August 18, 2015

मलाई मेरो जात नसोध्नु

By Milan Niraula 
म स्मरण गर्छु मेरो बाल्यकाल, मेरो गाउँमा कपडा सिलाउने दमाईहरु हुन्थे, फलामको काम गर्ने  कामीहरु हुन्थे, छालाको काम गर्ने सार्की हरु हुन्थे, अरुको चर्पिहरु सफा गर्ने डोमहरु हुन्थे, पुजाआजा गर्ने ब्राह्मणहरु हुन्थे, व्यापार सबैले गर्थ्ये, योद्धाहरुको त आवस्यक थिएन। मेरो एउटा साथी थियो कमल, ऊ एकदम राम्रो थियो, कक्षामा प्रथम हुन्थ्यो, धेरै बिनम्र थियो तर उसको नजर सधै झुकेको हुन्थ्यो। पहिला थाहा थिएन ऊ किन यस्तो छ, पछि  थाहा भयो उसको बुवा आरुको चर्पी सफा गर्ने काम गर्नु हुँदो रहेछ। ऊ आफ्नो बुवालाई सघाउन जानु पर्थ्यो आफ़ूसघै अध्ययन गर्ने साथी हरुको घरमा चर्पी सफा गर्न। अनि उसको कलिलो मानसिकताले उसको शिर ठाडो पार्न कसरि प्रेरित गरोस्। प्रविणताको परीक्षा दिएर गरिबीका कारण आफ्नो अध्ययन लाई निरन्तरता दिन सकेन आज ऊ कतारमा बैदेशिक रोजगारको लागि गएको छ। ऊ सबै भन्दा क्षमतावान् र सच्चा थियो तर त्यहाँ लक्ष्मी प्रसाद देवकोटाले भनेको जस्तो केहि थिएन मानिस ठुलों जातले भैरहेको थियो दिलले हैन। यो त एउटा उदाहरण मात्र हो, यहाँ लाखौँ कमलहरु छन् जसको लागि संसार हामीले देखेको जस्तो छैन। जस्तो अपहेलित जीवनको म कल्पना पनि गर्न सक्दिन नेपालको एक चौथाई मानिसहरु त्येस्तै जीवन बिताइरहेका छन्।

आखिर कसरी आयो त जातीय प्रथा? के हो यसको वास्तबिकता? कसरी मुक्त पार्ने समाज लाई यो रोग बाट?

  • जातीय प्रथाको उत्पति :
           प्राचिन संसारका विद्वान मानिने ऋषिहरुले विकास क्रममा रहेको मानव समाजलाई व्यवस्थित गर्न कर्मका आधारमा चार बर्णको व्यवस्था गरे।
  1. ब्रामण: विद्वान, ज्ञानी, गुरुहरु।
  2. क्षत्रीय : योद्धा तथा शासकहरु।
  3. वैश्य : ब्यापारी हरु।
  4. सुद्र : सिपालू मानिस तथा किसानहरु।  
यो बर्ण व्यवस्थाको मुख्य उदेश्य भनेको श्रम बिभाजन थियो। यो व्यवस्थामा कुनैलाई ठुलो र कुनैलाई सानो भनेर भनिएको थिएन।धर्मको अपव्याख्या गर्दै विद्वान भनिएका केहि ब्रामणहरुले ४ बर्णलाई ठुलो र सानो भनेर स्थर दिन थाले। उनीहरुले आँफू र आफ्नो सन्तानहरुले ठूलो जाती भएर फाइदाभोग गर्न पाओस भनेर लाधेको व्यवस्था हो जातीय प्रथा। जसलाई मलजल गर्ने कार्य सामन्ती सासक हरुले गरे। जनतालाई एकजुट हुन दिनु भनेको उनीहरुले आफ्नो सामन्ती राजको पतनको बिहू रोप्नु जस्तै भएकाले सासकहरुले ठूलो सानो जाती भन्दै जनतालाई विभाजित गरे र आफ्नो सासन टिकाउने काम गरे। विद्वान भनिएका केहि स्वार्थी ब्रामणहरुले जन्मजात हुन्छ भनेर प्रचार प्रसार गरे। मानौ, मेरो हजुरबुवा जो बिद्यालय जानु भएको छैन, केहि अध्ययन गर्नु भएको छैन तर पनि विद्वान र गुरुको उपमा ब्रामणको रुपमा पाउनुहुन्छ भने जातीय प्रथालाई मलजल गर्नु र यसको पक्षमा वकालत गर्नु स्वाभाविक हो। यसरी आफ्नो क्षमतामा विश्वास नभएकाहरुले आफ्नो स्वार्थको लागि सुरुवात र जगेर्ना  गरेको यो छुवाछुत र भेदवाब सहितको जातीय प्रथा हाम्रो समाजमा सबैभन्दा ठुलो रॊघको रुपमा जरा गाडेर बसेको छ।

