October 7, 2015

दौरा सुरुवाल र चौबन्दी चोली पोशाक भएको नमुना बिध्यालय


By : Jitendra Bhandari
संस्कृति परम्परा र रास्ट्रीयता झल्काउने यो समाचार सबैतिर फैलिन र प्रोत्साहन स्वरुप हामीले इमेज खबर बाट साभार गरेका छौँ । मनपरे एक सेयर गरेर हराउदै गएको  रास्ट्रियताप्रतिको यो कदमको सम्मान र प्रोत्साहन हुनेछ ।


सदरमुकाम फिदिमदेखि करिव ३८ किलोमिटर टाढा भारतको पश्चिम बङ्गालसंग सिमाना जोडिएको पाँचथरको दुर्गम गाविस सिदिन–२, दबाइपानीमा रहेको दीपज्योति प्राविमा पुग्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ– यस्तो दुर्गमा गाउँमा पनि यति सुन्दर विद्यालय रहेछ भनेर । स्थानीयस्तरमा सहजै उपलब्ध हुने काठको प्रयोग
गरेर बनाइएको चिटिक्क परेको भवन । काठबाटै बनाइएको वालमैत्रि डेक्स–बेन्च । प्रत्येक कक्षाकोठामा ह्वाइट वोर्ड । कम्प्यूटर कक्षा । प्रोजेक्टरको व्यवस्था । एकदमै मिहेनेत गरेर काठ र भाटाले बारिएको विद्यालय कम्पाउण्ड । वरिपरि मनै लोभ्याउने हरियो लेकाली जंगल । यी सबै देखेर तपाइँ मनमनै भन्न बाध्य बन्नुहुनेछ– नमुना विद्यालयको उदाहरण प्रस्तुत गर्न सुगम ठाउँ नै नचाहिने रहेछ ।
वि.सं.२०४८ सालमा स्थानीय बुद्धिजीवि र दीपज्योति युवा क्लवको सक्रियतामा स्थापना भएको दीपज्योति प्राविले जिल्लाकै नमुना विद्यालयको चिनारी बनाएको छ । अहिले ४८ छात्र र ५४ छात्रा गरी जम्मा १०२ जना विद्यार्थी अध्ययनतर सो विद्यालयको छुट्टै पहिचान पनि छ ।
अरु दिन निलो सर्ट र निलो पाइन्ट–फ्रकमा विद्यालय आउने वालवालिका आइतबार, सोमबार र मंगलबार नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवात, ढाका टोपी र चौबन्दी चोलीमा सजिएर स्कूल आउँछन् । तर ती स्कूले वालवालिका विद्यालयमा हुन लागेको कुनै साँस्कृतिक कार्यक्रमको लागि त्यस्तो पोशाकमा सजिएका भने होइनन् ।
वि.सं.२०६८ देखि विद्यालयले हप्ताको तीन दिन दौरा सुरुवाल, ढाका टोपी र चौबन्दी चोलीलाई स्कूल युनिफर्म बनाएपछि उनीहरु यसरी नेपाली राष्ट्रिय पोशाकमा सजिने गरेका हुन् ।
त्यो दिन विद्यार्थी संगै शिक्षक–शिक्षिकाले पनि नेपाली पोशाक लगाउँछन् । ‘देशको उच्च ओहोदामा पुगेका धेरै व्यक्तिले राष्ट्रिय पोशाक लाउदैनन्’ विद्यालयका प्रअ सुनिल वान्तावा भन्छन् ‘नेपाली राष्ट्रियताको भावनालाई बलियो बनाउँन हामीले राष्ट्रिय पोशाकलाई स्कूल ड्रेस बनाएका हौं ।’
सुविधासम्पन्न ठाउँका विद्यालयहरुमा मात्र प्रोजेक्टरको प्रयोग गरी विद्यार्थीहरुलाई पढाइन्छ । तर जिल्लाकै विकट गाउँमा रहेको दीपज्योति प्राविमा हप्ताको शुक्रबार प्रोजेक्टर मार्फत विद्यार्थीलाई कम्प्यूटरको थ्योरी कक्षा दिइन्छ ।
अरु दिन ब्रेक टायममा कम्प्यूटरको प्रयोगात्म ज्ञान लिन्छन् विद्यार्थी । कक्षा १ का वालवालिकालाई ‘खेल्दै–सिक्दै’ बिधि मार्फत शिक्षण सिकाइ गरिन्छ । ‘हामीलाई पर्याप्त स्रोत–साधन र शैक्षिक सामग्रीहरुको अभाव छ’ प्रधानाध्यापक वान्तावा भन्छन् ‘त्यसैले सहयोगी हातहरुको खोजी गरिरहेका छौं ।’
दुर्गम गाउँको नमुना विद्यालयको चिनारी बनाउँन सफल उक्त विद्यालय स्थापना गर्दाको कथा भने बेग्लै छ । विद्यालय स्थापनाको लागि सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि स्थानीयले आफै स्थापना गरेका हुन् दीपज्योति प्रावि ।
‘गरीबि, अशिक्षा र भौगोलिक विकटताका कारण यो क्षेत्रका १० वर्षभन्दा मुनिका वालवालिका पढ्नबाट बञ्चित थिए’ स्कूल स्थापना गर्दाताकाका कठिन दिनहरु स्मरण गर्दै व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबीर राई भन्छन् ‘सुरुमा शैक्षिक सामग्री, प्रशासनिक खर्च र शिक्षक तलव सेवा क्षेत्रका अभिभावकबाट मासिक ३० रुपैंयाँ संकलन गरी चलाउन्थ्यौं ।’ राईका अनुसार सुरुका दिनमा केही समय स्वयंम्सेवकको रुपमा काम गरेपछि एक जना शिक्षकलाई मासिक २ सय तलव दिइन्थ्यो ।
वि.सं.२०५६ सम्म नीजि स्रोतबाट सञ्चालन हुँदै आएको उक्त विद्यालयलाई सोही वर्ष माघ १० गते कक्षा–१ सञ्चालन गर्ने अनुमति जिशिकाबाट प्राप्त भयो । हाल कक्षा–५ सम्म पठनपाठन भइरहेको छ ।
हाल जिशिकाबाट विद्यालयले २ जना शिक्षक राहत वरावरको रकम र केही अन्य अनुदान रकम प्राप्त गर्दै आएको छ । सो  रकम र स्थानीय स्तरमा आर्थिक श्रोत जुटाई ६ जना शिक्षक–शिक्षिका राखि तलव धान्दै आएको प्रअ वान्तावा बताउँछन् ।
विद्यालयको विकासको लागि काठमाडौं घट्टेकुलो निवासी समाजसेवी तथा शिक्षाप्रेमी पुरुषोत्तम भट्टराई र अन्य सहयोगकर्ताहरुबाट अनुदान रकम स्वरुप प्राप्त रकमले वि.सं.२०६७ मा  ५० हजार रुपैयाको स्वर्गीय डा. सुब्रमन्यम सान्मुगा भाष्कर स्मृति कोष स्थापना भएको छ ।
त्यस्तै गुन्यूचोली, दौरासुरुवाल, पोशाकको लागि वि.सं. २०६८ मा ५० हजार रुपैंयाँको छुट्टै अक्षयकोष विद्यालयले स्थापना गरेको छ । सो रकमको व्याज र अन्य सहयोग जुटाई विद्यालयले वार्षिक रुपमा प्रत्येक कक्षाबाट उत्कृष्ट हुने ३–३ जना जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार र सवै विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउदै आएको वान्तावाले बताए ।
Source : Imagekhabar 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More