May 26, 2016

बिपी र मदनको बिचार सम्मान र समन्वय गर्दै बामलोकतान्त्रिक पार्टी बन्ने नया शक्ति


अनलाइन खबरका बरिस्ट पत्रकार अरुण बरालले बाबुराम भट्टराइसंग लिनुभएको अन्तरबार्ता विचारोत्तेजक रहेकोले अनलाइन खबरबाट जस्ताको तस्तै साभार गरि  राखिएको छ  >>
नयाँ शक्तिका अभियन्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रचण्ड, मोहन वैद्य र विप्लव लगायतका माओवादी नेताहरुले ‘संशोधनवादी’ एवं ‘नवसंशोधनवादी’ नेता मान्छन् ।
तर, डा. भट्टराईले विहीबार अनलाइनखबरसँग विशेष कुराकानी गर्दै भने- ‘संशोधन गर्नु त राम्रो कुरा हो नि । विज्ञानको दृष्टिले हेर्ने हो भने यो गाली होइन, यो त आदर गर्ने शब्द हुनुपर्थ्यो ।’

नयाँ शक्ति नेपालले अघि सारेको नीतिमा उल्लेखित ‘वाम लोकतान्त्रिक’ पदावलीबारे हामीले डा. भट्टराईसँग बुझ्न खोज्यौं । विगतमा वीपी कोइरालाले अघि सारेको ‘प्रजातान्त्रिक समाजवाद’ र मदन भण्डारीले प्रतिपादन गरेको ‘बहुदलीय जनवाद’ सँग ‘वाम-लोकतान्त्रिक’ पदावलीले कहाँनेर तादाम्य राख्छ ?
यो प्रश्नको जवाफ दिने क्रममा डा. भट्टराईले कुनै पनि सिद्धान्त शुन्यबाट नजन्मिने भएकाले प्रजातान्त्रिक समाजवाद र बहुदलीय जनवादको विकसित एवं परिस्कृत रुपमा यसलाई लिन आग्रह गरे । डा. भट्टराईले अब नयाँ शक्तिले वीपी र मदन भण्डारीको कडी जोड्ने बताउँदै भने- ‘अहिले नयाँ शक्तिले तिनै कडीलाई जोडेर अगाडि बढ्न खोजेको हो ।’
डा. भट्टराईले अब नेपालमा कांग्रेस, कम्युनिष्ट वा माओवादी पार्टीको औचित्य सकिएको घोषणासमेत गरे ।
वीपी र मदन भण्डारीबारे चर्चा गर्नुभन्दा पहिले ‘संशोधनवाद’का विषयमा डा. भट्टराईको भनाइ जस्ताको त्यस्तैः
‘संशोधन गर्नु त राम्रो कुरा हो नि । मलाई त अचम्म लागिरहेको छ, गुरुहरुको ज्ञानलाई त परिमार्जन गर्दै लानुपर्छ । कैयौं कुरालाई परिमार्जन गर्नुपर्छ, कैयौं कुरालाई संशोधन पनि गर्नुपर्छ । तर, हामीले ‘संशोधनवाद’लाई गालीका रुपमा प्रयोग गरिरहेका छौैं । विज्ञानको दृष्टिले हेर्ने हो भने यो गाली होइन, यो त आदर गर्ने शब्द हुनुपथ्र्यो । तर, कम्युनिष्ट शब्दावलीमा के भयो भने गाली गर्ने शब्दका रुपमा यसलाई प्रयोग गरियो ।’
‘मदन भण्डारीलाई सम्मान गर्छु’
माओवादी आन्दोलनबाट बाहिरिएर ‘वाम-लोकतान्त्रिक’ धारको विकास गर्नतिर लागेका डा. भट्टराईलाई हामीले वीपीको प्रजातान्त्रिक समाजवाद र मदन भण्डारीबारे बताउन अलि बढी नै जोड गर्यौं । विगतमा माओवादीहरुबाट ‘संशोधनवादी’को आरोप लाग्ने गरेका मदन भण्डारीबारे डा. भट्टराईले यस्तो टिप्पणी गरेः
‘मदन भण्डारी एकजना अत्यन्त्यै सिर्जनशील व्यक्तित्व हुनुहुन्थ्यो । म उहाँको सम्मान गर्छु । म व्यक्तिको टिप्पणीमा जान चाहन्न । उहाँले ९० को दशकमा राज्यकेन्दि्रत समाजवादमा जुन संकट आएको थियो, त्यतिबेला बैकल्पिक बिचार अघि ल्याउन खोज्नुभएको थियो ।

उहाँ (मदन भण्डारी) को समय छोटो रहृयो ।

तर, उहाँका अनुयायीहरुले उहाँलाई ‘मतवाद’मा पुर्याउन खोजे, यो मदन भण्डारीको सोचमा मेल खान्छ जस्तो लाग्दैन । विचारमा सिर्जनशील हुने ज्ञान र विज्ञानले के भन्छ भने खुला रहेर त्यसमा निरन्तर विकास गर्दै जानुपर्छ । तर, त्यसको ठाउँमा गुरुहरुले के भनेका थिए भन्ने विचारलाई त्यहीँ फि्रज गरिदिने काम अहिले एमालेले गरिरहेको छ ।’
वीपी कोइराला नि ?
