September 8, 2014

बिजय कुमारको पुस्तक "खुशी" बजारमा- Vijayakumar Pandey's new Nepali Book Khushi Published

चर्चित पत्रकार बिजयकुमार पाण्डेले अब  पुस्तक मार्फत साता बजारमा आएका छन्  विभिन्न पत्रिका मार्फत छापिएका उनको पुस्तकका केहि  भाग पढ्नुहोस र बाकी अंशको लागि पुस्तक किनेर लेखक र सर्जकको सम्मान र सम्बर्धन गर्न सहयोग गरौ ।
Popular Journalist Vijaya Kuar Pandey has written New Book Khushi. Read some part of the Nepali book "Khushi" online and buy the book online to promote Nepali write and literature.

मैले खुसी किन लेखेँ?
‘हामी सबै जे भन्न सक्छौं, त्यही कुरा अभिव्यक्त गर्नु लेखकको काम होइन। हामी जे भन्न असमर्थ छौं, त्यो व्यक्त गर्नु लेखकको दायित्व हो।’ –अनेस निन–

एउटा पुस्तक लेख्ने रहर थियो। कस्तो पुस्तक? कसरी लेख्ने? मसित उत्तर थिएन। कुनै दिन पुस्तक लेख्नेछु भन्ने बालसुलभ चाहनाबाहेक मसित अरु केही थिएन। न विषय, न शब्द, न त बिनाविषय पाठकलाई बाँधेर राख्न सक्ने शब्दकला। केही पनि त थिएन, सिवाय एक रहर।

सपनाको बिजारोपण भएको वर्षौंवर्ष पछि पनि मैले ‘त्यो’ पुस्तकको एक अक्षर लेख्न सकिनँ। कागजमा अक्षर नलेख्दा नलेख्दै, वर्षौं साथीभाइलाई ‘म पुस्तक लेख्दैछु, लेख्नेछु’ भन्दै हिँडें।

कोसिस नगरेको होइन। कागजमा नकोरे पनि उकुसमुकुसको मसीले मनको भित्तामा नलेखेको होइन। भरिन त पूरै भरिएको थिएँ, पोखिन पो सकेको थिइनँ। भरि हुनु र नपोखिनुको वेदना, त्यसको छटपटाहट म शब्दमा अनुवाद गर्न असमर्थ छु।

बिस्तारै समय यस्तो आयो, म स्वयंलाई आफूले पुस्तक लेख्ने कुरा पत्यार लाग्न छाड्यो। सपनाको कागजमा रहरको मसीले लेख्दैमा किताब लेख्न सकिने भए सबै लेखक बन्थे भन्ने साधारण सत्य बुझ्न मलाई वर्षौं लाग्यो।

अनेकौँ पल्ट लेख्न सुरू नगरेको होइन। आधा पेज पनि भरिन नपाउँदै आफैंलाई चित्त नबुझेर दर्जनौं पटक च्यातें। घरमा लेख्न सकिन्न भन्दै शान्त ठाउँहरुमा भौंतारिएँ। स्थान फेर्दैमा लेख्न सकिन्न भन्ने शिक्षाबाहेक कुनै उपलब्धि भएन। मेरो मनमा गर्भाधान भएको बिनाविषय, बिनाशब्दको पुस्तकले वर्षौंसम्म कुनै आकार नलिएको देखेर पछिल्लो समय म आफैंसँग निरास भएँ।

लेखनमा दुई बाधा थिए। पहिलो, पुस्तकको विषयबारे मेरो मनको अन्तरद्वन्द्व। म कहिले राजनीतिक विषयमा लेख्न चाहन्थें त कहिले उपन्यास लेख्ने सपना देख्थें। अनि बेलाबखत आध्यामिक दर्शनलाई विषयबस्तु बनाउने जोश चल्थ्यो। सबथोक पेन्डुलमझैं अस्थिर र क्षणिक उत्तेजनाबाहेक केही थिएन।

हुन त पुस्तकका निम्ति मसँग अनेक विषयबस्तु हुनुपर्ने। म पत्रकारिताको यस्तो स्थानमा वर्षौंदेखि उभिएको थिएँ, जहाँ मलाई नयाँनयाँ ‘आइडिया’ सुनाउने मानिसको कमी थिएन। सर्सर्ती हेर्दा पत्रकारिताको अनुभवले मानिसलाई पुस्तक लेखनमा सघाउनुपर्ने हो। तर यथार्थ त्यस्तो नहुने रहेछ।

पत्रकारिताले एउटा निश्चित अवधिपछि हामीजस्ता पत्रकारलाई नयाँ सिकाउन बन्द गरिदिन्छ। न भाषा न शैली, न विद्या न बुद्धि, न ज्ञान न त विज्ञान। यो पेसाले नितदिन उही पुरानो सतही राग रटिरहने थोत्रो टेप रेकर्डमा परिणत गरिदिन्छ, धेरै पत्रकारलाई। आफूसँग जोडिन आएका धेरैलाई पत्रकारिताले यताबाट उता, उताबाट यता भौंतारिइरहने ‘पेन्डुलम’ बनाएर छाडिदिन्छ।

म पनि थाहै नपाई यस्तो पेन्डुलम बन्न पुगें, जसलाई अस्पताल जाँदा डाक्टरको, एयरपोर्ट देख्दा पाइलटको, बैंक छिर्दा धनीमानीको, अदालतको बिल्डिङ अगाडि आउँदा वकिलको, संसद ढुक्दा नेताको र मन्दिर, गुम्बाका उकालीओराली गर्दा अध्यात्मका विषयबस्तुमा पुस्तक लेख्ने जोश चलेर आउँथ्यो। जोश जति छिटो आउँथ्यो, त्योभन्दा बढी रफ्तारमा बिलाउँथ्यो।

म आत्मलाप शैलीमा लेख्न चाहन्थें। तर आफ्ना सबै कमजोरी लुकाएर लेखक कहलिन चाहन्नथें, न त तिनलाई सार्वजनिक गर्ने आत्मबल मसित थियो। आफ्नो र परिवारको दालभात जोहो गर्ने क्रममा मेरो हातबाट हुन पुगेका सानातिना कर्महरुलाई सञ्चार जगतमा ठूलै योगदान गरें भन्दै आत्मरतिको कागजी पुलिन्दा तयार पार्ने आँट पनि मैले गर्न सकिनँ।

जर्ज अरवेलले भनेका छन्– ‘कुनै पनि अटोबायोग्राफीलाई त्यस बखतमात्र विश्वास गर्न सकिन्छ जब त्यसभित्र लेखकले आफ्ना विषयमा केही लज्जास्पद (डिसग्रेसफुल) सत्य उद्घाटित गरेको हुन्छ।’

अरवेल मेरा प्रिय लेखक हुन् तर उनको यो चुनौतीलाई धेरथोर रुपमा भए पनि स्विकार्ने आँट गर्न मलाई निकै समय लाग्यो।

लेखनको दोस्रो बाधा थियो, आलस्य। आलस्य मेरो जिन्दगीको अविभाज्य अङ्ग हो। ५२ मा चल्दै गरेको मेरो जिन्दगीको अधिकांश भाग केही नगरी त्यसै बितेको छ। वेस्टेज अफ ट्यालेन्ट (प्रतिभाको बर्बादी) ठान्छे, सुषमा मलाई। जीवनसङ्गिनीको कुरा सुन्दा एकछिन त हो क्यारे भन्ने लाग्छ। तर फेरि सोच्छु, मेरो चरित्रमा आलस्य नभएको भए बाँकी रहेको मानिस म हुन्थें वा हुन्नथें?

यस्तैयस्तै तर्क–कुतर्कको सहारा लिएर म समय बर्बाद गरिरहेको थिएँ। तर्क, वितर्क, कुतर्कको बैसाखी टेकेर मानिसले आफ्नो सही वा गलत जीवनशैलीलाई न्यायोचित ठहर्‍याउने प्रयत्न त गर्न सक्छ तर मनभित्र बलेको आगो निभाउन नसक्ने रहेछ।

बाहिरबाट हेर्दा म आफ्नो पेसाको सफलतम मानिसमध्ये एक थिएँ। मेरो शैलीका प्रशंसकको सङ्ख्या ठूलै थियो। आलोचक पनि यथेष्ट थिए। वर्षमा हजारौं मानिस मलाई इमेल लेख्थे। शक्तिशाली पुरूष, रुपवान महिला र धनवान व्यक्तित्व मेरा निम्ति कुनै दूर क्षितिजमा देखिने आश्चर्य र विस्मय नभएर दिनचर्याका सामान्य कुरा थिए।

यति हुँदाहुँदै पनि म आफूभित्र खालिपन महसुस गर्थें। सबथोक भएर पनि जीवनमा चाहिने मुख्य कुरा नभएजस्तो। अनेक गोरेटोमा हिँडिसक्दा पनि मूलबाटो नपाएजस्तो। आफ्नै मनभित्र कता हो कता हराएजस्तो। असजिलो महसुस गर्थें म। अनौठो खालिपन मेरो अचेतन मनमा गहिरोसँग लुकेर बसेको थियो।

