April 2, 2012

कृष्णप्रसाद भट्टराई- जीवनी-Krishna Prashad Bhattarai- Biography

किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईले आफ्नो पुरै जीवन राजनीतिक आरोह अवरोहमा विताए । मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत स‌घर्षको पर्याय नै बने । उनले आफ्नो जीवनमा घात, प्रतिघातहरु खेपे तर, कहिल्यै प्रजातन्त्रप्रतिको निष्ठामा आँच आउन दिएनन् । राजनीतिले जनविश्वास गुमाउँदै गएको यो घडीमा राजनीतिमा त्याग, निस्वार्थ तथा इमान्दारिताको पर्याय बनेका किसुनजी सबैका लागि पथ प्रदर्शक बनि रहने छने ।

नेपाली राजनीतिका शिखर पुरुष एवं सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईको जन्म भारतको वनारसमा भएको हो । उनको बाल्यकाल, शिक्षा र राजनीति समेत वनारशबाटै सुरु भएको थियो । उनको जन्म १९८१ पुस कृष्ण एकादशीका दिन भएको हो । बाबु संकटाप्रसादका दुई श्रीमतीबाट ४ छोरा र ५ छोरी मध्ये आमा ललिताका सन्तान हुन्, कृष्णप्रसाद । ६ दसक लामो राजनीतिमा सक्रिय रहेका भट्टराईलाई कांग्रेसका नेता तथा कार्यकर्ताले बोलाउने प्यारो नाम हो– किसुनजी ।


भट्टराईका पुर्खा राजपुरोहितको काम गर्थे । गोर्खाका पुरोहित यज्ञेश्वर भट्टराईका छोरा श्रीपति भट्टराई श्री ५ पृथ्वीनारायण शाहसंग काठमाडौंमै आएर दरबारमा पुरोहित भई बसेका थिए । त्यसपछि उनका सन्तान क्रमशः विष्णुहरि, कृष्णलाल, मोदिनीधर, कमलकान्त, विश्वानाथ हु“दै पछिल्लो पुस्ताका सन्तान हुन् संकटाप्रसाद । संकटाप्रसादका चार छोरा नै प्रजातान्त्रिक आन्दोलनमा होमिए । कान्छ कृष्णप्रसाद भने नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा हुन पुगे ।

‘राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यतिकै आवश्यक हुन्छ’ कृष्णप्रसाद बारम्बार भन्ने गर्थे । त्याग र सपर्मणलाई व्यवहारमानै उतार्ने प्रयास गरेका भट्टराई नेपाली राजनीतिक फा“टमा विरलै रहेका निष्ककलंक राजनेता हुन ।

१८ बर्षको विद्यार्थी उमेरदेखिनै भट्टराई सक्रिय राजनीतिमा होमिएका थिए । विद्यार्थी कालदेखिनै उनी किसनुजीको नाममा चिनिन्थे । भट्टराईले सक्रिय राजनीतिको जीवन १९४२ को भारतको स्वाधिनताको लागि भएको भारत छोड आन्दोलनमा प्रत्यक्ष भाग लिएपछि सुरु भएको हो । त्यस आन्दोलनमा भाग लिएका कारण उनलाई तत्कालिन अंग्रेज शासकले एक महिनाको जेल सजाय समेत दिएको थियो ।
र 
वनाराशमा स्नातक गरेर एमएको अध्ययन गर्दागर्दै भट्टराईको वीपी संग सन १९४६ अगष्टमा त्यही“ भेट भएको थियो । विश्वविद्यालय अध्ययनका क्रममा उनी नेपाली छात्रा संघको अध्यक्ष र अखिल भारतीय विद्यार्थी कांग्रेसको सचिव समेत बनेका थिए ।

सन् १९४७ मा जनवरी २५ मा कोलकक्तामा उद्घाटन भएको नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्रीमा उनी चुनिए । २००६ साल चैत २७ गते जनरल सुवर्णशमसेरले नेतृत्व गरेको प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको कलकत्तामा एकिकरण भयो । त्यसपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो ।

२००६ साल भदौ २६ र २७ गते भारतको विहार प्रान्तमा विशेष अधिवेशन गरेर प्रजातन्त्र स्थापनाका लागि नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय लिईयो । भट्टराईलाई सशसत्र क्रान्तिको नेतृत्वको जिम्मा पार्टीले दिएको थियो । भट्टराई र रुद्र गिरीको नेतृत्वको मुक्ती सेनाले २००६ माघमा उदयपुरगढी कव्जा समेत गरेको थियो । भट्टराईकै नेतृत्वमा रहेको मुक्ती सेनाले जनकपुर, महोत्तरी क्षेत्रपनि कव्जामा लिएको थियो ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र प्राप्तीपछि राजा त्रिभूवनले शाही घोषणा मार्फत विधान निर्माण गर्नका लागि गठन गरेको ३५ सदस्यीय विधान सल्लाहकार सभाको अध्यक्ष बनाएका थिए ।

भट्टराई २००७ सालदेखि स्थायी रुपमा काठमाडौं बस्न थालेका हुन । त्यसअघिको जीवन उनको वनराशसमै वितेको थियो । काठमाडौं आएपछि केही समय गणेशमान सिंह र सुर्यप्रसाद उपाध्यायका साथ बसे ।

प्रखर बौद्धिकता र कुटनीतिक क्ष्ँमता एवं सुझबुझ भएका नेता भट्टराई त्यसबेलाको संसदीय शासन व्यवस्थामा कुशल नेतृत्व दिएका थिए । २०१७ साल पुस १ गते तरुण दलको सभा हुँदाहुँदै वीपी कोइरालासंगै अधिवेशनस्थल त्रिपुरेश्वरबट उनी पक्राउ परेका थिए । त्यसपछि तकालिन पंचायती शासनले उनलाई निरन्तर दश बर्ष जेल सजायाँ दिईयो । जेलबाट निस्कन धेरै नेताहरुले तत्कालिन शासकसंग कागज गराए । तर भट्टराई कागज गराउन नमान्दा थप दुई बर्षको जेल तोकियो । प्रजातन्त्र स्थापना र पुर्नस्थापनाको अवधिमा सघर्ष गर्दा भट्टराईले आफ्नो जीवनमा १४ बर्ष भन्दा बढी जेल जीवन विताएका छन ।

भट्टराई राजनीतिको प्रेरणाको स्रोत कसैलाई मान्थेनन । कसैले राजनीतिक प्रेरणा को थियो भनेर सोध्यो भने भट्टराई आफ्नो चेतना र सम्पर्कले यस क्षेत्रमा लागेको बताउ“थे । तर उनी केही महात्मागान्धी, केही नेपोलियन, केही वीपी र केही गणेशमानका विचार मन पर्ने बताउँथे ।

०१२ देखि ०१४ माको सत्याग्रहमा भट्टराईले नेतृत्वदायी सक्रियता देखाएका थिए । उनको परिचय राजनीतिज्ञको रुपमा मात्रै सिमित रहेन । समाजवादी चिन्तक, विधायक, पत्रकार र लेखको रुपमा समेत रह्यो ।

२००७ सालमा प्रजातन्त्र स्थापनापछि वनाराशबाट निस्केएको युगवाणी साप्ताहिक र नेपाल पुकारका सम्पादक समेत भए । उनी नेपाल पत्रकार महासंघको पहिलो सभापति रहेका थिए । भट्टराईको छवि कुशल पत्रकारको रुपमा समेत रहेको छ । उनी नेपाल पत्रकार महासंघको प्रथम सभापति समेत बनेका थिए । 

वि.स २०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याई सरकार गठन गरेपछि भट्टराई प्रतिनिधि सभाको पहिलो सभामुख समेत बने ।

भट्टराईले २०२७ बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उदघाटन गरेर विद्यार्थीलाई राजनीतिक अन्दोलनमा सक्रिय बनाएका थिए । २०३४ मा सम्पन्न भएको पटना सम्मेलनमा वीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यबाहक सभापति बनाएका थिए । वीपीको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उनी पुनः कार्यबाहक सभापति चुनिए । कार्यबाहक सभापतिकै रुपमा भट्टराईले डेढ दशक पार्टी नेतृत्व गरे । पार्टीको आठौ महाधिवेशन २०४८ को कलबलबुढी झापाले सर्वसम्मतबाट भट्टराईलाई सभापतिमा निर्वाचित गरेको हो । २०५३ सम्म सभापतिको पद सम्मालेका थिए ।