वीपीले अघि सारेको ‘प्रजातान्त्रिक समाजवाद’लाई डा. भट्टराईले बर्नस्टीन र काउत्स्कीको विचारसँग तुलना गर्ने प्रयास गरे । वीपीले केही नयाँपन ल्याउन खोजेको तर नसकेको डा. भट्टराईको विश्लेषण छ ।
वीपीबारे डा. भट्टराईको टिप्पणी उनकै शब्दमाः
‘एक हिसावले विचार निर्माणको सन्दर्भमा बीपी कोइरालाले केही नयाँपन ल्याउन खोज्नुभएको हो । भलै त्यसबेला शीतयुद्धको द्वन्द्व थियो । त्यसको एउटा वीचको बाटो खोज्ने भन्दै प्रजातन्त्रिक समाजवादका कुराहरु आउन खोजेका थिए । भलै त्यसको जगको रुपमा बर्नस्टीन र काउत्स्कीहरुले नै अगाडि सार्न खोजेका हुन् । वीपीले नेपालको सन्दर्भमा नयाँ ढंगमा बढाउन खोज्नुभएको हो । तर, पछिल्लो चरणमा उहाँले त्यति अगाडि बढाउन सक्नुभएन ।’
डा. भट्टराईले नयाँशक्तिलाई वीपी र मदन भण्डारीको कडी जोड्ने प्रयास बताएका छन् । अनलाइनखबरसँग डा. भट्टराईले भने- वीपीपछि मदन भण्डारीले ९० को दशकमा थोरै प्रयत्न गर्नुभएको हो । अहिले नयाँ शक्तिले तिनै कडीलाई जोडेर अगाडि बढ्न खोजेको चाँहि हो । हामी उहाँहरुका कमी कमजोरी र सीमाभन्दा माथि उठेर नयाँ दिशा दिन चाहन्छौं ।’
न्युटनदेखि हकिन्ससम्मः मोसनदेखि क्वान्टमसम्म !