मेरो निम्ति किताब लेख्ने कुराले कागजमा अक्षर छर्ने अर्थमात्र राख्दैनथ्यो। म त आफ्नो मनको भारी अक्षरमार्फत पोखेर हलुका हुन चाहन्थें, मनभित्र बलेको आगो निभाउन चाहन्थें। कसैले पढिदेला, लेखकका रुपमा मेरो नाम चल्ला भन्ने आशले मात्र लेख्न चाहन्नथें। अन्तर्मनको आनन्द स्वान्तसुखायका निम्ति लेख्न चाहन्थें।

तर मेरो मन, बचन, शरीर र पेसा एकआपसमा यति नराम्ररी विभक्त थिए, लेख्न बस्दा मेरो कलमबाट अक्षर झर्दैनथ्यो। म विभक्त नभइकन लेख्न चाहन्थें। त्यही लेख्न चाहन्थें जो म सोच्थें। मभित्र मन, बचन र शरीरमा अलगअलग विभाजित जिन्दगी होइन, एकाकार जीवनको खोज थियो।

मन, बचन र कर्मले पुरापुर एकाकार त सन्त मात्र हुन्छन् भन्ने थाहा नभएको होइन। जीवन एकोहोरो रेखामा होइन प्याजझैं पत्रपत्रमा विभाजित छ भन्ने शङ्कर लामिछानेको ‘एब्स्ट्र्याक्ट चिन्तन: प्याज’ नपढेको होइन। यति सब हुँदाहुँदै पनि, म आफ्नै सुरमा हिँडिरहें भनूँ या बेसुरमा भौंतारिइरहें।

समय बित्दै जाँदा लाग्न थाल्यो, जबसम्म म विभाजित जिन्दगी बिताइरहेको हुन्छु तबसम्म लेखनमा अन्तर्मनको आनन्द आउने छैन। स्वान्तसुखाय उपलब्ध हुने छैन। त्यो उपलब्ध नभएसम्म लेख्न बस्दा मेरो कलमबाट कागजमा अक्षर होइन, औपचारिकता छरिनेछ।

म मस्तिष्कले होइन हृदयको मसीले पुस्तक लेख्न चाहन्थें।

आज सम्झँदा अनौठो लाग्छ, अलिकति लाज पनि लाग्छ — जीवनका धेरै वसन्त मैले हृदयको होइन आफ्नो मस्तिष्कको सेवाचाकरीमा बिताएँ। जीवनको एक कालखण्डसम्म मलाई आफ्नो मस्तिष्कको क्षमतामा गर्व थियो। अरु धेरै मानिसले पनि ‘हो हो विजयबाबु त कस्तो ट्यालेन्टेड’ भन्दै मेरो सोचलाई यथेष्ट मलजल नगरेका होइनन्।

तर एक दिन यस्तो घटना घट्यो, मेरो जीवनको जगै हल्लियो।

करिब १४ वर्षअघिको कुरा। ती वर्षहरु मेरा निम्ति परम आश्चर्य र दुःखका वर्ष थिए। मेरो दुःखको कुनै शारीरिक वा भौतिक कारण थिएन। बाहिरबाट हेर्दा म वर्षौंदेखि जुन स्थानमा खडा थिएँ, त्यहाँ एकैछिन बस्न पाए लालायित हुने मानिसको सङ्ख्या सानो थिएन होला। छापा, रेडियो र टेलिभिजन — सञ्चार जगतका यी तीनै विधामा जुन सरलता र सहजतासाथ म विचरण गर्थें, त्यो धेरैका निम्ति आश्चर्य, इर्ष्या र विश्मयको विषय बन्न सक्थ्यो।

एकातिर व्यावसायिक रुपमा त्यो स्थिति, अर्कातिर पारिवारिक रुपले माया गर्नेहरुबाट घेरिएको थिएँ। यो सब भएर पनि, शब्दमा भन्नै नसकिने विचित्र अतृप्तताबाट पीडित थिएँ। एक हिन्दी गीतझैं थियो जीवन:

मेरे नयना सावन भादों

फिर भि मेरा मन प्यासा

आफूभित्र रहेको अपूर्णता भर्न म वर्षौं भौंतारिएँ। शक्तिवान, धनवान, रुपवान र बुद्धिमान मात्र होइन, गरिब र निसहायबीच पनि समय बिताएँ।

चरम निरासाले भरिएका मात्र होइन, पत्याउनै नसकिने साहस, आशा र उपलब्धिले परिपूर्ण मानिस पनि भेटें। तीमध्ये केही त टेलिभिजनमार्फत देखाएँ पनि। यी सब घटनाको केन्द्रविन्दुमा रहेर पनि मेरो मनको शून्यता मेटिएन। भौंतारिन रोकिएन, सोचेको ठाउँमा पुगिएन। पुग्न त परै जाओस्, पुग्न चाहेको ठाउँको नामठेगाना समेत पत्तो लागेन।

भौंतारिँदा–भौँतारिँदा एकदिन मैले आफूलाई बौद्धनाथपछाडि रहेको सेतो गुम्बामा पाएँ। म त्यहाँ जान घरबाट निस्केको थिइनँ, बरालिँदा–बरालिँदै पुगेछु।

गुम्बामा लामाले भने– ‘तपाईंले चोकीनिमा गुरूको दर्शन गर्नुपर्छ।’

लामाको पछि लागेर म चोकीनिमा रिम्पोचेका अगाडि पुगें। उनले मलाई अङ्ग्रेजीमा सोधे:

‘तिमी को हौ ?’

टेलिभिजनमा लामो समय काम गरेकाले होला, काठमाडौँ सहर वा नेपालका कतिपय स्थानमा ‘तपाईं को हो’ भन्ने प्रश्न मैले कमै सामना गरेको छु। झर्को मान्दै आश्चर्य र अहङ्कारमिश्रित स्वरमा जवाफ दिएँ:

‘म विजय कुमार हुँ।’

‘तिमी विजय कुमार हौ वा विजय कुमार तिम्रो नाम हो?’

मुसुक्क हाँस्दै रिम्पोचेले सोधेको यो प्रश्नले मलाई दस हजार भोल्टको झट्का दियो। त्यसअघि, म विजय कुमार हुँ अथवा त्यो मेरो नाम मात्र हो भनेर कहिल्यै सोचेको थिइनँ।

मेरो मुहारमा छाएको अनिश्चय देखेर रिम्पोचेले भने:

‘तिमी त आफूलाई निकै जान्नेसुन्ने ठान्छौ। मलाई यति मात्र भन, तिमी विजय कुमार हौ वा त्यो तिम्रो नाम मात्र हो?’

साधारणझैं सुनिने असाधारण गहिराइको यो प्रश्नका अगाडि मेरो अहङ्कार लज्जावती झारझैं भयो।

‘खै रिम्पोचे, अहिले यसै भन्न सक्दिनँ, म विजय कुमार हुँ वा त्यो मेरो नाम मात्र हो।’

‘केही हतार छैन, आज दिनभरि र रातभरि सोच। भोलि यही ठाउँ यही समय फेरि भेटौं। प्रश्न उही रहनेछ।’

‘विजयजी, तपाईं टेलिभिजनमा कसैलाई प्रश्न सोधेपछि उत्तर दिन तीस सेकेन्ड समय पनि दिनुहुन्न। गुरूबाट तपाईंलाई पूरै २४ घन्टा समय बक्सेको छ, भोलिचाहिँ उत्तर पक्कै लिएर आउनुहोला नि!’ म चुपचाप कोठाबाट निस्कने बेला त्यहाँ बसेका एक सज्जनले व्यङ्ग्यात्मक स्वरमा भने।

कुनै अरु ठाउँ भएको भए मैले त्यो बाजेलाई रूखो स्वरले के पो जवाफ दिने थिएँ होला। तर त्यस दिनचाहिँ आफ्नो पराजित अहङ्कारको घाउमा उसले नुनखुर्सानी छर्केको महसुस गर्दै घर फर्कें।

सारा दिन र राति अबेरसम्म रिम्पोचेले सोधेको प्रश्नको उत्तर खोज्ने असफल प्रयत्न गरें। भोलिपल्ट निर्धारित समयमा सेतो गुम्बा पुग्दा मलाई आफ्नो ज्ञानको सीमितता र अहङ्कारको विराटता दुवैका विषयमा धेरथोर महसुस भइसकेको थियो।

‘उत्तर ल्यायौ त?’

