November 5, 2012

Confusion about Buddha who was born in nepal-बुद्धबारे भ्रम

By गोपाल विरही

भारतले लुम्बिनी उतै रहेको प्रमाणित गर्‍यो भने नेपाल शिरविनाको मुर्कट्टो हुनेछ

बुद्ध भारतमा जन्मिएको दाबी र नेपालले नक्कलमात्रै गर्न खोजे पनि असफल भएको आरोपसहित नेपालको जस्तै ‘भग्नावशेष’ बनाउन करोडौँका प्रोजेक्ट तयार गरी रातदिन ट्रयाक्टर र मजदुर खटाएर गौतमबुद्धको मावली देवदह, जन्मस्थल लुम्बिनी र दरबार तिलौराकोट प्याकेजमै भारतमा बनाइँदै छ (हेर्नुहोस्, नयाँ पत्रिका, ४ चैत २०६६) । भारतीय चलचित्र ‘चाँदनी चोक टु चाइना’ मा बुद्धको जन्म भारतमा भएको भनिएको छ । नेपालको सेन्सरबोर्डले उक्त वाक्य काटेर चलचित्र प्रदर्शनको अनुमति दिएको थियो, तर विद्यार्थी र सञ्चारमाध्यमले विरोध गरेपछि सरकार निषेध गर्न बाध्य भयो । हालै सरकारले पशुपतिका भारतीय भट्ट हटाएर नेपाली पुजारी राखेपछि भारतीय राजदूत, सिनेकलाकार गोविन्दा र समाजवादी दलका नेताले दबाबमूलक अभिव्यक्ति राख्दै नेपालको सार्वभौमसत्तामा हस्तक्षेप गरे पनि यहाँको अदालतले भारतीय भट्टलाई नै पुनर्नियुक्त गर्‍यो । यसरी भारतीय हस्तक्षेप हुँदा पशुपतिबारे कोही नबोल्नु तर एउटा सानो सिनेमाको घटनामा सारा देशले नै पीडाबोध गरी लुम्बिनीको समर्थनमा बोल्नुले राष्ट्रियताका सम्बन्धमा लुम्बिनीको ठूलो महत्त्व छ र देशवासीका आँखामा लुम्बिनी महान् छ भन्ने देखाउँछ ।

बुद्धबारे भ्रम : 
भविष्यमा बुद्ध हुने मनुष्य वा मनुष्येतर प्राणी बोधिसत्व हो भने बुद्धत्व प्राप्त व्यक्ति बुद्ध हो । बुद्धत्व लाभ गरे पनि धर्मोपदेश नगरेका अनगिन्ती ‘प्रत्येक बुद्ध’, धर्मोपदेश गरेका अढाई दर्जन ‘सम्यक् सम्बुद्ध’ र भविष्यको गर्भमा रहेका ‘मैत्रेय बुद्ध’ गरी तीन प्रकारका बुद्ध थेरवादी/हीनयानी बौद्धग्रन्थ त्रिपिटकमा फेला पर्दछन् । दीपङ्कर बुद्धबाट सुरु भएको सम्यक् सम्बुद्धको सूचीमा कालान्तरमा कोण्डञ्ञ, मङ्गल, सुमन, रेवत, सोभित, अनोमदस्सी, पदुम, नारद, पदुमुत्तर, सुमेध, सुजात, पियदस्सी, अत्थदस्सी, धम्मदस्सी, सिद्धत्थ, तिस्स, फुस्स, विपस्सी, सिखी, वेस्सभू, ककुसन्ध, कोणागमन, कस्सप र गौतमबुद्ध देखा पर्छन् । 

यी सम्यक् सम्बुद्धमध्ये तीनजना हालको नेपालमा अवस्थित कपिलवस्तुमा जन्मिएको ग्रन्थप्रमाण छ । यी सबै बुद्धमध्ये लुम्बिनीमा जन्मेका गौतम बुद्ध किन पनि बढी लोकपि्रय भए भने उनको परिनिर्वाणपछि मात्रै त्रिपिटक लेखनका लागि संगायनाहरू हुन सके । ग्रन्थप्रमाणअनुसार गौतमबुद्धले बुद्धत्व प्राप्त गर्नुअघि उपर्युक्त सम्यक् सम्बुद्धहरूका समयमा क्रमशः सुमेध तपस्वी, विजितावी चक्रवर्ती राजा, सुरुचि ब्राह्मण, अतुल नागराजा, अतिदेव ब्राह्मण, अजित ब्राह्मण, यक्ष सेनापति, सिंह, तपस्वी, जटिल महानागरिक, उत्तर ब्राह्मण, चक्रवर्ती राजा, कस्सप ब्राह्मण, सुसिम तपस्वी, देवराज इन्द्र, मङ्गल तपस्वी, सुजात क्षत्रिय, विजितावी क्षत्रिय, अतुल नागराज, अरिन्दम राजा, सुदस्सन राजा, खेम राजा, पब्बत राजा र ज्योतिपाल ब्राह्मण भई बोधिसत्वका रूपमा अनेक कुशल कर्म गरी पछि बुद्ध हुनका लागि चाहिने पुण्य सञ्चय गरेका थिए । यसरी बुद्धका अनेक प्रकार र संख्या भए पनि अहिलेको विवाद मूलतः गौतमबुद्धको जन्मस्थलसँग जोडिएको देखिन्छ ।

