January 7, 2014

Practice yoga to cure diabetes-योग गर्नुस मधुमेह भगाउनुहोस

Dr. Raju Adhikari
अधुरो सरकारी तथ्यांकले नदेखाए तापनि नेपाल भविष्यमा मधुमेहको विश्व राजधानी बन्ने खतराको निकै नजिक छ। आज जुन गतिले मधुमेह बढ्दो छ, व्यावहारिक दृष्टिले चीन र भारतभन्दा हामी एक कदम अगाडि छौं। हामी मधुमेहबाट पीडित शीर्षस्थ दुई मुलुकको बीचमा छौं। दुवैतिरको जीवनशैली, संस्कृति, खानपान र औषधोपचार पद्धतिले हामीलाई असर नगर्ने कुरै हुँदैन। त्यस्तै, त्यहाँ फैलिने रोग बिरामीहरू यता नभित्रने सम्भावना पनि कमै हुन्छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ८० प्रतिशत मधुमेही हामीजस्तो गरिब र मध्यमवर्गका देशमा बस्छन्। हाम्रो जस्तै जीवनशैली बा"च्ने र सामान्य तथा न्युन आय भएका व्यक्ति यसको आक्रमणबाट बढी मात्रामा सिकार हुने गर्दछन्। अन्तर्राष्ट्रिय मधुमेह महासंघका अध्यक्ष प्रोफेसर क्लाउडे एमबन्याको भनाइअनुसार 'आज हाम्रो सामुन्ने मधुमेहको जुन तथ्यांक उपलब्ध छ, मधुमेह अब नियन्त्रणबाहिरको महामारी बनिसकेको छ। यो सार्वजनिक शत्रुसँग लड्ने जीवनशक्ति र प्रतीक्षा क्षमता आज कुनै पनि देशसँग छैन।'

हुन पनि हो, आजको दिनमा मधुमेहकै कारण विश्वभरि बर्सेनि पन्ध्र लाख मानिसको ज्यान जाने गर्दछ। तपाईं हामी हरेकले मनन गर्नुपर्ने तथ्य के हो भने प्राथमिक पूर्वाधार र गाँसबासकै समस्यासँग लड्नुपर्ने र न्युन स्वास्थ्य चेतना भएको हाम्रो समाज मधुमेहजस्तो रोगको निकै उर्वर भूमि हो।

मधुमेहलाई सामान्य किसिमको रोग मानिए तापनि यसको कष्ट र तनाव नरकतुल्य हुन्छ। जबकि जीवनशैलीमा सामान्य सुधारमात्रै ल्याउने हो भने यो रुघाखोकीजस्तै साधारण उपचारबाटै नियन्त्रित हुन्छ। जति बढी तनाव, जति अस्तव्यस्त जीवनशैली र खानपानको जति बढी अज्ञानता यो रोग त्यति फस्टाउँछ। यस्तो स्थितिमा योग विज्ञान मधुमेह व्यवस्थापनको निर्विकल्प र साइडइफेक्टरहित उपाय हो। मधुमेह रोग र यसको व्यवस्थापनमा योग विज्ञानको भूमिकामाथि आज संसारभरि थरीथरीका वैज्ञानिक अनुसन्धान भइरहेका छन्। भिन्न–भिन्न ढंग र पद्धतिबाट गरिएका सबैजसो अनुसन्धानको सारतत्वलाई केलाएर हर्ने हो भने निष्कर्षमा यसो भन्न सकिन्छ, 'योग विज्ञानमा आधारित यौगिक जीवनशैली, यौगिक खानपान। यौगिक क्रियाहरूद्वारा मधुमेह नामक रोगमाथि सजिलोसँग नियन्त्रण प्राप्त गर्न सकिन्छ। त्यतिमात्र होइन, योगसम्बन्धी जीवनशैली भएका व्यक्तिहरू भविष्यमा मधुमेहको आक्रमणबाट सजिलै बच्न सक्दछन् अर्थात् मधुमेह भएकाहरू योगद्वारा जति बढी लाभान्वित हुन्छन् त्यो भन्दा बढी भविष्यमा मधुमेहका उम्मेदवारहरू लाभान्वित हुन्छन्।'

