April 23, 2016

प्रचण्ड कति विलासी राजा भएछन् लक्ष्मी पुनको पढ्दा आसु खस्ने पत्र

प्रचण्ड कति विलासी र राजा भएछन् लक्ष्मी पुनको  कान्तिपुरमा छापिएको  पढ्दा आसु खस्ने पत्र हेर्नुस र सेयर गरी प्रचण्ड सम्म पुर्याउनु होला >>>
म करिब ३ महिनादेखि कूटनीतिक नियुक्तिको समाचारको पखाईमा थिएँ । हुन त धेरै साथीले आकाशको फल आँखा तरी मर हुन्छ कि भनेर सजग पनि गराएका थिए । म भने ढुक्क थिएँ, किनभने पार्टी अध्यक्ष प्रचण्डलाई आफैं भेटेकी थिएँ ।

उहाँले कुन देशका लागि सोच्नुभएको छ भनेर पनि सोध्नुभएको थियो । पार्टीले जहाँ उपयुक्त ठान्छ, त्यहीँ भनेर जवाफ दिएँ । एक साताअघि भेट्न समय मिलाउन आग्रह गर्दा अध्यक्षका स्वकीय सचिव जोगबहादुर महराले त्यस विषयमा छलफलै सुरु नभएको जवाफ दिनुभयो । उहाँले थप्नुभयो, ‘तपार्इंको बारेमा चर्चा छ, नआत्तिनु ।’ आइतबार अध्यक्षलाई एकपटक भेट्न भनेर फोन गर्दा उहाँले मिडियाले त्यसै लेख्छ भन्दै टार्नुभयो । उहाँले कुन पार्टीलाई कुन देश भन्ने टुंगै नलागेको बताउनुभयो ।
मेरो कार्यक्षेत्र रोल्पा हुँदा जोगबहादुर नै त्यहाँको इन्चार्ज हुनुहुन्थ्यो । भारतको सुखसुविधा छोडेर आएको भन्दै प्रशंसा गर्नुहुन्थ्यो । जनार्दन शर्मा प्रभाकरले पनि ‘बहिनी म पोजिटिभ छु’ भन्नुहुन्थ्यो ।
मंगलबार बेलुकी खाना खाइसकेपछि अनलाइन हेर्दा ‘सरकारद्वारा एकैपटक २१ राजदूत नियुक्तिको सिफारिस’ देखेपछि मुटुको रफतार एक्कासी बढ्यो । समाचारको लिड नपढेरै सिधै नामावली हेरेँ । एनेकपा माओबादीबाट ४ जनाको सिफारिस रहेछ– युवनाथ लम्साल, लक्की शेर्पा, पदम सुन्दास र डा. महेन्द्र सिंह । झलझली सम्झेँ अध्यक्ष कमरेडको अनुहार । एउटा यस्तो पात्र जसलाई नसम्झेर सायद दिनकै सुरुवात हुँदैन, हाम्रो अभिभावक र जनक्रान्तिका नायक † मैले यति लेख्दा धेरैजना खित्का छाडेर हाँस्नुभयो होला । स्वाभाविक हो । न म नेताकी छोरी, बहिनी, भतिजी, बुहारी, श्रीमती वा गुटको खास मान्छे । नत मसँग मोटो रकम छ । त्यसमाथि पनि आफ्ना कुरा सिधा र खुलस्त राख्ने नराम्रो बानी ।
भूमिगत कालमा निकै हन्डर खाइयो । म प्रवास भारतमा जन्मेको मान्छे, देश र जनताका लागि भूमिगत भएर संकटकालमा स्वदेश आएँ । कहिले पार्टीको नमुना विद्यालय त कहिले डाँडाकाँडाको रेडियो । पार्टीले जहाँ फाल्यो, त्यहीं टेक्ने नीतिअनुरुप बिना कुनै प्रश्न जहाँ खटायो खटेँ र टेकेँ । मेरो परिवारमा कोही राजनीतिमा संलग्न थिएन । यस क्षेत्रमा पाइला अगाडि सार्ने म पहिलो सदस्य हुँ । रुकुमजस्तो विकट भूगोलमा जन्मेर हुर्किनुभएको थियो, मेरा आमाबुबा । निकै कष्ट गरेर अर्काको काम गरेर पढाउनुभयो मलाई । म भूमिगत हुने निर्णय गर्दासमेत उहाँहरूको सहमति जरुरी ठानिनँ । ‘तपाईंजस्तो पढेलेखेको र अंग्रेजी जान्ने मान्छेले नमुना विद्यालयमा पढाउनुपर्छ’ भने, मैले सहर्ष स्वीकारेँ । माइनस डिग्रीमा कुपोषण भएको नानीलाई च्यापेर रेडियोमा समाचार सम्पादन गर्ने र वाचन गर्ने काम पनि गरेँ । ‘दुश्मन’ आउँदा कति रात नवजात शिशुसँग जंगलमा बिताएँ । कति पटक हेलिकप्टर टाउकैमा ठोक्किन