  • हिन्दु धर्मलाई दोष र यथार्थ :
          जातीय विभेद धार्मिक प्रथा हैन यो त सामाजिक प्रचलन हो। धेरैले जातीय विभेदको कुरा उठ्ने बित्तिकै हिन्दु धर्मलाई दोष दिने गरेका छन्। हिन्दु धर्मको कुनै पनि ग्रन्थमा ठूलो र सानो जातको प्रथा हुनुपर्छ भनेर लेखिएको छैन। धर्म ग्रन्थहरुमा मात्र वर्णको कुरा गरिएको छ। जातीय विभेद भनेको पछी आएर समाजका बिरामी मानसिकताका विद्वान भनौदाहरुले लाधेको प्रथा हो। ग्रन्थ अनुसार वर्ण कर्ममा आधारित हुन्छ जन्ममा हैन। भागवत गीतामा कृष्णले अर्जुनलाई भनेका छन् ,”हे अर्जुन ब्रामण, क्षत्री, वैश्य, शुद्रको काम भनेको उनीहरु संग जन्मिएको क्षमताले निर्धारण गर्छ।” यसको मतलब हामीलाई प्रकृतिले जुन क्षमता दिएको छ, हाम्रो वर्ण त्यसैमा आधारित हुन्छ ना कि हाम्रो परिवार संग। महर्सि वेदव्यास जसले महाभारत लेखेका थिए उनको आमा माझी थियिन्, बालमिकी जसले रामायण लेखे उनकी आमा दलित थियिन्, कालिदास आफैंमा दाउरे थिए, ऋषि बिस्वामित्र जसलाई ऋषिहरुको ऋषि मानिन्छ उनि क्षत्रीयका सन्तान थिए। धर्ममा बर्णलाई परिवार सँग जोडेको छैन भन्ने यो भन्दा ठूलो प्रमाण के होला।
  • नेपालमा जातीय प्रथा :
किरात काल सम्ममा पनि नेपालमा जातिय प्रथा सुरु भएको थिएन। पछि भारत बाट लिक्ष्वी हरु नेपालमा प्रवेश गरेर शासन गर्न थाले। उनीहरुले आँफू सँगसँगै जातीय प्रथा लाई पनि नेपाल भित्र्याए। सासन व्यवस्था बलियो र दिगो बनाउन जनता बिच फुट डाल्नु आवस्यक थियो र जातिय व्यवस्था नै त्यो फूट डाल्ने सर्वोत्तम हतियार थियो। साहु महाजनले पनि आफ्नो जमिनदारी बलियो बनाउन त्यसैलाई हतियार बनाए। तत्कालिन समयका तथाकथित विद्वान भनौदाहरुले धर्मको अपव्याख्या र कुतर्क कर्दै भगवानको डर देखाएर संस्थागत गर्न थाले। समयसँगै मानिसहरु आँफ्नो जात र पेसा अनुसार बिभाजित हुन थाले यसरी मानिस मानिस बिच जात नामको ठूलो पर्खाल खडा भयो। पछि पन्धौँ सताव्दीमा आएर जयस्थिती मल्लले समाजलाई ४ जात १८ वर्णमा विभाजन गरेर आफ्नो जात अनुसारको काम नगर्ने लाई दण्डित गर्ने व्यवस्था गरे। आज हामी उनलाई समाज सुधारकको रुपमा चिनेका छौँ। शोरौं सताब्दीमा न्याय मुर्ति मानिने राम शाहले जयस्थिति मल्लकै सिधान्तलाई निर्देशक सिधान्त मान्दै तथाकथित दलितलाई तल्लो जातको रुपमा बर्गिकरण गरेर जातीय विभेदलाई बढावा  दिए। सत्रौँ सताब्दिमा आएर पृथ्वी नारायण शाहले नेपाललाई  चार वर्ण छत्तिस जातको फुलबारी भनेर भने। नेपालको बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक कुरालाई हेर्दा यो साचो कुरा थियो तर यो फुलवारीका सबै फूलहरुले समानरुपले मलजल पाउन सकेनन केही सिमित फूलहरुले मात्र मलजल पाए त्यसैले यो फुलवारीको सुन्दरतामा दाग लागेको छ। आज नेपालमा 125 भन्दा बढी तथाकथित जातीहरु छन्। कानुनमा सबै जात समान भनिए पनि अघोसित रुपमा जातिय प्रथा कायम छ। जातिय उत्पिडनमा परियो भने गुनासो पोख्ने ठाउँ त छ गुनासो सुनिदिनेले पिँडाको मर्म बुझ्नसक्दैन, पिडक लाई कारवाही गर्नुको साटो मिलापत्र गराएर छोडिन्छ। अहिले पनि हाम्रो समाजले सही दिशा लिन सकेको छैन तथाकथित जातीको नाममा गरिने स्वार्थपूर्ण राजनिती, दलित र गैरदलितको वर्गिकरणले विभेदको स्वरुप मात्र परिवर्तन गर्न सक्छ भेदभाव लाई हटाउन सक्दैन।