‘म क्षमाप्रार्थी छु, रिम्पोचे। मैले तमाम प्रयत्न गर्दा पनि उत्तर ल्याउन सकिनँ।’

‘तिमीले आफूलाई क्षमाप्रार्थी होइन भाग्यमानी ठान्नुपर्छ। भाग्यमानी यस अर्थमा, कमसेकम त्यो प्रश्नबारे सोच्ने मौका त पायौ। अधिकांश मानिस उनीहरु वास्तवमा को हुन् भन्ने सर्वाधिक महङ्खवको प्रश्नका विषयमा एकछिन पनि विचारै नगरी कैयौँ पटक यो पृथ्वीमा आउने र जाने गर्छन्। तिमीले कमसेकम त्यो प्रश्नबारे विचार त गर्‍यौ। अब कुनै दिन गुरू रिम्पोचेको कृपा भयो भने उत्तर पनि प्राप्त गर्नेछौ। आऊ, यात्राको थालनी गरौं।’

जुन दिन मैले यो लामो यात्राको पहिलो पाइला चालें, त्यसदिनदेखि मेरो निम्ति संसार बिस्तारैबिस्तारै बदलिँदै गयो। पत्रकारिताले मलाई अरुका दोष पत्ता लगाउन सिकाएको थियो। तर, यो नयाँ यात्राको नियम ठीक उल्टो थियो।

यहाँ अरुको होइन, आफ्नै दोष मनन गर्ने शिक्षा दिइन्थ्यो। मेरा दोष यति धेरै थिए, तिनलाई पत्ता लगाउन कुनै भारी चिन्तनको दरकार थिएन। यसो हल्का नजर दिए पुग्थ्यो। तर आफ्ना अवगुण हेर्न त मानिस मरेतुल्य हुँदोरहेछ। आँखाको बनोट नै बहिर्मुखी रहेछ। हुन त बिचरा आँखालाई पनि के दोष दिनु!

मानिस आफ्नो आँखाले होइन मनले संसार देख्छ। कठैबरा, आँखा त लाचार क्यामेराझैं रहेछ। मन भन्ने क्यामेरापर्सनले जता फर्कायो, जे देखायो, जति देखायो, त्यति मात्र हेर्न सक्ने!

दुईचार वर्षअघिसम्म मैले आफूबाहेक अरु सबै मानिसमा दोषैदोष मात्र देख्थें। प्रायः पत्रकारमा पाइने ‘विश्वनिन्दक’ प्रवृत्तिको मात्रा मभित्र सामान्यभन्दा धेरै बढी थियो। जति ठूलो ‘विश्वनिन्दक’ उति नामी पत्रकार!

पत्रकारिताका विद्यालयहरुमा मलाई अरुका गल्ती हेर्न सिकाइएको थियो, आफ्ना कमजोरी मनन गर्न होइन। तर चार वर्षअघि मेरा मूलगुरू नाम्खा रिम्पोचेले भनेः

‘आफ्ना कमजोरी पनि हेर्न सिक। आफ्नो मनले आफ्नै मनलाई हेर्न सिक। यो मन जे गर्दैछ किन गर्दैछ थाहा पाउने कोसिस गर।’

धेरै प्रयत्न गरेपछि मैले अरुको शरीरमा हात्तीजत्रो दोष देख्ने बेला आफूमा पनि कमिलाबराबर गल्ती देख्न थालें।

आफूले आफैंलाई हेर्ने क्रममा मलाई हल्का थाहा भयो, मेरा कमजोरी यथार्थमा कमिलाजत्रा सानामसिना छैनन्। जब मैले आफ्नै कमजोरी हेर्ने यात्राको पहिलो पाइला चालें तब अचानक, अनायास, क्षणभरमा मलाई यो पुस्तकको विषयबस्तु प्राप्त भयो।

जुन विषयबस्तु मैले वर्षौं सोचेर, खोजेर अनेक कोसिस गर्दा पनि पाउन सकेको थिइनँ, त्यही विषय एक दिन मलाई बिनाकुनै प्रयास फुर्‍यो।

१६ माघ २०६५ पछि पुस्तक लेख्नु मेरो बाध्यता बन्यो। त्यस दिन दिउँसो चिया खाँदाखाँदै, मैले बिनाकुनै पूर्वयोजना डा. उपेन्द्र महतोलाई भनें:

‘डा. साब, म वर्षौंदेखि एउटा पुस्तक लेख्न चाहिरहेको छु। नमच्चिने पिङको सय झट्का भनेझैं मैले अनेकौं बहानामा त्यो काम गरिरहेको छैन। अहिले तपाईंसँग बस्दाबस्दै मलाई यस्तो लाग्यो, एक वर्षसम्म केही अरु काम नगरी किताब मात्र लेख्न बसे, एउटा राम्रो पुस्तक लेख्न सक्छु। मेरो समस्या के भने काम नगरी दुईतीन महिनाभन्दा बढी जीवन चलाउने पैसा मसँग कहिल्यै हुँदैन। मलाई लाग्छ, तपाईंले मलाई एक वर्षका निम्ति आर्थिक चिन्ताबाट मुक्त गराइदिनुभयो भने सायद मेरो सपना पूरा हुने थियो। पुस्तकले पैसा कमाएछ भने फिर्ता गरौंला। केही भएन भने, लक्ष्मीको अभावले सरस्वतीको सेवा गर्न सकिनँ भन्ने आत्मगुनासोबाट त मुक्त हुने थिएँ।’

यो सुनेर उपेन्द्र मुसुक्क हाँसे। र, एकछिन पनि नअलमलिइकन भने:

‘हुन्छ विजयजी, तपाईं एक वर्षसम्म अरु केही नगरी आनन्दले किताब लेख्नुस्।’

उपेन्द्रको उदारताले मलाई एक यस्तो भाग्यशाली स्थितिमा पुर्‍याइदियो, जहाँ म वर्षदिनको निम्ति रोजीरोटीको कुनै चिन्ता नगरी किताबै लेखेर मात्र बस्न सक्थें! तर विडम्बना, मैले रोजीरोटीको चिन्ता नगरी वर्षदिन बिताइदिएँ तर लेख्न केही सकिनँ।

आर्थिक समस्यारहित हुँदैमा सृजना गर्न सकिने भए त हुनेखानेजति सबै सर्जक बन्थे भन्ने जीवन्त बोध उपेन्द्रको उदारताले गराइदियो। उपेन्द्र महतोप्रति आभारी छु, उनको आर्थिक सहयोगका निम्ति होइन। यसै पनि उनले मद्दत गर्नुपर्ने र नपर्ने धेरैलाई सहयोग गरेका छन्। म एक जना पुरानो सहपाठीलाई पनि गरे, कुनै ठूलो कुरा होइन।

उपेन्द्रप्रति कृतज्ञ छु भने त्यो विरलै पाइने अनुभवका लागि छु, जसले मलाई सिकायो– भाग्यमा छ भन्दैमा डोकोमा दूध नअडिने रहेछ! त्यो उखान मैले किताबमा कैयौं पटक नपढेको होइन। उपेन्द्रले भोगाइदिए। सौभाग्य मानिसको घरभित्र आफैं जबर्जस्ती घुसेर आए पनि, पौरख गरिएन भने नतिजा ननिस्कने रहेछ।

नतिजा ननिस्केपछि म आफैंसित निरास भएँ। आफूमाथि आफ्नै विश्वास उठिसक्दा पनि सुषमाको विश्वास ममाथि कायमै रह्यो। सुषमा मेरो पत्नी मात्र होइन, ‘बेस्ट फ्रेन्ड’ पनि हो। कुनै पनि पुरूषले एकै स्त्रीभित्र पत्नी र सबैभन्दा असल साथीको मिश्रण प्राप्त गर्नु ठूलो अहोभाग्य हो।

‘टेलिभिजनले तपाईंलाई दिएको सबैभन्दा ठूलो कुरा के हो?’ मानिस सोध्छन्।

म निशङ्कोच घोषणा गर्न सक्छु– सुषमा नै टेलिभिजनले मलाई दिएको सबैभन्दा ठूलो उपहार हो। सुषमालाई एकताका फिल्म अभिनेत्री अंशुमाला शाही भनेर चिनिन्थ्यो। २०४४ सालतिर चलचित्र अभिनेत्रीहरुका विषयमा कार्यक्रम बनाउने क्रममा मैले सुषमालाई पहिलोपल्ट देखें। देख्नेबित्तिकै बेहिसाब मन पराएँ। ‘लभ एट फस्ट साइट’ भन्ने शब्दावली मैले किताबमा पढेको होइन, जीवनमा भोगेको कुरा हो। सुषमाले चाहिन् भने म अर्को जुनीमा पनि उनैसँग विवाह गर्न चाहन्छु। सायद अर्को जुनीसम्म म अलि सुध्रिसकेको हुनेछु।

सुषमा जसको आज म यति धेरै तारिफ गर्दैछु, त्यही सुषमाभित्र जीवनको एउटा खण्डमा मैले अवगुण मात्र देख्न थालेको थिएँ। आज इमानदारीपूर्वक फर्केर हेर्दा आत्मबोध हुन्छ, सुषमाको निर्दोष मुहारमा मैले देख्न पुगेका अवगुणहरु यथार्थमा मेरो आफ्नै दोषहरुको प्रतिविम्ब मात्र रहेछन्।

कतिपय लोग्नेमानिस आफ्नो जीवनका अप्ठेरा, असफलता र कुण्ठाका निम्ति अरु कोही नपाएर आफ्नै पत्नी वा घरपरिवारलाई दोषी ठहर्‍याइरहेका हुन्छन्। यो सत्य कसैले मुखले अभिव्यक्त गर्लान्, कोहीचाहिँ मनमनै दोष देलान्, फरक त्यति मात्र हो।

