March 16, 2013

आगामी निर्वाचनमा बन्द गर्ने-गराउने पार्टीलाई कसैले पनि मत नदिउन्

-जगदीश घिमि
रेनेपाली जनसामान्य अग्रगमनका लागि जुर्मुराएका छन् । संसद र प्रजातन्त्र नमान्ने, आफ्नो एकदलीय तानाशाही बाहेक अरू कसैको विचार नमान्ने केही प्रतिगामी शक्तिहरूले बाटोमा वितन्डाका तगारा हालेर नछेके चमत्कार गरेर देखाउने थिए ।

यस परिस्थितिको अन्त्य गर्न म निवेदन गर्छु— बन्दकारी-धुन्धुकारीलाई किरा नपरोस् । तिनको उपचार गरियोस् ।

पत्रकार रविन्द्र मिश्रले 'भ्रष्टाचारीलाई किरा परोस्' भन्ने अभियान चलाए । लेखे, बोले । फलस्वरूप जोशिला जनताले ठाउँ-ठाउँमा 'भ्रष्टाचारीलाई किरा परोस्' भन्ने टि-सर्ट लगाएर बाँडेर हिँडे । यस नारा र अभियानको ठूलो समर्थन भयो ।


अर्का पत्रकार मोहन मैनालीले विमति जनाए । भ्रष्टाचारीलाई उचित दण्ड हुनु ठीक हो, तर किरा परोस् भन्नु वा किरापर्नु उसको 'मानवअधिकार' हनन हो भने ।

तन्तु तान्दै जाने हो भने जुनसुकै शब्द र त्यसको अभिप्रायको बहस 'सिमान्टिक्स', 'शब्दशास्त्र' वा तर्कशास्त्रमा पुग्छ । यस्ता कुनै पनि उक्तिमा शाब्दिक अर्थभन्दा अभिप्राय हेर्नु उचित हुन्छ होला ।

मिश्रको त्यस अभियानको पक्कै पनि राम्रो प्रभाव पर्‍यो । तर यस्ता सामाजिक अभियानका प्रभावको मापन गर्ने समस्या हुन्छ ।

तर म यस्तो अभियानको प्रस्ताव गर्दैछु, जसको प्रभाव तुरुन्तै नाप्न सकिन्छ । मेरो यस नारा, प्रस्ताव, हाइपोथेसिस वा परिकल्पनाको आधार के भने— एकदिन न एकदिन नेपालमा पनि आमनिर्वाचन र स्थानीय निर्वाचन दुवै हुनेछन् र ढिलै भए पनि लिकबाट उछिट्टएिर उत्पन्न भएको वर्तमान तानाशाही टुंगिनेछ । राज्य-संयन्त्र समाजवादी- प्रजातन्त्रवादी लिकमा उक्लनेछ । 

बन्दले गर्दा लाखौं विद्यार्थी शिक्षाबाट बञ्चित हुन्छन् । उनीहरूको शैक्षिक क्यालेन्डर बिग्रन्छ । लाखौं दैनिक श्रमिक भोकै पर्छन् । लाखौं गम्भीर बिरामीहरूले समयमा उपचार गर्न पाउँदैनन् । लाखौं यात्री र हजारौं विदेशी पर्यटकहरू पीडित हुन्छन् । दूध, फलफूल र तरकारी कुहिन्छन् । एकातिर बालकको मुख मोसिन्छ र अर्कोतिर ती सडकमा फालिन्छन् । तिनको भाउ बढ्छ । किसान र उपभोक्ता मारमा पर्छन् । देशले दिनको अर्बौं रुपियाँको नोक्सानी बेहोर्नुपर्छ । विकास आयोजना बिग्रन्छन्, लागत बढ्छ । बन्दमा हुने तोडफोड र आगजनीले सोझै नोक्सानी बाहेक भारतीय बजारको विस्तारमा मदत पुग्छ । (यो कुरा बन्दकारीले अनुबन्धअनुसार गर्छन् भन्ने कामरेड नारायणमान बिजुक्छेको विश्लेषणमा सत्यता छैन भन्न मिल्दैन ।)

