January 7, 2013

Kidney problems and possible solutions-मिर्गौला रोग र बचाउने उपाय बारे जानिरखौ

-डा. हेमराज कोइराला

मिर्गौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण तर उपेक्षित अंग हो। धेरैलाई मिर्गौलाले के काम गर्छ भन्नेबारे थाहा नहुन सक्छ। मिर्गौला हाम्रो कम्मरको हड्डीको माथिल्लो भागको आसपास अवस्थित, सिमीको बिजका आकारका एक जोडी अंग हुन्। महिलामा यसको तौल १३५ ग्राम हुन्छ भने पुरुषहरूमा १५० ग्राम जति हुन्छ। मिर्गौलाको मुख्य कार्य रगतमा भएका विषात पदार्थ छानेर पिसावको रूपमा शरीरबाट बाहिर निकाल्ने भए तापनि यो अंग अनेकौं महत्वपूर्ण शरीर क्रियासँग जोडिएको छ। रक्तचाप नियन्त्रण गर्ने इलेक्ट्रोलाइट (नून) तथा महत्वपूर्ण रसायनका सन्तुलन बनाउने, हार्मोनहरूको उत्पादन, भिटामिन डीको संश्लेषण, अम्ल तथा क्षरको सन्तुलन, शरीरमा पानीको मात्रा नियन्त्रण, राता रक्तकोषहरूको निर्माणमा संलग्न एरिध्रोपाइटिन भन्ने हार्मोनको संश्लेषण जस्ता महत्वपूर्ण कार्यमा मिर्गौला संलग्न रहन्छ।

मिर्गौला रोग
मिर्गौलाका रोगहरूलाई जन्मजात र भैपरी आउने रोग गरेर दुई समूहमा बाँडिएको छ। जन्मजात रोगहरूमा जन्मजात हाइड्रो-नेफ्रोसिस, मूत्रबाहक नलीहरूको अवरोध, घोडाको टाप जस्तो मिर्गौला, मिर्गौलामा पानीका फोकाहरू बन्ने रोग, मिर्गाैलै नबनेको स्थिति वा एकापट्टीको मात्र बनेको स्थिति पर्छन्। यसैगरी भैपरी आउने मिर्गौला रोगहरूमा उच्च रक्तचाप तथा मधुमेहका कारण हुने मिर्गौला रोग, रगत छान्ने ग्लोमेरुलसहरूको इन्फ्लामेसन, हाइड्रोनेपफ्रोसिस, नेफ्राइटिस, नेफ्राटिक सिन्ड्रोम र मृगौलाको निष्त्रि्कयता जस्ता रोग पर्छन्। यी सबै रोगले विस्तारै च्याप्दै गएमा मिर्गौला निष्त्रि्कय हुन जान्छ।

निष्क्रिय मिर्गौला
रगतमा भएका विषात पदार्थलाई मिर्गौलाले राम्रोसँग छान्न नसकेको अवस्थालाई निष्त्रि्कय मिर्गौला भनिन्छ। तीव्र मिर्गौला रोगबाट हुने रेनल फेलिएर, शरीरमा चोटपटक लागेर धेरै रगत बग्न गएको अवस्थामा, मिर्गौलाहरुमा रक्तसञ्चार एकाएक कम भएको अवस्थामा, मिर्गौलाहरुको इन्फेक्सन भएको अवस्थामा, पिसाव रोकिएमा वा विषाक्त पदार्थहरु वा मिर्गौलालाई हानि गर्ने औषधीहरुको सेवन गर्दा वा गर्भवतीहरुको विशेष रोगावस्था, जस्तै- इक्लेम्पसिया, प्रि इक्लेम्पसिया वा एचइएलएलपी सिन्ड्रोम आदिमा देखापर्छ। यो अवस्थामा बेलैमा उपचार गर्न सके रोग निको हुन सक्छ।

दीर्घ रोगबाट हुने रेनल फेलिएरको मुख्य कारण उच्च रक्तचाप र मधुमेह हो। यसका अलवा एचआइभी संक्रमण विषाक्त तथा दुखाई कम गर्ने औषधीहरुको सेवन मिर्गौलालाई रगत आपूर्ति गर्ने नसाहरु साघुँरिनु र अटो इम्युन रोग आदि पर्न जान्छन्।