मेरा तमाम कमीकमजोरीका बाबजुद मप्रति सुषमाको मायाप्रवाह चारै ऋतुमा एकैनास रह्यो। मौसम चाहे बर्खायामको होस् वा सुख्खा, हिउँद आओस् या बसन्त, उसको प्रवाहमा मैले मौसमअनुसार घटबढ महसुस गर्न पाइनँ।

म आफैंचाहिँ एक यस्तो मानिस हुँ जसको मुड पलपलमा बदलिरहन्छ। स्वभावका हिसाबले म खहरेखोला हुँ, सुषमा समुद्र हो। 

सुरूका वर्षहरुमा उसलाई मसँग बस्न सजिलो थिएन। घरबाहिरका मानिसहरुका निम्ति म एक प्रसिद्ध, मनमौजी र सनकी मानिस थिएँ भने घरभित्र चाहिँ जिद्दी बच्चाजस्तो। मेरी आइरिस धर्मदिदी ब्रिजिट चर्को आवाजमा भन्थी– ‘सुषमाले घरमा दुई होइन तीन वटा बच्चा हुर्काउनुपर्छ। तेस्रो बच्चा हुर्काउन असम्भव छ। म भए डिभोर्स दिइसक्थें।’

ब्रिजिटले भनेको ‘तेस्रो’ बच्चा अरु कोही नभएर म नै थिएँ।

मेरो सम्बन्धमा ब्रिजिटको भनाइ धेरै अर्थमा साँचो थियो। तर डिभोर्स सम्बन्धमा भने ब्रिजिट प्राविधिक रुपले नै गलत थिई। किनभने ऊ आफैँ एक असफल प्रेमी थिई। एक रात, कुनै राजनीतिक विषयमा पछिल्लो प्रेमीसँग चर्को विवाद भएको भोलिपल्ट उनीहरु सदाका निम्ति छुट्टिएका थिए।

आजभोलि प्रेमीहरु के भयो भने आपसमा जुट्छन् र के भयो भने फुट्छन्, यसै भन्न सकिन्न।

जीवनमा धेरै उतारचढाव देखेपछि मलाई महसुस भयो– प्रेम भनेको अपेक्षारहित रुपले दिने भावना र क्रियाको नाम रहेछ। मैले यति गरेवापत उसले मलाई कति फर्कायो भन्ने हिसाबकिताब मनमा आउनेबित्तिकै बुझ्नुस् तपाईं प्रेममा होइन कुनै बिजनेस डिलमा हुनुहुन्छ।

जब एक जोडी, बिना कुनै हिसाबकिताब एकअर्कालाई एकोहोरो रुपले दिइमात्र राख्छन् तब भन्न सकिन्छ– वाह, क्या प्रेम छ !

कुनै अपेक्षा नराखी निरन्तर दिइमात्र राखे, तत्काल वा भविष्यमा कुनै दिन, दिएको भन्दा धेरै गुना प्रेम स्वचालित रुपले आफैं आइपुग्छ। यसविपरीत, तपाईं आफ्नो प्रेमीसँग अपेक्षामात्र राख्नुहुन्छ र प्रेमी पनि तपाईंसँग माया पाउनमात्र चाहन्छ, दिन जान्दैन भने दुवैको भागमा निरासाबाहेक केही हात लाग्ने छैन। एउटा मगन्तेले अर्को माग्नेलाई के पो दिन सक्छ र !

हुन त आजभोलि दुनियामा प्रेमको नयाँ परिभाषा आएको छ, जसले भन्छ– प्रेम भनेको लिनेदिने बराबर हुनुपर्छ। यो सुनेर मलाई हाँसो लाग्छ। मानौं प्रेम भनेको अरु केही नभएर लेखापालको ‘ब्यालेन्स सिट’ हो जहाँ डेबिड र क्रेडिट बराबर हुन अनिवार्य छ।

दिव्य खालिङको एउटा गीत छ: 

मायाको आधारमा

सम्झौता नै हुन्छ

लिनुपर्ने जे छ

दिनुपर्ने जे छ

त्यो बराबर हुन्छ !

नारायण गोपालसँग एकदिन ठट्टा गर्दै सोधें– ‘यो गीत कुनै चार्टर्ड एकाउन्टेन्टले लेखेको हो कि क्या हो ?’

सुनेर मस्त हाँसेका थिए नारान दाइ। एकछिनपछि जवाफ दिए– ‘यो एक व्यावहारिक सत्यको गीत हो, पारमार्थिक सत्य (अल्टिमेट ट्र्युथ) होइन।’

नारान दाइको त्यो मस्त हाँसो सम्झेर आज पनि मेरो ओठमा एक मुस्कान स्वचालित रुपमा उत्पन्न हुन्छ। सुषमा मलाई भन्छे– ‘जबजब तिमी मस्त भएर खुसीले मुस्कुराउँछौं, मेरो सारा संसार उज्यालिन्छ।’

सुषमालाई देखेर महसुस हुन्छ, साँचो प्रेम गर्न कोरा ‘आई लभ यु’ भनेजस्तो सजिलो रहेनछ। जब प्रेमी, कुनै हिसाबकिताब नगरी दिइमात्र राख्छ, तब न भन्न सकिन्छ– वाह, क्या प्रेम छ!

कतै पढेको थिएँ– ‘जब तिमी कसैलाई साँचो अर्थमा प्रेम गर्छौ तब उसका कमजोरी र गल्तीका बाबजुद ऊप्रतिको भावना फेरिँदैन। मस्तिष्क क्रोधले भरिए पनि हृदयको प्रेम पखालिँदैन। दिमाग ताते पनि मुटु शितल नै रहन्छ।’

हुन त यस्तो अवस्था नारीपुरूष सम्बन्धमा विरलै आउन सक्छ। मेरो जीवनमा त्यस्तो विशेष अवस्था आयो भन्ने मुर्खतापूर्ण दाबी म गर्न चाहन्नँ। स्वीकारोक्ति यति मात्र हो कि त्यो सम्भावनाबाट हामी मेरै कारण बन्चित भयौँ। सम्भावना थियो तर मेरै कारण त्यो सृजनामा परिणत भएन।

म आफू जे छु, जस्तो छु र जति छु — त्योभन्दा बलियो हुन सकिनँ भनेर सुषमाले मलाई कहिल्यै दोष लगाइन। मैले चाहिँ सुषमा जेजस्ती र जति छे त्यसैमा खुसी नमानेको अवस्था पनि आयो।

प्रेम मेरा निम्ति ‘लिने’ विषय थियो। सुषमाका निम्ति प्रेम ‘दिने’ भावना थियो। आजसम्म, कुनै पनि क्षण सुषमाले मलाई यो भनिन– ‘मैले तिमीलाई यति धेरै माया दिएँ तर खोइ तिमीले के दियौ र?’

यो पुस्तक मेरा गुरूहरुको आशीर्वाद, सुषमाको प्रेम र उपेन्द्र महतोको उदारताबाट उत्पन्न भएको त्रिवेणी हो। यो त्रिवेणी सरल प्रवाहमा बगेको छ। यसमा समेटिएका अनुभव व्यक्तिगतझैं देखिए पनि समाजको एउटा ठूलो हिस्साले त्यसमा कतै न कतै आफ्नो छाया देख्नेछ। नयाँ र पुराना दुवै पुस्ताले यो कृतिमा कतै न कतै आफूलाई पात्रका रुपमा पाउनेछन्।

धेरैलाई थाहा छ, मैले सारा जीवन टेलिभिजनमा प्रश्न मात्र सोधें। अनेकौं पृष्ठभूमिका अनगिन्ती मानिसलाई असङ्ख्य प्रश्न सोधें। प्रश्न सोध्नुबाहेक मैले जीवनमा केही गरेजस्तो लाग्दैन। काम, क्रोध, लोभ, मोह, अहङ्कार — यी पाँचै मानवीय प्रवृत्तिसँग निथ्रुकै भिजेका प्रश्नहरु सोधें।

यी प्रश्न सोध्ने क्रममा जेजति उत्तर पाएँ, ती उत्तरको वर्षाले मेरो मन जमेर पोखरी भएको छ। यस्तो तलाउ, जसको पानी निकास नभएर मलाई उकुसमुकुस भएको छ।

सारा जीवन मैले प्रश्न मात्र सोधें, अब उत्तर दिन चाहन्छु। मेरो मनको पोखरीमा जमेको पीडालाई पुस्तकरुपी निकास दिएर अलिकति हलुका हुन चाहन्छु। धेरै वर्ष पोखरी भएर बिताएँ। बाँकी जीवन नदी भएर बाँच्न चाहन्छु। गोपाल योञ्जन भन्थे:

भरि छु साथी

म त भरि नै भरि छु

बग्नै नपाई पो

पोखरीसरि छु।

गोपाल योञ्जन यो पनि भन्थे– ‘बग्नुपर्छ है विजय भाइ, बग्नुपर्छ। तालबाट नदी र नदीबाट समुद्र बन्नुपर्छ। त्यसका लागि बग्नुपर्छ।’

आज, यसबखत म तालबाट नदीमा रुपान्तरित भएको अनुभव गर्दैछु। सोच्दैछु, गोपाल योञ्जन बाँचेका भए कति खुसी हुन्थे !

