November 4, 2013

बीसे नगर्चीर्को बयान-कविता

श्रवण मुकारुङ 


मालिक!
म यो गोरखा राज्यमा
अढाइ सय वर्षपछि बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर तिरमिर भएर
हजूरको शिर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ
कहाँनिर छ बीसे नगर्ची

मालिक!
म बौलाएँ
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्नुपर्न
यो गोरखकालीको पाऊ छोएर
नुनको सोझो हुनुपर्ने
अढाइ सय वर्षपछि आज के भयो मलाई?
यो बीसेलाई दशा लाग्यो मालिक!
म बौलाएँ!

नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बीसेको झुप्रो न हो जलाइएको
यतिमै यो बीसे उफ्रिनु पर्ने!
थुइक्क बीसे.....

म बौलाएँ मालिक!
म बौलाएँ
मेरो हात भाँचियो
अब म हजूरका भारदारहरुलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न, सनाइ बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्यु गीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजूरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठीक्कले बोल्न सक्दिनँ
मालिक! म बौलाएँ

मालिक!
यो गोरखा राज्य अघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरु
आज कसरी यस्तरी होचाहोचा भए?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु
आज कसरी यस्तरी खुनी र कुरुप भए?
दरौदी किन उल्टो बगेको देख्छु?
यो दरबारै किन खण्डहर जस्तो देख्छु?
म बौलाएँ मालिक! म बौलाएँ!

मालिक!
हजूरको तरवारले टाउको काट्छ कि फूल
भ्रममा परें म।
हजूरको बन्दुकले विचार ढाल्छ कि मान्छे
भ्रममा परेँ म।
यसलाई प्रजाले बनायो कि राजाले
भ्रममा परेँ म।
अढाइ सय वर्षदेखि म तपाईँसमक्ष छु मालिक
म कसरी आतङ्ककारी हुन सक्छु
म केवल बौलाएँ मालिक
बौलाएँ  
हो, मैले मालिकको दिव्योपदेश पालन गरिन हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरा सियो बराबर हो भनेँ हुँला
मैले सिएको सुकिला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला

मालिक
मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ
अढाइ सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दर सन्तानहरु कहाँकहाँ पुगे
मैले
खोज्न चाहे हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा रगतहरुले मलाई
उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला

मालिक
यस माटोको इतिहाससँगै म हजूरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु
म साँच्चै बौलाएँ मालिक
साँच्चै बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर तिरमिर भएर
हजूरको शिर दशवटा देखिरहेछु
खोइ मेरो पैतला कहाँनिर छ
कहाँनिर छ बीसे नगर्ची

मालिक
म बौलाएँ!

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More