वीपी र मदनको कुरा गरिरहँदा डा. भट्टराईले कुनै पनि नयाँ सिद्धान्त शुन्यबाट नभई पुरानोको जगबाटै निर्माण हुने तर त्यो पुरानोको नक्कल नभई नयाँ हुने दाबी गरे । यो तर्कलाई पुष्टि गर्न उनले न्युटनको चालको नियमदेखि आइन्सटाइनको सापेक्षतावाद हुँदै क्वान्टम थ्यौरीसम्म अलि लामै व्याख्या सुनाए, यसरीः
‘कुनै पनि ज्ञान र विज्ञानको विकास पुराना कडीहरुलाई जोड्दै त्यसबाट माथि उठेर हुन्छ । उदाहरणका निम्ति आधुनिक विज्ञानका प्रणेता आइज्याक न्युटन हुन् । उनले नै गतिका नियमहरुको सुसंगत ढंगले व्याख्या गरे । १७ औं शताब्दीमा उनले यो व्याख्या गरेका थिए । २० शताब्दीको सुरुमा आइपुग्दाखेरि त्यसमा अपूर्णताहरु देखिए र आइन्सटाइनले त्यसलाई सापेक्षतावादको सिद्धान्त अन्तरगत माथि उठाउने कोसिस गरे । यसो गर्दाखेरि आइन्सटाइनले न्युटनको सिद्धान्तलाई परित्याग गरेनन् ।
न्युटन आफैंले के भनेका छन् भने मैले अलि परसम्म देख्न सक्छु, किनकि मैले महामानवहरुको काँधमा चढेर हेरिराखेको छु । न्युटनले पनि आफूभन्दा अगाडिका वैज्ञानिकहरुको जगमा टेकेर नै सिद्धान्त बनाएका थिए । उनले शुन्यमा टेकेर त्यसो गरेका होइनन् । अहिले आइन्सटाइनको सिद्धान्तपछि पनि माक्स प्लाङ्कको क्वान्टम मेकानिक्सको जुन सिद्धान्त आयो, त्यो सिद्धान्त र आइन्सटाइनको सापेक्षताको सिद्धान्तवीचमा पनि अन्तर देखा पर्यो । तर पूरै आइन्सटाइनको विरोधमा पनि आएको होइन र हुबहु पनि होइन । तर, ती दुईवटा विज्ञानले आ-आफ्ना मौलिकतासहित केही नयाँ चिज पनि ल्याए र एक-अर्काका केही पुराना चिजहरु पनि ग्रहण गरे ।
अहिले स्टेफेन हकिन्सहरुसम्म आइपुग्दाखेरि आइन्सटाइन र माक्स प्लाङ्कका सिद्धान्तभन्दा अझै माथि उठेर यी सबै सिद्धान्तलाई नै एकैठाउँबाट व्याख्या गर्न सक्ने युनिफाइड थ्यौरी अफ एभि्रथिङ हुनुपर्छ भनेर नयाँ खोजमा वैज्ञानिकहरु लागेका छन् ।
त्यसैले हामीले जति नयाँ चिजहरुको आविस्कार गर्दै जान्छौं, पुराना आविस्कारहरुको जगमा टेकेर नै अगाडि जान्छ । यस हिसाबले समाज विज्ञानमा त झन चेतनाको पक्ष पनि जोडिएको हुन्छ । भौतिक जगतमा परिवर्तनसँगै मानिसको चेतनामा पनि परिवर्तन आउने भएको हुनाले समाज विज्ञान त झन हिजोका विचार र दर्शनमा टेक्दै त्यो भन्दा माथि बढेर नै विकास हुन्छ ।
हामीले जुन उदारवादी विचार र समाजवादी विचारको प्रयोग बीसौं शताब्दिमा हेर्यौं र त्यसका सबल र दुर्बल दुबै पक्ष देख्यौं, त्योभन्दा माथि उठेको नयाँ विचारको निर्माण गर्ने प्रयत्न गरिँदैछ । त्यसैक्रममा हिजोका सामाजिक लोकतन्त्रवादीहरुले, डेमोक्रेटहरुले जुन प्रयत्न गरेका छन्, अन्त्यमा आएर कोही उदारवादतिर गए, कोही राज्य-समाजवादतिर गए । छुट्टै स्वतन्त्र धारको विकास हुन सकेन । त्यसैले हामीले उहाँहरुबाट सकारात्मक कुराहरु सिकेर उहाँहरुका सकारात्मक पक्षलाई लिएर नै अगाडि बढ्ने हो ।