मधुमेहका दुई प्रकार छन्। हाम्रोजस्तो विपन्न समाजमा टाइप–२ मधुमेह बढी मात्रामा हुने गर्दछ। टाइप–१ को तुलनामा यो मधुमेह नियन्त्रणका दृष्टिले सजिलो हुन्छ। टाइप–१ मधुमेहमा सधैंभरि इन्सुलिन प्रयोग गर्नुबाहेक अर्काे विकल्प हुँदैन। किनकि यसमा शरीरभित्र इन्सुलिन उत्पादन गर्ने क्षमता हुँदैन। टाइप–२ मधुमेहमा भने अनेकौं उपचार विधि काम गर्न सक्छन्। व्यायाम, खानपान नियन्त्रण, प्रसन्न रहने अभ्यास, आयुर्वेदिक जडिबुटी सेवन, एलोपेथी औषधि आदि। यी विविध उपचार पद्धतिसँगै यदि योग विज्ञानलाई पनि अवलम्बन गर्ने हो भने यो रोग स्थायी रूपमा नियन्त्रित हुन सक्छ।

योग विज्ञानको प्रभाव

योग उच्चस्तरीय जीवनशैली कला हो। जिन्दगी जिउने विज्ञान हो। मधुमेहलाई विशेषज्ञहरू एक प्रकारको जीवनशैली विकृत मान्दछन्। एकथरी चिकित्सकहरू मधुमेहबाट पूर्णरूपेण मुक्ति पाउने हो भने अनिवार्य रूपले जीवनशैली सु–व्यवस्थित बनाउनु पर्ने सल्लाह दिन्छन्। अस्तव्यस्त र दौडधूपको जीवनशैलीलाई उचित क्रमबद्धतामा ल्याउन सिकाउने कला केवल योग विद्या हो। अहिलेसम्म ११ प्रतिशत क्यानाडेली, ७ प्रतिशत अमेरिकी र लगभग ४ प्रतिशत भारतीय योग गर्दछन्। नेपालमा भने पुगनपुग एक प्रतिशतमात्रै आफ्नो दिनचर्यामा योगलाई स्थान दिने गर्दछन्।

यौगिक व्यायाम र मधुमेह

आधुनिक अध्ययनहरूका अनुसार योगासन तथा प्राणायाम गर्ने व्यक्ति यदि रोगी तथा विकारग्रस्त भयो भने उसको शरीर सामान्य अवस्थामा आउने कोसिस गर्दछ। योगासन तथा प्राणायामद्वारा शरीरको प्रतिरोधात्मक क्षमतामा जादुमय वृद्धि हुन्छ, रक्त शुद्ध हुन्छ, आन्तरिक अंग अवयवहरू कार्य सक्षम हुन्छन् र शरीरका विकारहरू स्वभाविक रूपले बाहिर निस्किरहेका हुन्छन्। विभिन्न योगासनद्वारा यस्तो क्षमता उत्पन्न हुनेबित्तिकै मधुमेहजस्तो बिराम न्युनीकरण हुन थाल्छ। केही मिनेटको वैज्ञानिक योगासनले शरीरका सबै जोड्नी, नशानाडी, मांसपेशी, अंग अवययको समानान्तर करसत हुन्छ।

वैज्ञानिक रीतिले कुशलतापूर्वक गरिएको ३० मिनेटको प्राणायामले शरीरभरि दौडिने रगतको शुद्धीकरण गर्छ। हार्माेन उत्पन्न गर्ने ग्रन्थिहरू सशक्त हुन्छन्, पाचन–अवशोषण र मल निष्काशन क्रिया सुचारु हुन्छ, मानसिक तनाव घट्छ, समग्र जीवनशक्तिको बढोत्तरी हुन्छ। यी उपलब्धिको प्रभाव भनेकै मधुमेहजस्ता रोेग समाप्त भएर जानु हो।

