March 1, 2013

पत्थरीको कारण र उपचार

दीपक दाहाल
- पाँच वर्षदेखि दुबईमा कार्यरत गोरखाका विजय श्रेष्ठ मिर्गौलाले काम गर्न छाडेपछि नेपाल फर्किएका छन्। पछिल्ला दिनमा अत्यधिक पिसाब पोल्ने समस्या देखिएपछि जाँच गरेर हेर्दा उनको मिर्गौला बिग्रिएको पत्ता लाग्यो। त्यसपछि उनी काम छाडेर उपचारका लागि नेपाल फर्किए। राजधानीमा उपचार गराइरहेका उनलाई चिकित्सकले पत्थरीले गर्दा मिर्गौलाले काम गर्न छाडेको बताएका छन्।


वीर अस्पतालका फिजिसियन डा. अनिल बरालका अनुसार रोजगारीका लागि खाडी मुलुक गएका थुपै्र युवा मिर्गौलालगायत पिसाबसँग सम्बन्धित अंगहरूको पत्थरीको समस्या लिएर फर्किएका छन्। 'खाडी मुलुकमा अत्यन्त गर्मी हुन्छ, त्यहाँ जाने कामदारले प्रशस्त पानी नपिउँदा पत्थरीको समस्या बढिरहेको छ,' डा.बरालले भने।

सामान्य शल्यक्रियाबाट निकाल्न सकिने ठानेर पत्थरीको जोखिमप्रति मानिसहरू सचेत नभएकाले जोखिम बढेको उनको भनाइ छ। शरीरमा पानीको मात्रा कम, कालो चिया, दूध, मासुको अत्यधिक सेवनलेे पनि पत्थरीको समस्या आउनसक्छ। यीबाहेक मोटोपन, युरिक एसिडजस्ता समस्याका कारण पनि पत्थरीको जोखिम बढ्दै गएको छ। नर्भिक अस्पतालका मूत्ररोग विशेषज्ञ डा.रोविन जोशीका अनुसार मूत्ररोगको झन्डै ६०-७० प्रतिशत पत्थरीको समस्या छ।

पित्तथैलीको पत्थरी

पत्थरीको समस्या पित्तथैली र पिसाबसँग सम्बन्धित अंगमा बढी हुन्छ। 'पत्थरी पित्तथैली र नली, पिसाबसँग जोडिएका नली, थैली र मिर्गौलामा बढी हुन्छ, ' डा. बरालले भने, ' कहिलेकाहीँ थुकको ग्रन्थीमा समेत पत्थरी हुन्छ।' धेरै मानिसमा पित्तथैलीका पत्थरी बढी छ। पित्तथैलीमा तीन कारणले पत्थरी हुन्छ। पहिलो, रगतमा बोसोको मात्रा बढ्दा, दोस्रो, शरीरमा धेरै मात्रामा रातो रक्तकोष नष्ट हुँदा र तेस्रो, यी दुवै कारणले पनि पत्थरी हुनसक्छ।

चिकित्सकका अनुसार पित्तथैली र मूत्रप्रणालीका अंगहरूमा पत्थरी हुने कारण फरक छ। पित्तको काम शरीरमा खाएको बोसोलाई पचाउने हो। शरीरमा चिल्लोको मात्रा बढेपछि पित्तले बोसो छान्न नसकी 'सुपरस्याचुरेसन' भएको ठोस बन्छ। 'कलेजोबाट उत्पादन हुने बोसो (कोलेस्टोरल) पित्त रसमा पग्लिएर घुल्न नसकेको अवस्थामा जम्न गई पत्थर बन्छ,' डा. बराल भन्छन्, 'अर्कोतिर बढ्दो उमेर र अन्य रक्तकोष नष्ट हुने रोग (हेमोलाइटिक एनिमिया) को अवस्थामा 'बिलुरुविन' बढी बनेर पनि पत्थरी हुन्छ।' यसलाई 'पिग्मेन्ट स्टोन' पनि भनिन्छ। बढ्दो उमेरमा रक्तकोष मर्ने प्रक्रिया छिटो हुने र अन्य रोगले धेरै रक्तकोष मर्दा कलेजोले व्यवस्थापन गर्न नसकेर पत्थरी बन्न सक्छ। ८० प्रतिशत पत्थरीमा कोलेस्टेरोल र बिलुरुविन प्रिग्मेन्ट दुवैको मिश्रण पाइन्छ।