नयाँ विचार सुनेको शुन्य आकाशबाट आउने पनि होइन र हिजोकै हुबहु नक्कल पनि होइन । यसअर्थमा नै यो नयाँ विचारको खोजी, वैकल्पिक विचारको खोजीलाई बुझ्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।
कार्ल मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवाद भनेकै हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादलाई गणितीयरुपमा जोडेर होइन कि त्यसलाई गुणात्मक ढंगले रुपान्तरण गरेर प्रतिपादन गरिएको थियो ।
अहिले एक्काइशौं शताब्दिमा ज्ञान र विज्ञानका थुप्रै आविस्कारहरु भए । मार्क्स एङगेल्सका पालामा सापेक्षतावादको सिद्धान्त प्रतिपादन भएको थिएन । गतिको नियममा मेकानिकल थ्यौरीहरुमात्रै थिए । सापेक्षताको सिद्धान्त आविस्कारै भएको थिएन भने क्वान्टम थ्यौरीको त विकासै भएको थिएन । अहिलेसम्म आइपुग्दा मानिसको आनुवंशिक चरित्र निर्धारण गर्ने डीएनएको परीक्षण २० शताब्दिको अन्त्यमा आएर पत्ता लागेको छ ।
यस्ता-यस्ता पछिल्ला आविश्कारहरुको जगमा टेकेर नै त्यो द्वन्द्वात्मक भौतिकवादको दर्शनलाई पनि सम्वृद्ध गर्नुपर्ने हुन्छ । मार्क्स, एङगेल्सहरु अहिले भएका भए यसलाई सम्वृद्ध गर्ने थिए । तर, दुर्भाग्य के भइदियो भने आफूलाई मार्क्सका चेला भन्ने मान्छेहरु यस्तो मतवादी भइदिए कि ती गुरुहरुको पूजा गरेर बस्ने तर ती गुरुहरुको ज्ञानमा टेकेर अगाडि बढाउन प्रयत्न नगर्ने ।
यसकारण मार्क्सवाद एउटा पुरानो प्रकारको धार्मिक मतवादमा परिणत भयो भन्ने कुरा मैले दुःखसाथ भन्नुपर्छ । म योभन्दा माथि उठ्न चाहिरहेको छु ।’
कम्युनिष्ट र माओवादीको एकांगी घेराबाट बाहिर निस्कन चाहिरहेको बताउने डा. भट्टराईले अब आफूलाई माओवादीको एउटा समूहका रुपमा मात्रै नबुझ्न आग्रहसमेत गरे । नयाँ शक्तिले लिइरहेको नीति र आगामी पार्टी घोषणासम्बन्धी कार्यक्रमबारे गरिएको कुराकानी, प्रश्नोत्तर शैलीमाः

हामीले आगामी जेठ ३० गते रंगशालामा विशाल जनसभा गरेर नयाँ शक्ति नेपालको घोषणा गर्देछौं । हामीले नयाँ शक्तिको परिकल्पना एउटा बैकल्पिक धारको रुपमा गरेका हौं । यसको विचार राजनीति कार्यक्रममा नयाँपन त हुनै पर्छ, यससँगै प्रक्रिया र पद्दतिमा पनि नयाँपन दिने अपेक्षा गरेका छौं । त्यसैले धेरैभन्दा धेरै संस्थापक सदस्यहरुको उपस्थितिमा एउटा सामूहिक प्रतिवद्धता व्यक्त गरेर पार्टी निर्माण गर्ने सोच छ ।
भर्खरै सचिवालयको बैठक बसेको सुनियो, त्यसले के निर्णय गर्यो ?
सचिवालको बैठकले त्यसको तयारीको साथसाथै तीनवटा दस्तावेज तयार गरेको छ । राजनीतिक दस्तावेज, आर्थिक विकास र समृद्धिको कार्ययोजना र संगठनात्मक विधानको प्रारुप तयार गरेका छौं , केही दिनभित्र सार्वजनिक गर्नेछौं ।
भर्खरै प्रचण्ड र बादललगायतका नेताहरुवीच पार्टी एकता भएको छ । त्यसको भोलिपल्ट विप्लव समूले शक्ति प्रदर्शन गर्यो, अब तपाईहरु रंगशालामा भेला गर्दै हुनुहुन्छ, के अब माओवादी समूहहरुवीच शक्ति संघर्ष चल्न थालेको हो ?