मधुमेह व्यवस्थापनमा सहयोगी मुख्य आसनहरू सूर्यनमस्कार, प्रज्ञायोग, पश्चिमउत्तानासन, अर्धमत्स्येन्द्रासन, वक्रासन, जानुनमन आसन, मूनमन आसन, हनुमानासन, मार्जारी आसन, गोमुखासन, मयुरासन, हलासन, बकासन आदि हुन्।

त्यस्तै हठयोगमा वर्णित अग्निसार, वमन, नौभि जस्ता अभ्यास पनि निकै लाभकारी हुन्छन्। यदि मधुमेहसँगै उच्चरक्तचाप, मुटुजन्य रोग, मृगौला रोगजस्ता समस्या पनि छन् भने विशेषज्ञका परामर्शअनुसार मात्रै अभ्यासहरू गर्नुपर्दछ।

योगको प्रभाव रोगको जडसम्म

आधुनिक एलोपेथिक दबाइले मधुमेहको लक्षण दबाउने काम गर्छ। रगतमा इन्सुलिनको स्तर सन्तुलित राख्न औषधि, इन्जेक्सन तथा अन्य विधिको प्रयोग गर्दछ। योभन्दा गहिराइमा पुगेर योगले मधुमेहको जडलाई नै उन्मुलन गर्ने भूमिका खेल्छ। योग चिकित्सा प्रणालीको मान्यताअनुसार अधिकांश आधुनिक रोगको मुख्यस्वरूप मनोकायिक हुन्छन्। मनोकायिक भन्नाले सुरुमा मनको तनावका कारण उब्जन्छन् र क्रमशः शरीरमा रोग बनेर देखा पर्दछ।

योग विशेषज्ञहरूको मतानुसार ध्यान, प्राणायाम, धारणा, प्रत्याहार, संयम, स्वाध्यायजस्ता प्रभावकारी योगविधिद्वारा मनको तनाव प्रबन्ध गर्ने हो भने त्यसका कारण उत्पन्न भएको मधुमेहजस्ता रोग ठिक हुन्छन्। त्यसकारण जतिसुकै व्यस्त भए पनि मानिसलाई स्वस्थ राख्न भूमिका खेल्ने योगको अभ्यास मधुमेहीले अनिवार्य रूपमा गर्नु पर्दछ।

यौगिक खानपान

मधुमेहग्रसित व्यक्तिले अपनाउनुपर्ने अनिवार्य नियम आहार–अनुशासन हो, जसको पूर्ण वैज्ञानिक र व्यवहारिक शिक्षण योगपद्धतिले मात्रै सिकाउँछ। योग ग्रन्थहरूमा भनिएको छ– थोरै खाए बल, धेरै खाए मल। भोक लागेपछि मात्रै खाऊ, विपरीत प्रकृतिका खानेकुरा एकसाथ नखाऊ। बेलुका सत्नुभन्दा २–३ घन्टाअगाडि खाइसक्नु। बिहान शुद्ध पानी पिउने गर अर्थात् उषापान गर। पेटले पकाउनुपर्ने भन्दा सूर्यकै चुलामा पाकेका ताजा खाद्यवस्तु अधिक मात्रामा खाऊ। बेला बेेलामा उपवास गर। शरीरको बनावट मांसाहारी होइन, साकाहारी भएकाले साकाहारी भोजन गर। प्रसन्न मुद्रामा खाने गर, तनावमा नखाऊ।

यी आहार अनुशासनको पालना गर्ने हो भने शरीरमा बास गर्ने मधुमेह त के कडा र असाध्य किसिमका रोगसमेत स्वतः हटेर जान्छन्। भनिएको छ– खानपान ठिक नभएसम्म जस्तोसुकै जडी औषधि खाए पनि त्यसको काम गर्नेवाला छैन्। आहार नै सबैभन्दा ठूलो औषधि हो– खासगरी मधुमेह रोगका लागि।

पिएचडी, मानव चेतना एवं योग विज्ञान 
This article was publish on Nagariknews daily on 13th december 2014

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More