पिल्स खाने महिलामा पनि पित्तथैलीको पत्थरीको जोखिम बढी हुन्छ। पिल्स कोलेस्टोरेल बन्ने हर्मनहरू स्टोजन र प्रोजेस्टिरोनबाट नै बन्ने भएकोले लामो समयसम्म यो औषधि सेवनले पत्थरीको जोखिम बढ्छ। चिकित्सकका अनुसार कलेजो, पेंनक्रियाजको नलीमा समेत पत्थरी हुनसक्छ। थैलीमा हुने पत्थरीको लक्षण नदेखिने हुनाले अन्य कुनै उद्देश्यले भिडियो एक्सरे गर्दा पत्थरी देखिन्छ। पित्तथैलीको पत्थरीमा चिल्लो पिरो खाँदा दुख्ने र नलीमा पत्थरी भएमा थुनिएर बिकार कलेजोतिरै फर्किएर जन्डिसको लक्षण देखिनसक्छ। कतिपय अवस्थामा पित्तथैलीमा संक्रमणले सुन्निएर दुख्नेलगायत लक्षण देखिँदा भने जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्।


मूत्रप्रणालीको पत्थरी

मूत्रप्रणालीमा क्याल्सियम अग्जालेट, युरिक एसिड पत्थरी र टि्रपल फस्पेक्ट पत्थरी प्रमुख हुन्छन्। मूत्रप्रणाली वरपर हुने पत्थरी वास्तविक प्रकारका कडा हुन्छन्। मिर्गौलालगायत मूत्रप्रणालीसँग सम्बन्धित पत्थरीको ८० प्रतिशत कारण क्याल्सियाम अग्जलेटयुक्त खाद्यपदार्थ हुन। 'खासगरी क्याल्सियम र अग्जलेटको मिश्रणबाट लवण बन्छ,' बरालले थपे, 'यी दुवै तत्वहरू पिसाबमा मिलेर शरीरबाट निस्कनुपर्छ, शरीरले सबै फ्याँक्न नसक्ने भएपछि पत्थरी बन्छ।' कम्तीमा ३ लिटर पिसाब बन्ने गरी पानी खाँदा मात्रै यो बगेर जान सक्छ। 'शरीरमा क्याल्सियाम अग्जालेट बढी भए पनि पत्थरी हुन्छ र पानी कम भएर पनि पत्थरी हुन्छ,' डा.बराल भन्छन्। पत्थरीको रोकथाम गर्नका लागि दैनिक अन्य तरलबाहेक १-२ लिटर पानी पिउनुपर्छ।
डा.जोशीका अनुसार बढी अग्जालेट पाइने खानाहरू पांलुगो, गोलभेडा, कालो अंगुर, काउली, काजु, कालो चिया, मासु, चक्लेट र नूनको अत्यधिक सेवनले पनि पत्थरीको जोखिम हुन्छ। यस्ता खाना बढी खाएको अवस्थामा पानी पनि बढी खानुपर्छ। युरिक एसिडका कारण हुने पत्थरी जोखिम घटाउन यूरिक एसिड र टि्रपल फस्पेक्ट भनिने पिसाब एवं मूत्रप्रणालीमा हुने संक्रमणका कारण पनि पत्थरी हुनसक्छ। यसबाट बच्न संक्रमण रोक्ने उपचार आवश्यक पर्छ।

चिकित्सकका अनुसार पाँच मिलिमिटरसम्मका पत्थरीमा उपचार गर्नुपर्दैन। नबढ्ने यस्तो अवस्थामा पानीको मात्रा बढाउँदा पनि निस्किएर जान्छ। पत्थरी फालि नहाल्नुपर्ने अवस्थामा पनि कम्तीमा ६ महिनादेखि एक वर्षको अवधिमा आकार बढे/नबढेको भने हेर्न अवश्यक हुन्छ। पिसाब मार्गमा अवरोग गरेमा मात्रै विभिन्न प्रकारका शल्यक्रियाबाट यसलाई निकालिन्छ। चिकित्सकका अनुसार शल्यक्रियाबाट पत्थरी निकाले पनि जोखिम रहने भएकाले कम्तीमा १० वषभित्र पत्थरी दाहोरिने सम्भावना कम्तिमा ४० प्रतिशत हुन्छ। कतिपय अवस्थामा लक्षण नै नदेखिएपनि पेटको दुखाइ, पिसाबमा रगत आउनुले पनि यसको संकत गर्छ। 'जहाँ पत्थरी छ, त्यहीँनेर दुख्छ,' डा. जोशीले भने।


पत्थरीको कारण बन्न सक्ने खाद्यान्न

कम पानी
कालो चिया
पिल्स
बढी नून
मासु
चकलेट
कालो अंगुर
काजु
काउली
गोलभेडा
पालुङ्गो

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More