अनियन्त्रित मदिरापानको बेहोसीमा डुबेको मेरो जीवनकथाबाट सुरू भएको यो पुस्तक त्यत्तिकैमा सकिँदैन। मदिराको बेहोसीभन्दा धेरै गुना खतरनाक हो जीवनप्रतिको बेहोसी, जीवन बाँच्ने कलाप्रति अज्ञानता। जीवन बाँच्ने कला धेरथोर जानियो भने तमाम अभाव र अप्ठेराहरुबीच पनि सार्थक जीवन बाँच्न सकिन्छ। जीवन बाँच्ने कला सिकिएन भने सांसारिक वैभव र सफलता पाएर पनि व्यक्तिको जीवन निरर्थक हुन सक्छ।

समाज र हाम्रो शिक्षा पद्दतिले ‘सफलता’ को जुन परिभाषा दिन्छ, त्यो परिभाषा आधारभुत रुपले नै ‘अधुरो’ छ। परिभाषा पूरै गलत नहोला तर अधुरो छ। मेरो पेसाले मलाई अनेकौं क्षेत्रका ‘सफल’ मानिसलाई नजिकबाट हेर्ने मौका दियो। हरेक चम्कने बस्तु हिरा नहुने रहेछ। बाहिरी तिरिमिरीले मात्र जीवनलाई साँचो अर्थमा नचम्काउने रहेछ।

आजको दिनमा, मैले नेपालका सबैभन्दा दुःखी मानिसको सूची बनाउनुपर्‍यो भने त्यसमा समाजले ‘ठूलो र सफल’ ठानेका विभिन्न पेसाका मानिसको बाहुल्य हुनेछ। हामी अधुरा छौं, त्यसकारण दुःखी छौं। हामी दुःखी भएकाले अधुरा भएका होइनौं। अधुरा भएकाले दुःखी भएका हौं। अधुरा यसकारण छौं किनभने जीवन बाँच्ने कलाप्रति बेहोस छौं।

तपाईंको हातमा आज जे छ, त्यो कुनै दिन मैले लेख्ने रहर गरेको नामी दामी पुस्तक नभएर नितान्त सरल, साधारण र जीवनोपयोगी विषयबस्तु बोकेर आएको छ। जीवन आधारभुत रुपले सरल रहेछ। हामी नानाथरि अनावश्यक उपद्रोको डङ्गुर आफ्नो मनमस्तिष्कमा जम्मा गरेर जीवनलाई बेकारमा जटिल बनाउन खोज्दारहेछौं! यति साधारण सत्य बोध गर्न मलाई त्यतिका वर्ष लाग्यो।

हुन त म यो सारा पुस्तक आफूले भेटेका ‘ठूला’ भनिने देशीविदेशी राष्ट्राध्यक्ष, मन्त्री, प्रधानमन्त्री, विपक्षी र विद्रोही नेता, कार्यकर्ता आदिका विषयमा पनि लेख्न सक्थें। अथवा ‘सेक्सी विषयबस्तु’ ठानिएका धनवान, रुपवान, शक्तिवान, बुद्धिमान, नैतिकवान, अनैतिकवान स्त्रीपुरूषका प्रसङ्गले हरेक पाना सहजै रङ्गाइदिन सक्थें।

त्यस्ता प्रसङ्ग यो पुस्तकमा छँदै छैनन् भन्ने होइन। छन्, तर प्राथमिक होइन ‘दोयम’ भूमिकामा। प्राइमरी होइन सेकेन्डरी रोलमा। संसारका अधिकांश मानिसझैं मलाई पनि धेरै कालसम्म जीवनमा कुन कुरा प्राथमिक हो र कुन कुरा दोयम हो, होशै भएन।

‘पहिला जे जरूरी छ त्यो काम गर, त्यसपछि जे सम्भव छ त्यो गर’ भन्ने बोध त मेरो जीवनमा भर्खरै पो प्रवेश गर्दैछ। जीवनको एक कालखण्ड मदिराको बेहोसीमा बिताएँ। आजभोलि जीवन बाँच्ने कलाप्रतिको बेहोसीसित सङ्घर्ष गर्दैछु।

कसैले पठाएको एउटा कार्डमा लेखिएको थियो:

‘जीवन कठोर से कठोर शिक्षकभन्दा पनि कठोर हुँदोरहेछ। शिक्षकले पहिला पाठ पढाउँछ अनिमात्र जाँच लिन्छ। मलाई त जीवनले पहिला जाँच लियो अनि पाठ पढायो।’

मेरा अनुभव पनि कार्डमा लेखिएका अक्षरसित बिल्कुलै मिल्दाजुल्दा रहे। म ती भाग्यशालीमध्ये परिनँ, जसले जिन्दगीबाट पहिला सिक्ने अनि जाँच दिने मौका पाए। यसअर्थमा मैले उल्टो बाँचें।

हुन त मारग्रेट यङले दशकौं अघि नलेखेकी होइनन्:

‘धेरैजसो मानिस जीवनलाई उल्टो दिशाबाट बाँच्ने प्रयास गर्छन्। फेदबाट नबाँचेर टुप्पोबाट जिउने प्रयत्न गर्छन्। उनीहरु ठान्छन् कि धेरै बस्तु, धेरै पैसा र धेरै नाम भएपछि उनीहरु खुसी हुनेछन्। यथार्थ यसको ठीक उल्टो छ। मानिसले सर्वप्रथम आफू त्यो हुन सक्नुपर्छ, जो उसको वास्तविकता हो। त्यसपछि मात्र आफूले गर्नुपर्ने कामको कुरा आउँछ।’

म चाहन्छु, मेरा सन्तान सारांशिका र सारांशको नयाँ पुस्ताले जीवनलाई मझैं टुप्पोबाट नबाँचेर फेदबाट बाँचून्। नाम, दाम, यौवन र कुलतको मायाजालमा फसेर आफू हुनुको अर्थ (एसेन्स अफ बिइङ) नबिर्सून्!

हुन त मलाई थाहा छ, हरेक नयाँ पुस्ताले आफ्नो बाटो आफैं तय गर्छ। कोही चलनचल्तीको मार्गमा हिँड्न रूचाउलान्, कोही आफैँ बाटो खनेर अगाडि बढ्लान्। त्यति थाहा हुँदाहुँदै, कुनै आम अभिभावकझैं म पनि, आफ्ना छोराछोरीले सामना गर्नुपर्ने संसारका चुनौतीको सही वा गलत पूर्वानुमान गरेर बेलाबखत झसङ्ग हुन्छु।

झसङ्ग हुन्छु, किनभने आजको नयाँ पुस्ताले सामना गर्नुपर्ने ‘डिस्ट्र्याक्सन’, चुनौती र सम्भावनाको तीव्रता अभूतपूर्व छ। आकर्षण वा विकर्षणका जति धेरै साधनको सामना अहिलेको पुस्ताले गर्दैछ, त्यो मानव इतिहासमा कहिल्यै भएको थिएन। यति धेरै विविधता भएका बजारी ग्याजेट र विचार यसअघि पृथ्वीमा कहिल्यै एकत्रित थिएनन्।

कम्प्युटरको एक क्लिकमा उपलब्ध सामाजिक सञ्जालको चक्र यति बेगले कहिल्यै घुमेको थिएन। घुमाइको बेग यस्तो तीव्र छ, सम्झनेबित्तिकै रिङटा लाग्छ।

‘बाटो फेला पार्नुभन्दा हराउन धेरै सजिलो। त्यसैले त हामी खोजी मात्र रहन्छौं, भेट्टाउँदैनौं केही। जीवनमा कति धेरै ताल्चा र यति थोरै साँचो !’ लेखिका सारा डेसन भन्छिन्।

यस्तो द्रुत बेगको जीवनयात्रामा उत्पन्न हुने रिङटाबाट बच्न मानिस पहिला त्यो हुन जरूरी छ जो उसको ‘वास्तविकता’ हो। ऊ ‘हुनु’ को अर्थ हो। उसको ‘बिइङ’ हो। जीवनलाई टुप्पोबाट नबाँचेर फेदबाट जिउने बोध हो।

