June 1, 2014

सावधान! मुखबाट हैन स्वास नाकबाट मात्र फेरौ

प्रकृतिले सास लिनका लागि नाक र खानका लागि मुख बनाएको हो तर जीवनचर्यामा यस नियमलाई मान्ने मानिस कमै देखिन्छन् । हामीले प्रायः नाक र मुखबाट सँगै सास लिन्छौँ । मानिसले स्वस्थ रहन नाकले मात्र सास लिनुपर्छ । नाकले सास लिए हावामा रहेका दूषित कण छानिएर शरीरका भित्री अङ्ग सुरक्षित रहन्छन् । यसको अर्को ठूलो फाइदा हो, नाइट्रिक अक्साइड । वातावरणको क्षेत्रमा नाइट्रिक अक्साइडलाई वायु प्रदूषक ग्यास भनिन्छ । तर नाइट्रिक अक्साइड हाम्रो स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । एकातिर वातावरण दूषित पार्ने र अर्कोतिर शरीरलाई चाहिने नाइट्रिक अक्साइडको यस्तो परस्पर विरोधी भूमिकाप्रति हामीले जागरुक हुनु जरुरी छ । शरीरलाई चाहिने भन्दैमा वातावरणमा यस ग्यासको उपस्थितिलाई सही मान्नुहुँदैन तर शरीर स्वस्थ राख्न हामीले नाकले मात्र सास लिने गर्नुपर्छ र यसो गरेमा नाइट्रिक अक्साइडबाट हामीलाई धेरै फाइदा पुग्छ । 

शरीरमा कोषियस्तरमा सूचना आदानप्रदान गर्नमा नाइट्रिक अक्साइड ग्यासले महìवपूर्ण भूमिका निर्वाह गर्ने पत्ता लगाएकाले सन् १९९८ मा तीन जना वैज्ञानिकले चिकित्साशास्त्रमा नोवेल पुरस्कारसमेत पाए । विशेषगरी रक्तसञ्चार प्रणालीमा यस ग्यासको महìव सर्वमान्य छ । नाइट्रिक अक्साइडले मुटुको रक्षा गर्ने, मस्तिष्कलाई उत्प्रेरित गर्ने, ब्याक्टेरिया मार्नेलगायतका कार्यमा सहयोग गर्दछ । तथापि नाइट्रिक अक्साइड एक प्रदूषक ग्यासको रूपमा परिचित रहेको छ । मोटरगाडीको धुवाँबाट यो ग्यास निस्कन्छ । शरीरमा एउटा कोषबाट उत्पादन भएपछि त्यसको आवरणबाट बाहिर निस्केर नाइट्रिक अक्साइड ग्यासले अर्को कोषको क्रिया सञ्चालनमा सहयोग गरी जैविकीय संरचनामा योगदान गर्ने नौलो तथ्य सन् १९९८ मा पत्ता लगाइएको थियो । रक्तसञ्चार प्रणालीमा यस ग्यासले रक्तनलीलाई लचिलो र खुकुलो पारेर रक्तचाप कम गर्छ । स्नायु प्रणालीमा नाइट्रिक अक्साइडले सक्रिय भएर सम्पूर्ण शरीरलाई ऊर्जावान बनाउँछ । रक्तसञ्चार प्रणालीको नियमन, अङ्गहरूमा रक्तप्रवाहको व्यवस्थापन र सङ्क्रमणविरुद्धको शक्तिशाली हतियार हुन्छ नाइट्रिक अक्साइड । प्राणीजगतमा शरीरका विभिन्न कोषले नाइट्रिक अक्साइड ग्यास उत्पादन गर्छन् । त्यस मध्येमा हाम्रो नाकमा यो ग्यास उत्पादन गर्ने एक मुख्य स्रोत हो । 