आउँदा जुका फाल्दै भाग्यौं । सायद त्यतिखेर लक्की शेर्पा कुनै पार्टीमा चियर्स भन्दै वाइनको गिलास साथीसँग ठोक्काउँथिन् वा ब्युटी पार्लरमा व्यस्त हुन्थिन् । उहाँलाई बिहान—बेलुकीको छाक टार्ने पीर छैन । काठमाडौंमा आफ्नै घर छ । पार्टीका केही महिला नेतृ सधैं भमराझैं झुम्मिन्छन्, वरिपरि । उहाँको पनि के दोष अवसर दिन नेताहरू नै लालायित भएपछि ।
युद्धबाट आएका माओवादी पढेलेखेका हुँदैनन्, विशेषगरी सानातिना कार्यकर्ता भन्ने धारणा पार्टीबाहिर मात्र होइन, पार्टीभित्र पनि व्याप्त छ । अझ पढेलेखेका मानिसको बुद्धि हँुदैन भन्ने सोच भएका मानिसको पनि पार्टीमा कमी छैन । र क्षमता भएका कार्यकर्ताको पनि कमी छैन । धेरै जनासँग डिग्री पनि छ, अंग्रेजी पनि फुइँफुइँ बोल्नुहुन्छ, उहाँहरू । समस्या यही हो, सुकिला—मुकिला छैनन् । अब युद्ध लडेकाहरू र त्याग–तपस्या गरेकाहरू गनाउँछन् होला ।
यो घटना मेरोलागि नयाँ होइन । २०६५ सालमा शान्तिकालकै बेला नेपाल टेलिभिजनमा काम गर्ने अवसर प्राप्त भयो । स्क्रिन टेस्टपश्चात अंग्रेजी समाचार सम्पादकको काम पाएँ । समाचार पनि पढ्थेँ । तर जब स्थायी हुने जाँच दुईपटक दिएँ, सफल हुन सकिनँ । म सँगै प्रवेश गर्ने अन्य दुवैजना स्थायी भइसकेका थिए । मलाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्नेको ताँती ठूलो थियो । र रमाइलो कुरा, दुुबैपटक सञ्चारमन्त्री हाम्रै पार्टीका वरिष्ठ नेताहरू थिए । मभन्दा जुनियरहरू टेलिभिजनमा भर्ना हुनलाई घुइँचो लाग्न थालिसकेको थियो । पक्षपातपूुर्ण व्यवहारको कुरै नगरौं । न्यायका लागि अख्तियार र सर्वोच्चको ढोका धाउँदा—धाउँदा थाकिसकेका थिए । नेपाल टेलिभिजनको तलब त्यसैमा हराउन थाल्यो । म त्यो अपमानित र तिरस्कारपूर्ण ठाउँबाट भाग्न चाहन्थेँ । सधैं ढाडस दिने वरिष्ठ समाचार सम्पादक मनिषा घिमिरेले एकदिन भन्नुभयो, ‘सम्पूर्ण जीवन सुम्पेको तपाईंको आफ्नै पार्टीले त तपाईंलाई हेरेन भने अरु कसले हेर्छ † सब बलेको आगो ताप्ने हुन् । बरु बेलैमा अन्तै भविष्य बनाउनु । यहाँ तपाईंलाई सबैले माओवादी भन्छन्, गाह्रो छ, अब त झन् ।’
म टेलिभिजनमा हाम्रो पार्टीनिकट कर्मचारी युनियनको उपाध्यक्ष थिएँ । त्यसैले पनि व्यवस्थापनको तारो बनेकी थिएँ । अहिले आएर हेर्छु, हाम्रै साथीहरू संगठनमा सम्पर्क नराखी खुरुखुरु काम गर्छन् । करारको म्याद थप्नतिर विशेष ध्यान दिन्छन् । साम, दाम, दण्ड, भेद प्रयोग गर्छन् । त्यो दिन मेरो मन झन् अशान्त भयो । टेलिभिजन नछोडेको पनि होइन । दोस्रो पटकको रिजल्टपछि म एक महिनाजति टेलिभिजन गइनँ । शुभचिन्तक, युनियनका साथीहरू अहिले नै टेलिभिजन छाड्ने बेला भएको छैन भन्थे । घरबेटी भाडा माग्न दिनमा दसचोटी आउन थालिन् । नानीको स्कुलको बिल लगायतका समस्या समाधान हुनसकेको थिएन । सहिद परिवार ठूली आमाकी छोरीको जिम्मा मैले लिएको थिएँ । नचाहँदा—नचाहँदै फेरि कार्यालय जान बाध्य भएँ । महाप्रबन्धक लक्ष्मण हुमागाईंले लिखित जवाफ मागे । मैले जीवनमा सायद पहिलोपटक धेरै निरीह भएर जवाफ पेस गरेँ । मलाई राम्रोसँग याद छ, त्यो दिन । सबैले हेपाहा दृष्टिले हेरेका थिए । मानौं म जेल सजाय काटेर घर फर्केको कैदी थिएँ । काम सकिएपछि युनियनको कार्यालयमा गएँ । ब्लड प्रेसर निकै कम भएको थियो । हिँड्न गाह्रो भयो । युनियनका अध्यक्ष तथा सहिद परिवारका विश्वेश्वर पौडेल भाइले बाइकमा बसालेर कोठा पुर्याइदिए ।
एक दिन अलिकति प्रकाशको किरण देखियो । २०७० सालको समानुपातिकतर्फको बन्द सूचीमा मेरो नाम समावेश भयो । ओम शर्मा दाइ र मेरो नाम सञ्चारबाट परेको थियो । मैले झोलाबाट राजीनामा निकालेर बुझाएँ । चुनावी अभियानमा रुकुम लागेँ । मलाई थाहा थियो, अन्तिममा मेरो नाम काटिनेछ । छनोट समितिमा मेरो कोही आफ्नो थिएन । जब अन्य उम्मेदवारका लागि तँछाड—मछाड हुन्थ्यो । मेरो नाम उच्चारण गर्ने कोही थिएन । एक—दुईजना आदरणीय नेताले आरम्भमा त प्रयास गरे, तर पछि उनीहरूका प्राथमिकतामा म परिनँ । जब मैले फेसबुकमा टेलिभिजन छोडेको स्टाटस लेखेँ, एकजना रैथाने नेताकी छोरीले पार्टीको पकड जमिनसकेको ठाउँमा हस्तक्षेप गर्नुपथ्र्याे, नछाड्नुपर्ने भनेर कमेन्ट गरिन् ।
कूटनीतिक क्षेत्रमा प्रयास गरेँ । फल सबैसामु छ । एक दिन लाजिम्पाट गएका बेला, जोगबहादुर दाइको फोन उठेन । म निकै बेर गेटमा बसेँ । अध्यक्षले बोलाउनुभएको थियो । सुरक्षाकर्मी भाइहरूले भित्र फोन गरेर खबर गरे । भित्रबाट आज भेटघाट छैन भन्ने कुरा आयो । नजिकै सुदूर पश्चिमको एकजोडी (तत्कालीन जनमुक्ति सेना) पनि कुरिरहेको थियो । मैले कुरा बुझ्न खोज्दा श्रीमतीचाहिँ आँसु झार्दै रुन थालिन् । उनीहरूसँग अबोध छोरी पनि थिई । यतिकैमा लक्की शेर्पा चिल्लो गाडीमा सरर आइन् । गेट खुल्यो । गाडी भित्र प्रवेश भएलगत्तै गेट बन्द भयो । अन्य राजनीतिक दलहरूले के गर्छन्, मेरो सरोकारको विषय होइन । हाम्रोजस्तो पार्टीले १३ हजार सहिदको बलिदानबाट प्राप्त भएको परिवर्तन र सत्ताका उपलब्धिलाई डलरमा साट्न मिल्छ र ? राजदूतहरूको यो सिफारिस पनि समानुपातिक समावेशीको सिद्धान्तविरुद्ध हो । यसबाट संविधानको उपहास भएको छ ।
मौका यही हो, कुनै इच्छाइएका व्यक्तिलाई सल्लाहकारमा राख्दा हुन्छ । पछि ती सल्लाहकारलाई राजनीतिक नियुक्ति गर्न सजिलो हुन्छ । कोही पार्टी प्रवेश गर्न चाहन्छ भने त्यो पनि गज्जब हो । युद्धका छर्रा बोकेका केन्द्रीय सदस्यलाई बिदाइ गर्दै नयाँलाई स्थान दिए हुन्छ । र नाम अगाडि डाक्टर भएको त कम्तीमा एकजना राख्नैपर्छ, लेनदेन जेजति भए पनि !

2 प्रतिक्रिया हरु:

ओहो लक्ष्मी नानि, विचरा;

कथा कारुणिक छ । तर, शिर्षक अनुसार प्रचन्ड कसरी बिलासी त्यो खुलेन । यसैले शीर्षक राख्दा मूल बिषय बहिनीको आँसुसंग मिल्ने गराि राखौं, पत्रकारको एजेन्डा नबनाऔं ।

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More