भट्टराईकै सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह र २०४६ को जनआन्दोलनको घोषणा भएको थियो । प्रजातन्त्र पुर्नस्थापना भएप्छि उनी पहिलो अन्तरिम कालिन प्रधानमन्त्री बन्न पुगे । भट्टराईले त्यतिबेला सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री हुन प्रस्ताव गरेका थिए । तर, गणेशमानले प्रधानमन्त्री अस्विकार गरेपछि भट्टराई प्रधानमन्त्री बन्न पुगेका थिए । त्यसबेला अन्तरिम संक्रमणकालिन विकट परिस्थितलाई भट्टराईले सफलताका साथ सम्मालेका थिए । भट्टराईले एक बर्षभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर संवैधानिक राजा र जनताद्धारा आफूलाई सुम्पिएको काम सफलताका सम्पन्न गरेका थिए । उनले आफू पराजित भएर पनि निर्वाचन निष्पक्ष बनाउने भूमिका खेलेका थिए । २०१५ मा गोर्खाबाट र २०४८, २०५० र २०५१ मा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचनमा पराजित भएका थिए । पराजयको ऐतिहासिक पुष्ठभूमिलाई लिएर कांग्रेस कार्यकर्ताहरु ‘भट्टराइ मनिटर’मा निर्वाचन नजितेको भनेर चर्चा गर्दथे । 

उनले ०५६ को आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ बाट पहिलोपटक चुनाव जितेका हुन । चुनावमा सफलता हासिल गरेको जीवनमा त्यही थियो । त्यतिबेला भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर पार्टी निर्वाचनमा होमिएको थियो । पार्टीले बहुमत ल्याएपछि उनी दोस्रोपटक प्रधानमन्त्री बने । तर पार्टीभित्रकै विभिन्न आन्तरिक द्धन्द र कलहका कारण एक बर्ष नपुग्दै भट्टराईलाई पद त्याग गर्न बाध्य पारियो ।

स्थापनाकालदेखिनै वीपी, सुवर्ण शमशेर र गणेशमान सिंह तीनैजना नेताहरुसंग समान रुपमले काम गरेका भट्टराई अहि‌सात्मक आन्दोलनबाट प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प बोकेका थिए । पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरवहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएपछि भट्टराई सवैभन्दा दुःखित भएका थिए । पार्टी विभाजनपछिनै उनले सक्रिय राजनीतिबाट विस्तारै विश्राम लिएका हुन । 

२०५० उपनिर्वाचनमा पार्टीकै अन्तघातबाट भट्टराईलाई हराएपछि उनलाई त्यतिबेलै पार्टी फुटाउने उक्साउने नेताहरु धेरै थिए । त्यसका लागि केन्द्रीय समितिमा दुई तिहाई र संसदीय दलमा ४५ प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षर समेत तयार गरिएको थियो । तर उनले त्यति बोल भनेका थिए–‘बरु म मेटिन तयार छु, तर पार्टी फुटाउदिन ।’

राजा ज्ञानन्द्रले सम्पुर्ण शासन सक्ता आफ्नो हातमा लिएपछि पार्टीले गणतन्त्रको लाईन पास गर्यो । त्यस निर्णय उनलाई मन नपरेपछि उनी पार्टीका गतिविधिमा समेत सामेल हुन छाडे । प्रजातान्त्रिक आन्दोलनका लागि राजाहरुबाटै कठोर यातना पाएका भट्टराई मृत्यु पर्यन्त संवैधानिक राजतन्त्रको आफ्नो विचार त्यागेनन । मुलुक गणतन्त्रमा गईसकेपछि पनि भट्टराईले संवैधानिक राजतन्त्रकै वकालत गरे ।

जुन विचारका कारण उनी पार्टीको मुलप्रवाहबाट एक्लिन पुगे । आधा सताव्दी भन्दा लामो राजनीतिक जीवनको कठिन यात्रामा सघर्ष गरेका भट्टराई । उनलाई ०५४ सालमा मानवअधिकारवादी सस्थाहरुले मावनअधिकार योद्धा सताव्दी पुरस्कार र सम्मान प्रदान गरेका छन ।


पानका अम्मली भट्टराई

भट्टराई पानका अम्मली थिए । उनलाई दैनिक पान चाहिन्थ्यो । उनी पान खाएर राता दाँत देखाउदै कार्यकर्ता र नेताबीच ठट्यौली पारमा बोल्थे । उनको पान खानी बानीले पान संस्कृतिको विकास समेत गराएको थियो । उनी कहिले ‘अविविवाहित भएपनि कुमार होइन’, कहिले आईमाई र मौसमको भर हुदैन त कहिले ‘म भारतमुखी हुँ’ भनेर चर्चामा आइ रहन्थे । उनी पछिल्लो समय सवैधानिक राजतन्त्रको वकालत गर्दै ०४७ सालको संविधान व्यूताउनु पर्ने माग समेत गरेका थिए । जीवनभर हास्यरसमा स्वाद लिने किसनुजीका बारे दुनियाँले आफ्ना धारणा बदलिरहेपनि उनले भने कहिल्यै आफ्नो धारणा बदलेनन ।

[Source - ekantipur,कुलचन्द्र न्यौपाने र खिम घले) - 2011-03-05]

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More