जसोजसो पुस्तकका पाना थपिँदै गए — केही यस्ता कुरा लेख्न बाध्य भएँ, जो लेखूँला भनेर कहिल्यै सोचेको थिइनँ।
मेरो जीवनमा 'परिचित'हरू आए, मित्र आएनन्! यस अर्थमा जीवनको धेरै भाग मैले एक्लै बिताएँ। मानिसहरूका बीच घेरिएर पनि म एक्लै, धेरैले मसित समय बिताउन चाहेर पनि म एक्लै!
पत्रकारिताको माध्यमबाट व्यापक समाजसित जोडिएको भए पनि व्यक्तिगत जीवनमा, आंैलामा गन्न सकिनेसँग बाहेक संगत गरिनँ। जोसँग धेरथोर उठबस भयो, तीसित पनि मनका कुरा साटासाट गरिनँ। आशा भन्थी– 'हरेक मानिसको मस्तिष्क जटिल हुन्छ तर तिम्रो त मोडर्न आर्ट पेन्टिङजस्तो छ। बु‰नै मुस्किल।' हो आशा! म हरेक कुरालाई 'व्यावहारिक सत्य' को कोणले मात्र हेर्न सक्दिनँ। मेरा निम्ति अंग्रेजी भाषाको 'एक्वेन्टेन्स र फ्रेन्ड' शब्दबीच ठूलो अन्तर छ।
'परिचित' लाई मित्रको दर्जा दिन म सक्दिनँ। सम्बन्धमा जबसम्म पूर्ण नग्न, आवरणहीन भएर मन साटासाट गर्न सकिन्न, दुःखसुखमा दिलोज्यानले मद्दत गर्न सकिन्न, एक–अर्काको निम्ति सच्चा मनले प्रार्थना गर्न सकिन्न, तबसम्म त्यस्तो सम्बन्धलाई मित्रता ठान्नु हुँदैन भन्ने मान्यता थियो मेरो। मित्रताको अर्थ मेरा निम्ति अरू कोही नपाएर 'टाइम पास पार्टनर' को खोजी थिएन। टाइम पास खेलौनाका रूपमा कसैलाई मित्र बनाउने दरकार मलाई कहिल्यै महसुस भएन। जुन पेसामा छु, चाहेका मानिसको संगत गर्न खासै मेहनत गर्नु पर्दैन। केही यस्ता मानिससित फुटपाथमा राम्रै परिचय बन्यो, जो कालान्तरमा सिंहदरबारका मालिक बने। उनीहरू सिंहदरबारका मालिक बने भन्दैमा मैले तिनलाई मित्रको सूचीमा दर्ता गरिनँ।
Source: http://setopati.com/sahityapati/16780/

मेरो चाहनाका अग्ला पर्खाल

मेरो निम्ति मित्रताको मापदण्ड कठोर 'जिरो सम गेम' थियो, 'शून्य या सय'। हस्तिनापुरको रजाइँ या चपरीमुनिको बास। मित्रताका विषयमा मेरो मापदण्डको पर्खाल यति अग्लो थियो, त्यसलाई पार गर्न कसैका निम्ति सहज थिएन। फेरि, म आफैं पनि कसैका निम्ति 'फाइदाजनक' मानिस पनि होइन। चिनजानको भरमा अकारण कसैको प्रशंसा वा निन्दा मिडियामा सजिलै गर्न नसक्ने। परिचय छ भन्दैमा कसैलाई सजिलै मिडियामा नल्याइदिने, समाचार शाखामा सिफारिस नगर्ने। 'तिमी मेरो ढाड कन्याऊ, म तिम्रो कन्याउँछु' भन्ने उपयोगितावादको युगमा म खासै उपयोगी मानिस होइन। त्यसैले पनि मेरो जीवनमा परिचितहरू आए, मित्र आएनन्। हुन त, बेलाबखत मलाई लाग्थ्यो– यो मानिस मेरो मित्र हुन सक्छ। तर फेरि मेरो अपेक्षाको अग्लो पर्खालविपरीत उसले केही यस्तो तुच्छ कृत्य गर्थ्यो, उसमा मित्र देख्ने मेरा सारा सपना भताभुंग हुन्थे। मेरा नजरमा ऊ तत्काल सयबाट शून्यमा झर्थ्यो। 'शून्य या सय'को अतिवादी मानसिकता व्यावहारिक होइन। किनभने शून्य या सयका बीचमा त्यतिका अंकहरू विद्यमान छन्। यथार्थ के भने, हस्तिनापुरको महल र चपरीमुनिको झुपडीबीच नै संसारका अधिकांश निवास रहेका छन्। संसार सेतो वा कालो दुई रङमा मात्र विभाजित हुँदैन। बीचमा धेरै छ्यासमिस रङ पनि छन् भन्ने थाहा हुँदाहुँदै मैले जीवनमा हमेसा प्रस्ट रङको विभाजन रेखा खोजेँ। र, त्यसबापत असिम दुःख पाएँ। व्यावहारिकताको यथार्थले के भन्छ, मलाई त्यसमा खासै रुचि कहिल्यै भएन। म त हरेक कुरामा पारमार्थिक सत्य (अल्टिमेट ट्र्युथ) खोज्न हिँडेको विशिष्ठ ठान्थेँ आफूलाई। तर संसारका हरेक कुरा आपसमा जोडिएका रहेछन्।


कुनै न कुनै बिन्दुमा विपरीतझंै प्रतीत हुने व्यावहारिक सत्य र पारमार्थिक सत्य एकाकार हुँदा रहेछन्। मेरा अपेक्षाअनुरूप काम नगर्दैमा कोही फुच्चे वा गर्दैमा 'छफुटे' हुने होइन भन्ने जान्न मलाई दशकौं लाग्यो। जीवनमा मित्रहरू आएनन् भन्दैमा मलाई तिनको अभावचाहिँ खड्किएन। सुषमा छँदै थिई। मित्रका हिसाबले सुषमालाई बाहेक गर्ने हो भने, म एक्लै थिएँ। एक्लै थिएँ तर एक्लो महसुस गर्दैनथेँ। संसारमा कैयौं यस्ता छन्, जो रातदिन 'मित्रहरू' को भीडबीच बस्छन् तर एक्ला छन्। हरदिन फ्रेन्ड्स पार्टी जाने, हजारौं फेसबुक फ्रेन्ड भएकाहरूको वास्तविक मित्र कति छन्, यो उनीहरू स्वयंले जान्ने कुरा हो। मेरो निम्ति मित्र शब्दको अर्थ हुन्थ्यो, एक यस्तो साथी जसले मलाई बुझोस्, मेरो दुःखसुखमा समभाव राखोस्, मेरा विषयमा संसारसँग गफ फलाक्दै नहिँडोस्। जो मेरो नामको होइन, मेरो साथी होस्। एक यस्तो, जोसित जुनसुकै विषयमा कुरा गर्न मलाई संकोच नलागोस्। जसले मेरा इच्छाहरू मुखबाट झर्नेबित्तिकै पूरा गर्ने कोसिस गरोस्। अल्बर्ट कामुझैं मलाई यस्तो साथीको खोज थियो— जो न मेरो अघिअघि हिँडोस् वा पछिपछि लागोस्। मेरै छेउ साथसाथ हिँडोस्। यस्तो साथीको खोज थियो, जो मेरा विषयमा राम्रो नराम्रो सबथोक थाहा पाएर पनि मलाई स्नेह गरोस्। एक यस्तो साथी जोसित अर्थहीन, अन्टसन्ट, बकवास कुरा गरेर घन्टौं बिताउन सकौं। आज सम्झँदा पनि हाँसो उठ्छ, मेरो 'मित्र' बन्न चाहिने पूर्वसर्तको सूची कति लामो थियो! त्यसैले होला, मेरो जीवनमा परिचित आए, मित्र आएनन्।

 ... हुन त स्कुल/कलेज छँदा केही सहपाठी यस्ता थिए, जसलाई मित्र भन्न सकिन्छ। हामी एक–अर्कासित सुखदुःख सहजै भन्न सक्थ्यौं। मित्रता साँचो हो भने त्यसमा 'सहजता' भन्ने तŒवको उपस्थिति अनिवार्य छ। एक–आपसमा सहज। जीवनमा तीन शब्द छान्नुपरे 'सहजता' एक हुनेछ। मर्दा एक शब्द मात्र आफैंसँग लैजाने बरदान पाए, त्यही शब्द लैजानेछु। स्कुल/कलेज छँदाका साथीसित चाहिँ म हमेसा सहज हुन सकेँ। हामी एक–अर्कासित 'नाफा–नोक्सान'को हिसाबकिताब नगरीकनै व्यवहार गर्न सक्थ्यौं। तर, पत्रकार भएपछि भेटिएका कतिपय मानिससित म 'सहज' हुन सकिनँ, खुल्न सकिनँ। खुल्ने चेष्टा पनि गरिनँ। मलाई लाग्थ्यो, भेट हुँदा मानिसहरू एक–अर्कासित 'कुराकानी वा संवाद' होइन, आआफ्नो पूर्वनिर्धारित भूमिकाअनुसार 'परफर्म' गरिरहेका छन्।