यस्ता अनेक आम आँकडा छन् । तर ती कुनैले पनि बन्दकारी- धुन्धुकारीका चेतना-तन्तुलाई छुँदैन । चेतना-तन्तु भए पो छुनु ! ढुंगोजस्तो संवेदनहीन नभैकन आज कसैले पनि बन्दको आह्वान गर्दैन । वास्तवमा उनीहरू यो देशलाई तहस-नहस पार्न लागिपरेका छन् । विगतमा जति बन्द भए, भए । देशले खोजेको परिणाम पाएको छ । अब गरिने बन्द केवल बखेडा हो, वितन्डा हो । अब बन्द होइन, निर्माणको बेला छ ।

अतः म यस्तो अभियानको सूत्रपात गर्ने अनुमति चाहन्छु, जसको परिणाम निर्वाचन परिणामसंँगै प्रकाशित हुनेछ ।

म प्रस्ताव गर्छु— आगामी निर्वाचनमा बन्द गर्ने-गराउने पार्टीलाई कसैले पनि मत नदिउन् । त्यो पार्टीले एक सिट पनि नजितोस् ।

मुख्य बन्दकारी-धुन्धुकारीहरू हुन्, प्रतिगामी पार्टीहरू र तिनका पुच्छर संगठनहरू । बेलैमा तिनको उपचारका लागि यो उपाय प्रस्ताव गरिएको हो । सबै चेतनशील नागरिकलाई यस अभियानको पक्षमा बोलिदिन, लेखिदिन र बहस गरिदिन अनुरोध छ ।

गिदी बिक्री गरेका वा बन्धक राखेका आफूलाई बुद्धिजीवी भन्ने कुबुद्धिजीवीले बाहेक अरू सबैले यस्ता बन्दको विरोध गरेका छन् । ती सबै बन्द विरोधीहरू र सबै किसिमका जन-सञ्चारमाध्यमहरूलाई यस प्रस्तावको अभियान चलाउन निवेदन गर्छु । छापा वा अरू कुनै पनि माध्यमले जनतासम्म बोली पुर्‍याउन सक्ने कुनै पनि लेखक, पत्रकार, वक्ताले यस अभियानलाई साथ दिएमा नेपालमा बन्दकारी-धुन्धुकारी पार्टीहरू सत्तामा पुग्ने छैनन् । यस अभियानको परिणाम पनि निर्वाचनको परिणामसँगै प्राप्त हुनेछ ।

नेपालमा सात सालदेखि यता राजनीति जनताको सेवा होइन, सत्ताको मेवा हो भन्ने कुरा राम्रैसँग देखियो, बुझियो । जसले जति थोत्रा गाला बजाएर बकबक गरे पनि अन्त्यमा पार्टीहरूको लिप्सा सत्ताभोग बाहेक केही होइन भन्ने कुरा पनि सर्वसिद्ध भैसक्यो ।

बीबीसी नेपालीका पत्रकारले हालैको बन्दकारी पार्टीका नेता देव गुरुङलाई बन्दका कारणले मूलबाटोमा सुत्केरी हुने वा हुन नसकेर छट्पटाउने महिलाबारे सोद्धा गुरुङले सारा नेपालीका लागि एक-दुई जनाले बलिदान दिनुपर्छ भन्नेजस्तो सस्तो कुरा गरे । गुरुङलाई बन्द-पीडितको वेदनाप्रति कुनै सहानुभूति थिएन ।

पत्रकारले अर्को प्रश्न गरे— तपाईकी श्रीमतीलाई त्यस्तो भएको भए के गर्नुहुन्थ्यो ?

नेताकी श्रीमतीलाई त्यस्तो भएको भए हेलिकप्टर उपस्थित हुन्थ्यो भन्ने कुरा ती पत्रकारले बिर्से । नेपालका सबै पार्टी 'लुटको धन'ले 'फुपूको श्राद्ध' गरिरहेका छन् । लुट गरेर नकमाएको भए यिनका महाअधिवेशनमा भएका खर्च र तामझाम के हुन् ? यिनका जीवनशैली के हुन् ? सामान्य जनतालाई जीवनभरि परिश्रम गर्दा पनि परिवार पाल्न गाह्रो हुन्छ । यिनले जीवनभरि बकबक गरेर कसरी त्यो स्तरको जीवनशैली कायम राखेका छन् हँ ?