  • जातीय भेदभावको समाधान  :
हामीले त्यो व्यवस्थाको सधै खिलाफमा हुनु पर्छ जसले सबै मानवलाई समान मान्दैन। हामी बिगतलाई परिवर्तन त गर्न सक्दैनौं तर हाम्रो वर्तमान कसरी जिउने  र भविष्य कस्तो बनाउने भन्ने हाम्रै हातमा छ। एउटा जतिविहींन राज्यको कल्पना गरौँ जहाँ सबै  मानिस समान हुन्छन, कोहि ठुलो सानो हुँदैन के त्यस्तो जतिविहींन राज्य सम्भब छैन? बास्तवमा जातजाति भन्ने कुरा काल्पनिक उत्पति हो जसले समाजलाई पछाडी धकेलिरहेको छ त्यसकारण अब उप्रान्त कहीँ पनि ‘जात’ भन्ने शब्द प्रयोग नगरौँ। संबिधानमा जातीय विभेद जन्य शब्दहरुको प्रयोग गरिनु भनेको जातीय विभेदलाई संस्थागत गरिनु हो। जातीय प्रथालाई निरन्तरता दिने छुत, अछुत, दलित, गैरदलित, ठुलो जात,  सानो जात, सुद्र लगायतका विवेद्जन्य शब्दहरुको पहिचान र सूचीकरण गरि त्यस्तो शब्दहरुको प्रयोगमा पूर्णरुपमा प्रतिबन्द लगाउनु आवस्यक छ। अहिलेको बालबालिका भनेको भोलिको हाम्रो समाज हुन्, हाम्रो भविस्य हुन् उनीहरुले अध्ययन गर्ने  बिध्यालयका पाठ्यक्रम बाट त्यस्ता शब्दहरुलाई हटाउनु पर्छ।
हामी हाम्रो सन्तती लाई कस्तो समाज हस्तानतरण गर्न चाहन्छौँ त्यो महत्वपुर्ण कुरा हो। अब हामिले हिड्ने बाटोको दिशा सहि हुन आवश्यक छ। हो इतिहासमा अन्याय भएकै थियो अहिले पनि त्यो विभेदपूर्ण मानसिकता केहि हदसम्म कायम छ। त्येही अन्याय भएकै कारण जातीय भेदभावका आधारमा पछाडी पारिएका समुदाय गरिब भए। गरीबहरुको तथ्यांक हेर्ने हो भने जातीय विभेदको कारण पछाडी परेका समुदाय अत्याधिक छन्। त्यसकारण गरिबीका आधारमा सरकारी आरक्षण वितरण गर्न आवस्यक छ। गरिवीका आधारमा राज्यले सुबिधा वितरण गर्दा निसंदेह  जातीय भेदभावका आधारमा पछाडी पारिएका समुदायको संलग्नता अत्याधिक हुन्छ। गरिवी तथा विपन्नता परिचय पत्र तत्काल वितरण गरेर त्येसकै आधारमा सरकारी आरक्षणको व्यवस्था मिलाउनु पर्छ। जब सम्म त्यो व्यवस्था हुदैन तबसम्मका लागि जातीय भेदभावको  आधारमा पछाडी परेको समुदायहरुलाई “जातीय भेदभावको आधारमा पछाडी परेको समुदायहरु” नाम  दिएर सरकारी  आरक्षणको व्यवथा मिलाउने। गरिवी तथा विपन्नता परिचय पत्र वितरण गरि सकेपछि  जातीय विभेदले  पछि पारिएका समुदाय पनि गरिव र बिपन्न बर्गमा समेटिने  छन्  त्यसपछि “जातीय भेदभावको आधारमा पछाडी परेको समुदायहरु” भन्ने नाम पनि खारेज गरिनु पर्छ। त्यस पछि बस्तारै जातिय प्रथाको अन्त्य हुनेमा हामी बिस्वष्त हुन सक्छौँ।

त्यसैले मलाई मेरो जात नसोध्नु नत्र तिम्रो सुन्दर मुहार मलाई कुरुप लाग्नेछ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More