हामी वैकल्पिक राजनीतिक धार बनाउन प्रयास गरिरहेका छौं । २० औ शताब्दीमा दोस्रो विश्वयुद्धपछि दुईवटा वैचारिक धारका बीचमा जुन संघर्ष चल्यो र त्यसैलाई नै दुईवटा वैचारिक धारको रुपमा लिइयो, त्यसैको प्रभावस्वरुप नेपालमा पनि नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु बने । तर, अब २१ औं शताव्दीमा आइपुग्दा यो बिमर्श नै नयाँ बनिसक्यो । यी दुईवटै धार संकटग्रस्त बने ।
ज्ञान, विज्ञान र उत्पादन सम्बन्धको पछिल्लो आविस्कारको आलोकमा नयाँ बैचारिक धार अर्थात उदारवाद र राज्यनियन्त्रित समाजवादभन्दा माथि उठेको विचार, राजनीतिक कार्यक्रम, कार्यदिशा र पार्टी प्रणाली विकास गर्ने सोच अहिले विश्वमा चलेको छ । त्यसैले हामीले पनि नयाँ वैचारिक धार निर्माण भनेका हौं ।
नेपालमा हामीले नयाँ प्रयोग सुरु गरेका छौं । हिजोकै पार्टीको निरन्तरता र त्यसको कुनै अंगका रुपमा हामीले आफूलाई सोचेका छैनौं । प्रजापरिषद, कांग्रेस एमाले, माओवादी तथा मधेसवादी दलहरुले आफ्ना कालखण्डमा आफ्नो भूमिका निर्वाह गरे । त्यसै क्रमको पछिल्लो कडी माओवादी आन्दोलन थियो ।
अरु देशले ६० को दशकमा नै यो कार्यभार पूरा गरिसकेका थिए । तर, भारत र चीनको चेपमा परेका कारण नेपालमा ढीला गरी माओवादी आन्दोलनको प्रयोग भएको हो । अब यसले आफ्नो कार्यभार पूरा गरिसक्यो ।
प्रजापरिषददेखि माओवादी आन्दोलनसम्मको एउटा च्याप्टर जुन पूरा भयो, अब त्योभन्दा माथि उठेको नयाँ राजनीतिक शक्तिको आवश्यकता छ । त्यसो हुनाले हिजोकै पार्टीहरुको टुक्राटुक्रीको बहसमा हामी अल्झन चाहँदैनौं, त्योभन्दा माथि उठेर एजेन्डा प्रस्तुत गर्न चाहन्छौं ।
‘नयाँ शक्ति’ पूर्वमाओवादीको गुट होइन भन्न खोज्नुभएको हो ?
नयाँ शक्ति माओवादी, कांग्रेस, एमालेको एउटा गुट होइन । यी सबैभन्दा माथि उठेको ज्ञान र विज्ञानको पछिल्लो आविस्कारको जगमा उभिएको छ । २० औं शताव्दिको राजनीतिक प्रयोगभन्दा माथि उठेको शक्ति हो । २१ औं शताब्दीको आवश्यकता एवं नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र बनेर राजनीतिक सापेक्षता पूर्णता प्राप्तिपछि सिर्जना हुन लागेको शक्ति हो यो ।
प्रचण्डको नेतृत्वमा पार्टी एकता भएर बनेको ‘माओवादी केन्द्र’ बारे तपाईको टिप्पणी सुनौं न….
यो उहाँहरुको पुरानो ढर्रा हो । दोस्रो विश्वयुद्धपछि जुन पार्टीहरु जोडिने र टुक्रिने क्रम रहृयो । कांग्रेस-कम्युनिष्ट भनेर नेपालमा बाहृयरुपमा चाहिँ उदारवादी धार र समाजवादी धार भनेर जुन ध्रुवीकरण थियो, शीतयुद्धकालीन त्यसैको धङधङी र निरन्तरमा मात्रै हो यो । हामी योभन्दा माथि जान चाहन्छौं ।
‘माओवादी केन्द्र’को भविश्य कस्तो देख्नुहुन्छ ?