मिर्गौला फेलका लक्षण
मिर्गौला फेलका लक्षणहरु व्यक्ति/व्यक्तिपिच्छे फरक पर्न सक्छन् तथापि मिर्गौला फेल भएमा सामान्यतया हात खुट्टा र अनुहार सुनिनु, पिसावको मात्रा घट्नु, उल्टी हुनु, टाउको दुख्नु, भोक नलाग्नु, वाकवाक लाग्नु, मुख सुक्नु, पिसावमा रगत देखापर्नु, तौल घट्नु, जीउ चिलाउनु, कम्मर दुख्न, हड्डीहरु कमजोर भई भाँचिनु, हात गोडा बाउँडिनु र मुटुको धड्कन असामन्य हुने जस्ता लक्षण देखा पर्छन्।

मिर्गौला फेल भएको कसरी थाहा हुन्छ?
मिर्गौलाको स्वास्थ्य स्थिति ठीक छ कि छैन भनेर जान्न मिर्गौला विशेषज्ञकहाँ गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ। सामान्यतया यदि पिसाबमा रगत, प्रोटिन तथा पस सेल देखा पर्न गएमा, रगतमा युरिया र क्रियटिनिनको मात्रा सामान्यभन्दा धेरै देखिएमा, हेमोग्लोबिन कम भएमा, रगतमा क्याल्सियम, पोटासियम र फस्फोरसको मात्रा गडबड भएमा वा अल्ट्रासाउण्ड गरेर मिर्गौलाको स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ।

उपचार
मिर्गौलाका रोगहरुको निदान र उपचार जति चाँडो भयो, त्यति नै सस्तो, राम्रो र सरल हुन पुग्छ भने जति ढिलो भयो, त्यति नै महँगो, कष्टकारक र असाध्य हुन पुग्छ। तीव्र तथा दीर्घ मिर्गौला रोग भएकाहरुले चिकित्सकको परामर्श लिएर आवश्यक उपचार गर्नुपर्ने हुन्छ। मिर्गौला फेल भएकाहरुका लागि रोगको अवस्थाअनुसार खानपानमा पहरेज गर्ने, जीवन शैली परिवर्तन गर्ने, नियमित औषधी खाने, डायलाइसिस गर्ने वा मिर्गौला नै फेर्ने जस्ता चिकित्सकीय विकल्प छन्।

सावधानी
- उच्च रक्तचाप भएकाहरुले रक्तचाप नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ। रक्तचाप नियन्त्रण भएमा मिर्गौला फेल हुने ठूलो सम्भावना टर्न सक्छ।
- तीव्र मिर्गौला रोग लागेको अवस्थामा यथासम्भव चाँडोभन्दा चाँडो उपयुक्त उपचार गर्न विलम्ब नगरांै।
- मधुमेह भएकाहरुले रगतमा ग्लुकोजको मात्रा बढ्न दिनुहुन्न।
- मिर्गौलालाई साइड इफेक्ट गर्ने औषधीहरुको सेवन गर्नुपर्दा चिकित्सकको परामर्शमा आवश्यक सावधानीसाथ मात्र गरौं। दुखाई कम गर्ने जस्ता औषधी आफूखुशी खाने नगरौं।
- मिर्गौला रोग भएकाहरुले भोजन तथा पोषण विशेषज्ञहरुको सल्लाहअनुसार उहाँहरुले लेखिदिएको खाने कुरामात्र खाउँ। खानामा कार्बोहाइड्रेट र प्रोटिनको मात्रा कम होस्। रेशा र चोकरयुक्त किटोजेनिक डाइट मिर्गौला रोगमा राम्रो मानिन्छ। खानामा नून र चिल्लोको मात्रा पनि कम होस्।
- नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसालौं। यसो गर्दा सम्भावित खतरालाई पहिले नै ठम्याउन सकिन्छ।
- धूमपान, मद्यपान जस्ता नसालु पदार्थहरुको कुलतबाट बचौं।
- नियमित व्यायाम गरौं र शरीरको तौल आफ्नो कदअनुसार नियन्त्रणमा राखौं।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More