मानौं, कुराकानीमा होइन अभिनयमा छन्। पत्रकारितामा लागेपछि 'परिचित' को संख्या ह्वात्तै बढे पनि मित्र भेटिएनन्। मेरो संगत आफूभन्दा बढी उमेरका सित हुन थाल्यो। उनीहरूसित विषयगत कुरा गरेर म घन्टौं बिताउँथेँ तर मन साटासाट गर्न सक्दैनथेँ। कोसँग के विषयमा कुरा गर्ने, पूर्वनिर्धारित थियो। आआफ्नो पेसाका कतिपय उत्कृष्ट मानिस मेरो परिचयको दायरामा थिए, उनीहरू स्नेह पनि गर्थे। तर म कसैसँग त्यसरी खुल्न सकिनँ, जसलाई आवरणहीन मित्रताको दर्जा दिन सकियोस्। पेसागत कारणबाहेक मैले ज्यादै सीमित मानिस भेटेँ। अचम्म लाग्छ, यतिका वर्ष सार्वजनिक जीवनमा रहेर पनि त्यति थोरैसित उठबस गरेँ। त्यसैले धेरैले मलाई फरक बुझे। मैले बुझाउन पनि चाहिनँ। म सीमित मानिससित मात्र खुल्थेँ। तर विडम्बना, तिनीहरूसित पनि पूर्णरूपले खुल्न सक्दिनथेँ। सम्बन्ध आंशिक थियो। उदाहरणका लागि श्रीराम दासित किसुनजीका कुरा गर्थें। विद्या भाउजूसँग ज्योतिषशास्त्रका कुरा। चक्र दाइसित राजनीतिक र दर्शन। 

विश्वम्भरसित गीतसंगीतका कुरा। भिन्नभिन्न मानिससित म अलगअलग विषयमा कुरा गर्थे। फरकफरक रूपमा खुल्थेँ। जब यस्ता स्नेही मानिससितै त्यो हालत थियो भने, अरू सम्बन्धहरूको पातलोपनको बयान गरिरहनुपर्छ र! आफ्नो दुःखसुख आफैंसित छ, परेको बखत मद्दत गर्न कोही आउने होइन, बेकार किन टाइम वेस्ट गर्ने जस्तो लाग्थ्यो। त्यसबाहेक म लजालु स्वभावको भएकाले पनि धेरैसित घुलमिल हुन रुचाउन्नँ। मेरो आवरणमा देखिने 'एरोगेन्स'का पछाडि केही हदसम्म मेरो 'साई नेचर' पनि लुकेको छ। त्यहाँसम्म पनि ठिकै थियो, आफ्नो–आफ्नो स्वभाव हो। मेरो गल्ती कहाँ भयो भने सबैसित घुलमिल हुन नचाहने आफ्नो बानीलाई मैले सकारात्मक रूपमा प्रस्तुत गर्न सकिनँ। कतिपय अवस्थामा झर्केर मानिसलाई पन्छाएँ। सबै, सबैसित घुलमिल गर्न सक्दैनन्। एरिस्टोटल भन्छन्– 'जो मानिस सबैको मित्र हो, यथार्थमा कसैको पनि होइन।' मिलनसार भनेर चिनिएका एक जना सम्झन्छु। सकेसम्म धेरै जनाबाट कुरा फुत्काउन उनले मिलनसार भएको सिरक ओढेका मात्र हुन्। मौसम बेमौसममा सिरक ओढ्नुपर्ने बाध्यताले बिचरा रातदिन गर्मीले छट्पटिएका छन्। तर आफ्नो उकुसमुकुस बाहिर देखाउन सक्दैनन्। 


मिलनसारको पगरी टाउकोबाट झर्ने डर हुन्छ। एउटा 'मित्र' को कुरा दोस्रोलाई र दोस्रोको कुरा तेस्रोलाई सुनाउँदै उनको जीवन बितेको छ। यस्ता सज्जनको विषयमा एलिस मिलर भन्छिन्– 'आफ्नो मित्रको विषयमा कुरा काट्दा तिमीलाई पीडा महसुस हुन्छ भने कुरा काटे हुन्छ। तर साथी भनिएको मानिसका विषयमा कुरा काट्दा पीडाको सट्टा तिमीलाई मनमनै मज्जा आउँछ भने तिमी उसको साथी होइनौ।' ... म आफ्नै गल्तीमा फर्कन्छु। भेटेजति सबैसित अँगालो मार्दै हिँड्न सकिन्न भन्दैमा मैले आफूलाई त्यस रूपमा प्रस्तुत गर्न पनि जरुरी थिएन, जुन रूपमा जानीनजानी गरियो। समय नहुँदा वा अन्य कारणले भेट्न नसकिनेलाई झर्केर पन्छाउन जरुरी थिएन। पछुतो लाग्छ। चार–पाँच वर्षअघिसम्म, मरिन डेडरिचको भनाइबाट चाहिनेभन्दा बढी प्रभावित थिएँ– 'त्योमात्र तिम्रो साथी हो, जसलाई तिमी चार बजे बिहान फोन गरेर उठाउन सक्छौ।' मेरा नजरमा ती मानिस मित्र शब्दको हकदार थिएनन् जसलाई मैले भेट्न चाहँदा, उनले आफ्नो अप्वाइन्टमेन्ट बुकमा 'खाली समय' खोज्न थालून्। 

म त यस्तो साथीको कल्पना गथर्ें, जो आफ्नो सब काम छाडेर मलाई भेट्न आओस्! बानेश्वरमा एउटा परिवार थियो। मलाई लाग्थ्यो, हामीसित धेरै मित्रवत सम्बन्ध छ। एक साँझ हामीलाई डिनरमा बोलाइएको थियो। फर्कने बेला पानी पर्योख। ती दिनमा हाम्रो सवारी साधन थिएन। हुन त हामी बस्ने ठाउँ त्यहाँबाट दस मिनेट हिँडेरै पुगिन्थ्यो। सुषमा र मलाई त फरक पर्ने थिएन। छोरी डेढ वर्षकी थिई। मनमनै आशा लाग्यो, उनीहरूले आफ्नो मोटरमा पुर्या्इदिनेछन्। तर न मैले मुख खोलेर भन्न सकेँ न तिनले पुर्यागउने अफर गरे। हामी रु‰दै निस्कियौं, छोरी च्यापेर। त्यस दिनपछि म कहिल्यै त्यो घर पसिनँ। त्यो सानो घटना सम्झेर धेरै दिनसम्म चित्त दुख्यो। हामीहरू परिचितमात्र थियौं, 'फेयर वेदर एक्वेन्टेन्स।' एक–अर्काका टाइम पास खेलौना। यो बु‰नेबित्तिकै सबै गुनासा हराए। त्यसपछिका वर्षमा, कसैलाई मित्र बनाउने कोसिस गरिनँ। जो जति बाटामा भेटिए, ती कसैले पनि मेरा पूर्वसर्तहरूको पर्खाल नाघ्न सकेनन्। कल्पना गरिएजस्तो कुनै मित्र मेरो जीवनमा आएन। आएन भनेर मैले वास्ता पनि गरिनँ।

 चार वर्षअघि थाहा पाएँ, गलत रहेछु म। त्यस दिन गुरुलाई सोधेको थिएँ : 'मेरा यति धेरै परिचित छन्। नजाने कति मानिसले मलाई चिन्छन्। तर पनि मेरो कुनै सच्चा मित्र छैन जस्तो लाग्छ। किन होला?' 'के तिमी आफूचाहिँ कसैको सच्चा मित्र हौ? के तिमी ती सबै कुरा कसैका निम्ति गर्न सक्छौ, जसको अपेक्षा तिमी अरूबाट गर्छौ, विजय?' मैले उत्तर दिन सकिनँ। सोच्न थालेँ, त्यस्ता कति जना मेरो जीवनमा छन्, जसका निम्ति म त्यो सब गर्न तयार छु जसको चाहना म अरूबाट गर्छु! आफ्नो परिवारबाहेक अरू कसैका निम्ति म त्यो सब गर्न तयार थिइनँ जसको अपेक्षा म अरूबाट गर्थें। मेरो दयनीय हालत देखेर नाम्खा रिम्पोचेले मुस्कुराउँदै भने : 'को मेरा मित्र हुन्, को होइनन्— यी ठुल्ठूला प्रश्न छाडिदेऊ। साधारण कुरा गरौं। मलाई बताऊ, के तिमी आफ्नो मित्र हौ?' मैले 'हँु' भन्न सकिनँ। जीवन जसरी बिताइयो, त्यो सम्झँदा खुलेर यो पनि त भन्न सकिन्थ्यो, म स्वयं आफ्नो मित्र हुँ। जानीनजानी मैले आफ्नो शरीर, मन र बचनलाई जति दुरूपयोग गरेँ, त्यो सम्झेर कसरी भन्न सक्थेँ, म मेरो मित्र हुँ! 'विजय! तिम्रोमात्र होइन, धेरै मानिसको समस्या के भने उनीहरू पहिला आफ्नो मित्र नबनीकन अरूको मित्र हुन चाहन्छन्। आफैंलाई नचिनीकन धेरैलाई चिन्न चाहन्छन्। अलिकति सकारात्मक सोच राखेर हेर त, तिम्रा कति धेरै मित्रहरू छन्! उनले तिमीलाई कति धेरै प्रेम दिएका छन्! अलि सोच त!' ... जुन क्षणदेखि मैले फरक दृष्टि राख्न थालेँ, चारैतिर मित्र नै मित्र खडा भए। 