बुद्धजन्मभूमिबारे भ्रमः 
कसै-कसैले लुम्बिनी गौतम बुद्धको नभएर सिद्धार्थ गौतम (बोधिसत्व) को जन्मभूमि हो भन्छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कास्कीमा जन्मिँदै प्रधानमन्त्री भएर नजन्मेका हुनाले कास्कीलाई र सिद्धार्थ गौतम लुम्बिनीमा जन्मिँदै गौतम बुद्ध भएर नजन्मेका हुनाले लुम्बिनीलाई उनको जन्मस्थल भन्न मिल्दैन भन्नु कति जायज र तर्कसंगत छ ? ती ठाउँमा त बालक जन्मेका थिए जसका नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभएर छविलाल र गौतमबुद्ध नभएर सिद्धार्थ गौतम थिए । कालान्तरमा उही छविलाल/पुष्पकमल प्रधानमन्त्री हुन पुगेकाले उनको जन्म कास्कीमा भएको कुरामा आपत्ति नरहेझैँ सिद्धार्थ गौतम नै समयान्तरमा गौतमबुद्ध हुन पुगेकाले उनको जन्मस्थल लुम्बिनी भएकामा विमति राख्नु पूर्वाग्रह हुनेछ । 
थाइल्यान्डतिर के भ्रम छ भने गौतमबुद्धका पालामा नेपाल भन्ने देश नभएकाले नेपाल बुद्धजन्मभूमि होइन । बिचराहरूलाई थाहा रहेनछ, बुद्धको पालामा भारत भन्ने देश पनि थिएन, त्यहाँ १६ राज्य थिए । जसरी बुद्धकालमा भारत थिएन, अहिले छ, त्यसरी नै पहिले नेपाल थिएन, अहिले छ । सूत्रपिटकको परिनिब्बान सूत्रमा बुद्ध आफैँले लुम्बिनी बुद्धको जन्मस्थल हो भनेर भिक्षु आनन्दलाई भन्नुभएको छ ।

बुद्धजयन्तीबारे भ्रमः 
बुद्धजयन्तीको अर्थ गौतमबुद्धको जन्मदिन हुनुपर्नेमा बुद्धको परिनिर्वाणदेखि यतामात्र कालगन्ती गरेर २५५३ औँ बुद्धजयन्ती पुर्‍याइएको छ । बुद्धको जन्म र परिनिर्वाणबीच ८० वर्ष फरक छ । बुद्धसंवत् (२५५३) र बुद्धजयन्ती (२६३३) दुई फरक विषय हुन् । बुद्धजयन्तीबारे ठुल्ठूला बौद्ध संस्था र विद्वान् नै भ्रममा छन् भन्ने तथ्यलाई एक वर्षअघिको कोरियाली बुद्धजयन्ती कार्यक्रममा ‘२५५२ औँ बुद्धजयन्ती’ लेखिएको तुलमुन्तिर प्रधानमन्त्री र सभामुखजस्ता विशिष्ट व्यक्ति बसिरहेका पत्रपत्रिकामा छापिएका फोटाले पुष्टि गर्छन् । बुद्धको जन्म र ज्ञानलाभबीच ३५ र ज्ञानलाभ र परिनिर्वाणबीच ४५ वर्षको अन्तर छ ।

निष्कर्षः बुद्धसँग सम्बन्धित चार महत्त्वपूर्ण स्थानमध्ये नेपालमा जन्मभूमि मात्र छ । बोधिलाभस्थल (बोधगया), धर्मचक्रप्रवर्तनस्थल (सारनाथ) र परिनिर्वाणस्थल (कुशीनगर) भारतमै पर्छन् । लुम्बिनी मात्रै नभएर बोधगया, सारनाथ, कुशीनगरदेखि थाइल्यान्ड, म्यान्मार, श्रीलंकाप्रति नेपाली बौद्धको आस्था रहनु स्वाभाविक भए पनि राष्ट्रियताका दृष्टिले सार्वभौमसत्तासम्पन्न बुद्धजन्मभूमिका नागरिकको पहिचान उनीहरूले खोजेका छन् । 

नेपालका अबौद्धहरूले बोधगया, सारनाथ र कुशीनगरप्रति आस्था नराखे पनि हरेक नागरिकको राष्ट्रियताका सम्बन्धका आधारमा लुम्बिनी आमनेपालीको सार्वजनिक राष्ट्रिय सम्पत्ति र राष्ट्रको गौरवमय सम्पदा हो । केही गरी लुम्बिनी भारतमा छ भनेर भारतले प्रमाणित गरिदिएमा नेपाल शिरविनाको मुर्कट्टा हुनेछ । ‘चाँदनी चोक टु चाइना’ मा भारतलाई बुद्ध-जन्मस्थलका रूपमा चित्रण गरिँदा सडक आन्दोलन गरी सो चलचित्र प्रदर्शनमा रोक लगाउन सफल नेपाली युवा विद्यार्थी समुदायले अहिले भारतमै बनाइँदै गरेको नक्कली लुम्बिनीविरुद्धचाहिँ निणर्ायक सडक आन्दोलन गर्ने कि नगर्ने ?

Source: Nayapatrika

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More