गम्भीर बिरामीका रूपमा मैले बेला-बेला एम्बुलेन्स चढेर किमोथेरापी लिन जानुपरेको छ । बाटोमा एम्बुलेन्सको ढोका खोलेर बन्दकारी सोध्छ— खै बिरामी ? म सिटमा बसेको हुन्छु । सिटमा बस्नेलाई ऊ बिरामी मान्न तयार हुँदैन ।

मलाई ढाडमा फ्याक्चर भएका कारणले एम्बुलेन्सको बेडमा सुतेर यात्रा गर्न सम्भव छैन । तर ऊ मान्दैन । मलाई फर्काइदिन्छ । मैले एकजना सद्दे मान्छेलाई नक्कली बिरामी बनाएर एम्बुलेन्सको बेडमा सुताउनुपर्‍यो । अनि बल्ल म अस्पताल जानसकेँ । गत सात वर्षदेखि म यो पीडा भोगिरहेको छु ।

म जस्ता र मभन्दा पनि धेरै बढी पीडित रोगीहरू कति छन् कति !

बन्दको मारबाट सबैभन्दा पीडित हुन्, व्यापार व्यवसायीहरू । म सबै व्यापार व्यवसायीहरूलाई यस अभियानको पक्षमा आआफ्नै किसिमले लगानी गरेर प्रचार-प्रसार गर्न अनुरोध गर्छु ।

हालै हाम्रा एक अग्रणी व्यवसायी विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वसभासद र विश्वका नयाँ डलर अर्बपति विनोद चौधरीलाई पनि विहारको मुख्यमन्त्रीका रूपमा सुनाम कमाएका नीतिश कुमारजस्तो नेपालको राजनीतिक व्यवस्थापक हुन मनलागेको कुरा छापाबाट थाहा पाइयो ।

सबैले आफूलाई अग्रगामी र विरोधीलाई प्रतिगामी भन्छन् । सबैभन्दा ठूला प्रतिगामीले आफूलाई सबैभन्दा ठूला अग्रगामी भन्छन् । जसले तानाशाहीको वकालत गर्छ र तानाशाही व्यवस्था सर्वश्रेष्ठ हो भन्छ, त्यो सबैभन्दा ठूलो प्रतिगामी हो । चौधरीको पार्टी नेपाल कम्युनिस्ट एमालेले तानशाही परित्याग गरेर अग्रगामी संसदीय प्रजातन्त्रवाद स्वीकार गरिसकेको छ । तर त्यस पार्टीका सबै बूढा नेता 'फेल' भैसकेका छन् । वास्तवमा नेपालका सबै पार्टीका बूढा नेता 'फेल' भैसकेका छन् । अब एमालेमा चौधरीजस्ता नयाँ नेता र अन्य प्रजातान्त्रिक पार्टी अन्य नयाँ नेताले यो देखाउने बेला आएको छ कि अग्रगमन के हो र प्रतिगमन के हो । प्रतिगामी तानाशाही पार्टीहरू धराशायी हुनेछन् ।

हालै चौधरीले फेरि वाग्मती सफा गर्ने प्रतिज्ञा गरेका छन् । म भन्छु, डलर अर्बपति विनोद चौधरीको 'ब्रान्ड नेम'का लागि यो त खेलाँची हो । म विनोद चौधरी र अरु प्रजातान्त्रिक पार्टीका नयाँ नेताहरूलाई निवेदन गर्छु- तपाईंहरूको काँधमा नेपालको कुहेको राजनीति सफा गर्ने जिम्मेवारी छ । त्यो अभियान चलाउनोस् ।

राजनीति सफा भए वाग्मतीका साथसाथै अरू सबै 'नीति'हरू आफै सफा हुनेछन् । चेतना भया ।
प्रस्तुतलेख आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ|


सफत ग्रहण भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More