भिन्नभिन्न पृष्ठभूमिका अनेक मित्र। जस्तै, बेत्रावतीको मजदुर कान्छा गुरुङ। कति प्रेमले उसले मलाई आफ्नो कोठामा बसाएको थियो! मैले कसरी उसको मित्रतालाई बिर्सन सकेको होला! मकवानपुरकी चमेली वाइबालाई सम्झेँ। मैले दिएको सानो रकममा थपथापबाट उसले बाख्रापालन गरी। सन्देश पठाएकी थिई– 'दाइको भाग सुरक्षित छ।' मैले कसरी बिर्सन सकेको होला चमेली मेरो साथी हो! २४ वर्षमा साक्षर भएकी चमेलीले प्लान इन्टरनेसनलको पुरस्कार थाप्न लन्डन जानुअघि कति उत्साहसाथ फोन गरेकी थिई! कसरी बिर्सेको होला, त्यतिका मित्रलाई! तिनीहरू थिए र पो म यहाँसम्म आएँ। मानिस कति छोटो र स्वार्थी हुन सक्दो रहेछ! मैले आफैंलाई हेरेर थाहा पाएँ। एक अपवाद रहे, विजय शाह! मित्रहरूका सम्बन्धमा रिम्पोचेले मेरो आँखा खोल्नुअघि पनि उनलाई मैले हमेसा मित्र मानेँ। मित्रताको परिभाषा गलत रूपले बु‰ने बेला पनि मैले उनलाई साथी ठानेँ। अपेक्षाको अग्लो पर्खाल, नाजायज पूर्वसर्तहरूको युगमा पनि उनी हमेसा उत्तीर्ण भए। उत्तीर्ण भए, किनभने मैले उनलाई परीक्षामा कहिल्यै हालिनँ। 'रि–अस्योर' हुने आवश्यकता देखिनँ। जसरी म आमा र सुषमाप्रति पुरापुर विश्वस्त छु, तिनको प्रेम परीक्षा लिने विचार मनमा आउँदैन। हो, त्यसैगरी म विजय शाहको स्नेहमा हमेसा विश्वस्त रहेँ। हाम्रो भेट कहिलेकाहीँ महिनौं, वर्षौं हँुदैन। उनका नियमित 'सोसल फङ्सन' मा पनि म जान्नँ। फोनफान पनि महिनौंमा हुन्छ। 

एक–अर्काप्रति स्नेहबाहेक हाम्रो बीचमा कुनै 'अब्लिगेसन' छैन। न मलाई नेपालको 'लिकर किङ' भनिने विजय शाहको पैसाको कुनै लोभ छ, न त उनलाई मेरो मिडिया पहुँचको रत्तिभर पर्वाह छ। तर मलाई थाहा छ, कुनै दिन बिहान चार बजे फोन आए म उनका निम्ति खुसीसाथ उठ्न तयार हुनेछु। शिवभक्त हुन् विजय शाह, अध्यात्ममा रुचि राख्छन्। जीवन र जगतमा जे देखिन्छ, त्योभन्दा पर पनि एउटा संसार छ भन्ने बोधसँग परिचित छन्, उनी। ... पुरुषको तुलनामा मलाई नारी बढी मित्रवत लागे। मित्रता भन्ने शब्द नै स्त्रीलिंगी जस्तो लाग्छ। बढी 'फेमिनिन', बढी कोमल। भाग्यशाली रहेँ, केही साह्रै बुद्धिमान र उदार महिलासित मेरो मित्रवत सम्बन्ध बन्यो। आजको दिनमा म कुनै पनि मानिसलाई उसको लिंगभन्दा पर राखेर सहज व्यवहार गर्न सक्छु भने त्यसको एउटा कारण मेरो जीवनमा आएका महिला मित्रहरू हुन्। तीमध्ये रोजी फाइन्डसिनलाई सम्झनैपर्ने हुन्छ। पेसाले आर्किटेक्ट उनी जमुन कन्ट्र्युल रिम्पोचेकी चेली हुन्। उनीबाट मैले धेरै कुरा सिकें। त्यसैगरी मलेसियन धर्मबहिनी पावेनप्रति पनि अनुगृहीत छु। यी दुवै महिला आफ्नो समयमा आआफ्ना देशमा उत्कृष्ट प्रोफेसनल थिए। मलाई लाग्छ, नारी र पुरुष बराबर होइनन्। असमान पनि होइनन्। भिन्न हुन्। नारीले पुरुषजस्तो हुन जरुरी छैन। पुरुषजत्तिकै अवसर र स्वतन्त्रता पाउन भने जरुरी छ। व्यावहारिक रूपमा, महिलामाथि लामो समयदेखि भएको अन्यायको पृष्ठभूमिमा, म महिलाका लागि आरक्षणको पक्षमा छु। पुरूष र महिला भन्ने लैंगिक विभाजन गर्नुसाटो 'पुरुषोचित' र 'स्त्रैण' गुणमा बढी विश्वास गर्छु म। किनभने हरेक पुरुषभित्र नारी र हरेक नारीभित्र पुरुष लुकेर बसेको हुन्छ। मित्रताका सम्बन्धमा गलत दृष्टिकोणको चस्मा फुकाल्नुअघि म त्यसलाई उपयोगितावादी (युटेलिटारियन) कोणबाट पनि हेथर्ें सायद। को मानिस मलाई काम लाग्ने हो, को होइन भन्ने भावबाट केही हदसम्म निर्देशित भएँ होला। विशुद्ध उपयोगितावादी नजरबाट, मित्रता जीवनका लागि अनावश्यक छ। नभए पनि मज्जाले जीवन चल्छ। आज एउटालाई 'मित्र' बनायो, भोलि फ्रेन्डसिपका नाममा कुनै अर्कोलाई उल्लु बनायो। त्यसो गर्दा फरक पर्दैन भन्ने सिद्धान्तमा जीवन चलायो! सिएस लेविस भन्छन्– 'मित्रता अनावश्यक छ, नभए पनि जीवन चल्छ। ठिक त्यसरी जसरी घरको गमलामा फूल नभए पनि जीवन चल्छ। पेट भर्ने होइन फूलले। नभए पनि हुन्छ। बाँच्नका लागि पनि मित्रताको आवश्यकता छैन।


जीवन रोकिँदैन। तर बाँच्नुको अर्थ बु‰नचाहिँ जीवनमा मित्र अनिवार्य छन्।' मानिस शरीरमात्र होइन, भावना पनि हो। मानिसभित्र उपयोगितावादको रणनीतिमात्र होइन, निस्वार्थ सम्बन्धहरूको तृष्णा पनि लुकेको हुन्छ। त्यसैले मित्रहरू अपरिहार्य छन्। जीवनको बाटोमा भेटेजति सबैसित अंकमाल गरेर हिँड्न सकिन्न। न म कुनै सन्त हुँ, जसका निम्ति भेटेजति सबै मानव बराबर हुन्। म कोसिस गर्दै छु, सबैप्रति समभाव राखूँ। आज नभए भोलि सकूँ, यो जुनीमा नसके अर्कोमा। त्यसका लागि प्रयत्नशील छु। साई बाबाको दर्शन गर्न पुट्टपर्ती पुगेको थिएँ। प्रशान्ति निलायममा ठूलो भीड थियो। भीडमा, मलाई त्यहाँ लाने सुमन बस्नेत हरायो। मेरो मुखबाट अनायास निस्कियो : 'ह्वेयर इज माई फ्रेन्ड?' मेरो पछाडिबाट एक अपरिचित आवाज आयो : 'अल आर योर फ्रेन्ड।' यस्तो जीवन्त अनुभवबाट गुज्रेको भए पनि मेरो जीवनमा धेरै मित्र आएनन्। धेरै साथी भएनन् भन्ने मलाई पछुतो छैन। भेटेजति सबैलाई 'फ्रेन्ड' बनाउन सकिँदैन।


तर भेटिएका सबैसित 'फ्रेन्डली' हुन सकिन्छ। यो सिक्न मलाई धेरै वर्ष लाग्यो। पछुतो छ भने त्यसमा मात्र छ। विवेकानन्द भन्छन् : 'जीवनमा कति जनासँग सम्बन्ध छ भन्ने कुरा मुख्य होइन। भएका सम्बन्धहरूमा जीवन छ वा छैन भन्ने तथ्य सर्वोपरि हो।' अब फर्केर हेर्दा लाग्न थालेको छ, मेरो जीवनको प्रत्येक पाइलामा अनगिन्ती मित्रको साथ थियो। दोष कसैको थियो भने मेरै थियो, मैले तिनलाई देख्न सकिनँ। एउटा पुरानो भनाइ उद्धृत गर्दै सुषमाले भनी– 'राम्रा मित्र भनेका आकाशका ताराजस्ता हुन्। नांगो आँखाले हेर्दा कहिले देखिन्छन्, कहिले देखिन्नन्। तर तिम्रो आँखाले नदेख्ने बेलामा पनि उनीहरू त्यहाँ थिए।' (भदौ २७ गते सार्वजनिक हुने पुस्तक 'खुसी' बाट) - 
Courtesy: http://nagariknews.com/nagarik-sanibar/story/24303.html

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More