September 5, 2014

एम ए बिए पढेर गफ हान्दै मा के होस् ? बरु लगन र मेहनत छोडेन भने केहि हुदो रछ -Success story of Keshaw Khanal

लौ आजको कारोबार दैनिकमा छापिएको विनोदबाबु रिजालको यो सकारात्मक समाचारले ध्यान तान्यो सफलताको कथा सबैलाई प्रेरणा हुन सक्छ भनेर आज हाम्रो  ब्लगमा राखियो  | 
मजदुरी गरेर गर्जो टार्ने केशव खनाल अहिले करोडौंको होटल मालिक छन् । उनी अर्काको होटलमा मजदुरी गर्थे । खेतीपाती, वस्तुपालन उनको दिनचर्या थियो । कुनै समय उनले पूर्वी नेपालबाट तरकारी तथा फलफूल खरिद गरेर काठमाडौं तथा पोखरा लगी बेच्ने काम पनि गरे । 

सोह्र वर्ष अघिसम्म होटलमा फूलबारी गोड्ने काम गर्ने उनी अहिले दर्जनौंलाई काम लगाउँछन् । २०५० सालदेखि सौराहास्थित राइनो लजमा फूलबारी गोड्ने काम गर्दा उनले काममार्फत सबैलाई प्रभावित पारे । विस्तारै लजले थप जिम्मेवारी पनि दिन थाल्यो । पर्यटकीय नगरी सौराहामा कामको अनुभव हासिल गरिसकेपछि उनलाई पर्यटक गाईडको काम गर्ने इच्छा लाग्यो । त्यसमा पनि राम्रै प्रगति गरे । सौराहामा चिनोको पसल स्थापना गरे, त्यसले पनि उनलाई फाइदै ग¥यो ।
केही रकम जोहो भएपछि सौराहामा आफ्नै एउटा होटल स्थापना गर्न मन लाग्यो । अन्ततः उनी देशकै तेस्रो पर्यटकीय गन्तव्यको परिचय बनाउँदै गरेको सौराहामा सुविधा सम्पन्न होटल स्थापना गर्न सफल भए । २०६८ सालबाट उनी होटल मोनालिसाको सञ्चालक बने ।

