन्। काम समयमै तयार हुने रेडिमेड मःम र चाउचाउ उनको भान्छामा पाक्ने खाजा हुन्। 'परम्परागत खाजा खासै घरमा कसैले मन नपराउने हुँदा रेडिमेड खाना नै तयार गर्छु। कहिलेकाहीँ भुटेको भात र कुकिजमै खाजा टर्ने गर्छ', उनले भनिन्। परिवारका सबै सदस्य कामको सिलसिलामा घरबाट बाहिर हुने हुँदा सकभर उनी खाजाकै लागि बढी समय खर्च गर्न चाहन्नन्।  
तेक्वान्डोकी प्रशिक्षक संगिना वैद्य, आजकाल परम्परागत खाजालाई मिस गरिरहेकी छन्। उनले नेवारी खाजाबाहेक चाउचाउ र रेडिमेड कुकिजहरू खाजाको रूपमा खाने गरेकी छन्। प्रायः काममै व्यस्त हुने उनी बाल्यकालमा आमाले तयार गरिदिएको भुटेको मकै र भटमास मन पराउँछिन्। 'घर फर्कँदा ममीले बटुकीमा मकै, भटमास, बदाम वा पुवा राखिदिनुहुन्थ्यो। अहिले कहिलेकाहीँ ममी आउँदा मात्र खान पाइन्छ ', उनले भनिन्। घरमा भएका बेला उनी मकै उसिनेर टिम्मुरसँग खान्छिन्। 'सधैँ एउटै खाना भएपछि परम्परागत खाजाहरू बनाएर खाने मुड आउँछ। खासै बनाउन नआउने हुँदा फेरि रेडिमेड चाउचाउ र जम्बो फुडमा आँखा गइहाल्छ ', उनले भनिन्। गुणस्तरीय खाजा नभएकाले स्वस्थ्यका दृष्टिले केही कमजोर भएको महसुस उनले गरेकी छन्। पुरानो अरब बैंकस्थित क्रिस्ट बैंककी ब्रान्च हेड अञ्जु कार्की प्रायः काममै व्यस्त हुन्छिन्। छुट्टीबाहेक अधिकांश समय अफिसमै बित्ने हुँदा उनले रेडिमेड खानालाई प्राथमिकता दिने गरेकी छन्। 'काममै व्यस्त हुने हुँदा के खाजा खाने भन्नेमै अलमल हुन्छ। झट्ट उही रेेडिमेड मःम र चाउमिनमै भोक मेट्नुको विकल्प हुँदैन। फेरि अधिकांश होटलहरूमा परम्परागत खाना नै पाइन्न', उनी भन्छिन्। नेपाली रेस्टुरेन्ट र होटलहरूमा नेपाली खाजाको मेनु नै कम भेटिन्छन्। 'स्वस्थ्यका दृष्टिले पहिलाको जस्तो मकै भटमास र गुन्दु्रकको अचार अहिले भेट्न सकिन्न। फेरि सोखिन पनि भएपछि यस्ता खानालाई महत्व कमै दिइन्छ ,' उनले भनिन्।
साहित्यकार अभि सुवेदी प्रायः बाहिर खाजा खाँदैनन्। एक, दुई ठाउँमा मात्र फ्रेस र हाइजिनिक खाजाहरू उनले खाने गरेका छन्। 'मैले सकभर फ्रेस खाजामात्र खान्छु। स्यान्डविचचाहिँ मलाई मन पर्छ। राम्रो खाजा भएन भने भोकै हिँड्छु तर खान्नँ', उनले भने। प्रायः चिउरा भुटेर घरमै विभिन्न परिकारसँग उनले खाने गरेका छन्। जाडोमा भने उनी प्रायः मःम र थुक्पा खान्छन्। 'घरमै भयो भने खान सहज हुने हुँदा बाहिरबाट तयार भएको खाजा खाँदिनँ। फेरि गुणस्तरीय खाजा नै नहुने हुँदा स्वस्थ्य बिग्रने डर हुन्छ', उनी भन्छन्। गर्मीमा दही-चिउरालाई उनी मन पराउँछन्।  
चल्तीमा नरहेका खाजा
खट्टे- चामल घुटेर तयार गर्ने। 
च्याँख्ला- मकैको टुक्रा दानाहरूलाई भिजाएर पकाउने। 
फापरको रोटी-फापरको पिठो गिलो बनाएर हल्का नुन हालेर तावामा मसिनो रापमा पकाउने। 
चाम्री- भिजाएको चामललाई मसिनो रापमा पकाउने। 
आलुदम- उसिनेको आलु हल्का रापमा फ्राई गर्ने। 
माल्पुवा- पिठो गिलो बनाएर तातेको तेलमा फ्राई गर्ने। 
साँधेको गुन्दु्रक- गुन्दु्रक भिजाएर, लसुन र अन्य मसला हालेर मोल्ने। 
खिचडी- चामल, दाल र थोरै तरकारी फ्राई गरेर पानी हालेर पाउने।   

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More