पुरस्कार पाउने वैज्ञानिकको खोज 
- धमनीहरूको भित्री कोष इन्डोथेलियमले नाइट्रिक अक्साइड ग्यास उत्पादन गर्छन् । यसरी उत्पादित ग्यास तत्काल कोषको आवरणबाट निस्केर फैलिन्छ । नाइट्रिक अक्साइडले खुम्चिएका धमनीहरूलाई खुकुलो पार्छ । यसप्रकारले रक्तचाप र त्यसको प्रवाह नियन्त्रणमा आउँछ । 
- स्नायु कोषहरूमा नाइट्रिक अक्साइड उत्पादन हुँदा शरीरको सबैतिर तीव्र गतिले ग्यास फैलिन्छ र सम्पर्कमा आएका सबै कोष सक्रिय हुन्छन् । यसबाट चौतर्फी प्रभाव परेर मनोभावनादेखि पाचन प्रणालीसम्म फाइदा पुग्छ । 
- रगतका सेतो रक्तकोषमा नाइट्रिक अक्साइड उत्पादन भएको अवस्थामा ती कोष (म्याक्रोफेज)को सङ्ख्या निकै बढ्छ । यो अवस्था ब्याक्टेरिया र परजीवीलाई घातक हुन्छ । सेप्सिस वा रक्तसञ्चार प्रणाली अकस्मात निस्तेज हुने अवस्थामा नाइट्रिक अक्साइड ग्यासले उपचार गरिएका नतिजा फलदायी हुनसक्छ । 
अमेरिकाको वेक फरेस्ट विश्वविद्यालयको एक अनुसन्धान टोलीले शरीरको आन्तरिक प्रक्रियाबाटै आपतकालीन अवस्थामा नाइट्रिक अक्साइड ग्यास बन्ने स्पष्ट पारेको छ । बायलोजिकल केमेस्ट्री जर्नलको अनलाइन संस्करणमा अनुसन्धान टोलीले जनाए अनुसार अक्सिजन कम पाएको अवस्थामा हेमोग्लोविनले नाइट्रेटलाई नाइट्रिक अक्साइडमा रूपान्तरित गर्दछ । जसकारण रक्तथेक्ला बन्न पाउँदैन । 
यससम्बन्धी अनुसन्धान गरेको लन्डन विश्वविद्यालयको क्विन मेरीका अनुसन्धानकर्ताले हाइपर्टेन्सन जर्नलमा दिइएको जानकारी अनुसार हामीले खाने तरकारीवर्गमा पर्ने चुकन्दर, बन्दागोभी र सौँफमा नाइट्रेट तत्व पाइन्छ । प्राकृतिक रूपमा माटोमा नाइट्रेट भएमा तरकारीहरूले आफ्नो जराद्वारा त्यसलाई तान्ने गर्छन् । चुकुन्दरमा पाइने नाइट्रेटले रक्तचाप घटाउन सकिन्छ । चुकुन्दरको रस (जुस) खाएको २४ घन्टामै रक्तचाप कम हुने उल्लेख गरेका थिए । 

नाकबाट सास लिनुको फाइदा
नाकभित्र पारानासल साइनस क्षेत्रमा नाइट्रिक अक्साइड ग्यास उत्पादन हुने गर्छ । सो क्षेत्र नाइट्रिक अक्साइडको स्रोत भएको थाहा भएको छ तर ग्यास उत्पादनमा भूमिका खेल्ने नाकभित्रका अन्य भाग पत्तो लगाउन सकिएको छैन । अनुसन्धानहरूबाट सबै उमेरका मानिसको नाकमा नाइट्रिक अक्साइड ग्यास उत्पादन हुने स्पष्ट पारिसकिएको छ । यतिसम्म कि नवाजत शिशुको नाकबाट समेत नाइट्रिक अक्साइड उत्पादन हुने गर्छ । सिजेरिन सेक्सन विधिबाट जन्माइएका शिशुमा पनि यो ग्यास पाइएको छ । तथापि नवजात शिशुको नाकमा वयस्कको दाँजोमा कम मात्रामा नाइट्रिक अक्साइड हुन्छ । नाकमा नाइट्रिक अक्साइड ग्यासको उत्पादन मात्रामा लिङ्ग भेद चाहिँ देखिएको छैन । तर नाकबाट उत्पादन हुने नाइट्रिक अक्साइड शारीरिक अभ्यासले गर्दा घट्छ । पाँच मिनेट व्यायाम गर्दा नाकबाट उत्पादन हुने नाइट्रिक अक्साइडको मात्रा ८३ प्रतिशत कम हुने जानकारी एक अनुसन्धानले दिएको छ । 

नाकको प्वाल फैलिने र खुम्चने क्रियाले नाइट्रिक अक्साइड ग्यास उत्पादनमा प्रभाव नपर्ने तर नाकमा रगतको आपूर्ति घट्दा नाइट्रिक अक्साइड उत्पादनमा कमी आउने वैज्ञानिकहरूको भनाइ रहेको छ । नाकबाट सास लिँदा अन्य फाइदा पनि मिल्छ । हावामा रहेका धूलोका कण पृथ्वीको गुरुत्वआकर्षण शक्तिका कारण सतहतिर खस्ने गर्छ । नाकको प्वालले चाहिँ गुरुत्वआकर्षण शक्तिको विपरीत दिशाबाट वायु तान्ने भएकाले धुलोका कण नाकभित्र कम मात्र छिर्न पाउँछन् । यसले फोक्सो सुरक्षित रहन्छ । 
अर्को कुरा बाहिरको तापक्रम जस्तो भए पनि नाकबाट सास लिँदा वायु शरीरको आन्तरिक ताप जत्तिकै व्यवस्थित भएर फोक्सोमा पुग्छ । उदाहरणका लागि चिसो वायु पनि नाकमा तत्काल तातेर शरीरको आन्तरिक तापक्रम जत्तिकै बन्छ । यसले गर्दा फोक्सोमा तनाव बढ्दैन र संक्रमणको जोखिम पनि हट्छ । मुखले सास लिँदा धुलोका कण फोक्सोमा पुग्ने खतरा बढ्छ र चिसो वा धेरै तातो वायु फोक्सोमा पुग्ने गर्छ । योगविज्ञानमा नाकबाट सास लिने विधि अनुलोमविलोमले शरीरमा फाइदा पुग्ने मुख्य आधार पनि यिनै हुन् । विहान एकछिन मात्र होइन सँधै हामीले नाकबाट मात्र सास लिनुपर्छ । 
– उमेश ओझा

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More