सौराहा प्रवेश गर्दा मुख्य गेटको आडैमा खनालले सञ्चालन गरेको होटल मोनालिसा छ । झट्ट हेर्दा आकर्षक भवन अनि उस्तै सत्कार, खाने र बस्ने व्यवस्थाका कारण स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँमा पर्ने गर्छ होटल मोनालिसा । बैंकबाट ऋण लिएर उनले करिब १ बिघा जग्गामा २० वटा कोठाको होटल सञ्चालनमा ल्याएका थिए । पाहुनालाई खुवाउनका लागि करिब डेढ विघा जग्गामा अग्र्यानिक तरकारी लगाइएको छ । माछा, मासु र अण्डा उत्पादनको व्यवस्था पनि आफै मिलाएका छन् । २०३३ सालमा गोर्खा जिल्लाको तान्द्राङमा जन्मिएका खनाल करिब चार वर्षको अवधिमा यस क्षेत्रको चर्चित पर्यटन व्यवसायी बन्न सफल भएका छन् ।
नाललाई चिन्नेहरु भन्छन्, ‘निरन्तरको मेहनत, कामप्रतिको लगाव र परिश्रम उनको सफलताको मुख्य कारण हो ।’ यिनै गुणका कारण यही ठाउँमा मजदुर रहेका उनले केहीवर्षमै सफल व्यवसायीको परिचय बनाए ।
२०६५ सालमा खनालले नेपालमै पहिलो पटक भित्र्याएको उँट त आकर्षणको केन्द्रै बनेको छ । कहिल्यै उँट नदेखेका नेपाली तथा विदेशी पर्यटक निश्चित शुल्क तिरेर चढ्न लालायित हुन्छन् । भारतको विहारस्थित छप्राक जिल्लाबाट ल्याइएको दुईवटा उँट यस क्षेत्रको पर्यटन व्यवसायमै नमूना बनेको छ । उनले २०५४ सालमा स्थापना गरेको मोनालिसा टुरिष्ट गाइड अफिस र चिनो पसल अहिले पनि चालू छन् ।
व्यवसायका अलावा सामाजिक कर्ममा उनी त्यत्तिकै सक्रिय छन् । “जुन दिनबाट केही कमाउन थालें, त्यही दिनबाटै समाजिक क्षेत्रमा पनि केही खर्च गर्न थालें”, उनी थप्छन्, “समाज सेवा त अब मैले छाड्नै नसक्ने विषय बनिसक्यो ।” सामाजिक काम उनी दाजु राजेन्द्रसँगको सहकार्यमा २०५२ सालमा स्थापना गरेको बालकल्याण संस्थामार्फत गर्छन् । यो संस्थामार्फत सुरुमा विपन्न अवस्थाका दुईजनालाई पढाउन सुरु गरिएकोमा अहिले ५४ जना पुगेका छन् ।
छोरा–छोरीले हेला गरेका तथा नभएका असहाय वृद्धवृद्धा ६ जनालाई आश्रय दिनुको साथै खाने प्रबन्ध मिलाएका छन् खनालले । यसै संस्थामार्फत चितवनका विकट क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण गरिएका छन् भने ४० वटा सार्वजनिक शौचालय बनाइएका छन् । आठ स्थानमा विद्युतीय सिंचाई कार्यक्रम गरिएका छन् ।
वातावरण संरक्षणमा पनि अग्रसर हुँदै १६ वटा समूह तयार पारेर प्लास्टिक र सीसाजन्य वस्तु निरुत्साहित गर्ने प्रयास थालिएको छ । वालकल्याण संस्थाका अलावा उनी व्यक्तिगतरुपमा र होटल मोनालिसाको तर्फबाट पनि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । कुनै समय आफै बाढीबाट पीडित बनेका खनाल बाढी, पहिरो लगायतका विपदमा परेकाहरुलाई राहत दिने तथा उनीहरुलाई स्वास्थ्य, शिक्षा, सरसफाइसम्बन्धी सचेतना दिलाउने कार्यमा पनि सक्रिय देखिन्छन् । “मान्छेले दुःख पाएको देख्दा आफ्नै विगतलाई सम्झन्छु”, खनाल भन्छन्, “सकेजति सहयोग गर्न मन लाग्छ ।”
सानैदेखि परिश्रममा विश्वास राख्ने भएकाले खनाललाई भविष्यमा सफल बन्छु भन्ने त लागेको थियो । तर, यति छिटै यति प्रगति होला भन्ने सोचेका थिएनन् । होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित कुनैपनि संस्थामा कार्यकारी पदमा उनी सक्रिया छैनन् । तर, त्यस्ता पदमा रहनेहरुका लागि उनको सुझाव छ, “पर्यटन व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउनुप¥यो । नयाँ गन्तव्यको खोजी र पुराना गन्तव्यको व्यवस्थापनमा ध्यान दिनुप¥यो ।
व्यवसायीको बीचमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले उनी दिक्क छन् । भन्छन्, “यसले व्यवसायमै असर गरिरहेको छ । होटलको स्तर निर्धारण गर्दै दर तोक्नुपर्छ । अनि व्यवस्थित हुन्छ ।”
सरकारले व्यवसायीसँग कर असुल्ने काम मात्रै गरेको खनालको गुनासो छ । कर असुल्न जान्ने सरकारले उनीहरुको सम्मानपनि गर्न जान्नुपर्ने बताउँछन् खनाल । “यसका साथै पर्यटकीय क्षेत्रमा नियमित विद्युत्को व्यवस्था आवश्यक छ”, खनाल थप्छन्, “पर्यटन नेपालको विकासको मुख्य क्षेत्र हो ।”
 Courtesy@karobardail.com ,Friday,5th September 2014 08:32 AM

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More