पुरानै सोचभित्र रहेर कसैको शक्ति ‘गेन’ हुन्छ भन्ने लाग्दैन । त्यसले समाज रुपान्तरणलाई ढीलो बनाउन सक्छ । अलिकति अन्योल सिर्जना गर्न सक्छ । कांग्रेस, एमाले, माओवादी भनेको राजनीतिक ब्राण्ड मात्रै भए अब, तिनीहरुको ऐतिहासिक औचित्य समाप्त भयो । उनीहरुले समयको आवश्यकता अनुसार आफ्नो विचार र राजनीतिलाई माथि उठाउन सकेनन् र त्यहीअनुरुपको संगठनात्मक ढाँचा बनाउन सकेनन् भने उनीहरुको औचित्य रहँदैन ।
खाली के हो भने हामीले वैकल्पिक धारको विकल्प दिन सकेनौं भने केही वर्षसम्म पुरानै ब्राण्डले भ्रम छर्न सक्छ । जातीय जस्तै मतवादी चिन्तनका आधारमा केही समय रहन सक्छ । तर, नयाँ शक्तिले यसैलाई चिरेर वैकल्पिक शक्ति बनाउन सक्नुपर्छ । हामीले विकल्प दिन सकेनौं भने केही समय यिनीहरुसँगै प्रभाव बाँडिन सक्छ ।
विप्लव समूह र तपाईहरुवीच पार्टी एकताको चर्चासमेत चल्ने गरेको सुनिन्छ, यो हल्लामा केही सत्यता पनि छ कि ? विप्लवका बारेमा तपाईको विश्लेषण के छ ?
व्यक्तिभन्दा पनि २० औं शताब्दीका जुन दुईवटा वैचारिक धारभन्दा माथि उठ्ने जुन हाम्रो अभियान छ, त्यसमा जस्तोसुकै पृष्ठभूमि रहेका पनि वैकल्पिक आन्दोलनमा सहभागी हुन सक्छन् । त्यस अर्थमा भोलिको सम्भावनालाई नकार्न सकिँदैन ।
विप्लवसँग कुराकानी पनि हुन्छ ?
सामान्य कुराकानी छ, तर तत्काल त्यस्तो भेटवार्ता छैन । तर, सामान्यरुपमा हामी सबैसँग ओपन छौं । हामीले ढोकाबन्द गर्ने कुरा हुँदैन । वैचारिक राजनीतिक रुपमा नयाँ हुनुपर्यो । पुरानो सोचका साथ आउनुभएन ।
म आफैं हिजो माओवादी पृष्ठभूमिबाट आएको मान्छे, नयाँ हुन भगिरथ प्रयत्न गरिरहेको छु । अन्य विभिन्न क्षेत्रबाट आउनुभएका साथीहरु पनि नयाँ बन्न प्रयत्नरत हुनुहुन्छ ।
मार्क्स वादको गुदी भनेकै द्वन्द्वात्मक भौतिकवाद हो । ठोस स्थितिको ठोस विश्लेषण गर्ने एउटा विधि हो । यसलाई त्यही ढंगले बुझेर नयाँ उचाइमा उठेर आउने हो भने हामी एकै ठाउँमा हुन्छौं । तर, उहाँहरुले मार्क्र्सवादलाई धार्मिक पन्थ, मठको रुपमा लिएर जानुभयो भने उहाँहरुको गति अन्य धार्मिक पन्थहरुको जस्तै हुन्छ ।
जस्तो-बुद्ध आफैं भौतिकवादी थिए । उनी मतवादका विरोधी थिए । पछि उनका अनुयायीले वुद्धका विचारलाई मतवादका रुपमा परिणत गराए । मार्क्सवाद पनि विज्ञान थियो । २० औ शताव्दीमा उनका अनुयायीहरुले यसलाई मतवादका रुपमा परिणत गरे । हामी त्योभन्दा माथि उठ्नुपर्छ ।
तपाईहरु अब माओवादी वा कम्युनिष्ट हो कि हैन ? 
हामी मतवादी होइनौं । कम्युनिज्म एउटा आदर्श हो । परको एउटा सपना हो । हिन्दुधर्ममा जुन रामराज्यको व्याख्या गरिएको छ, त्यसलाई पश्चिमाहरुले कम्युनिज्मका रुपमा उल्लेख गरेका हुन् । तर, त्यहाँ पुग्ने कसरी भन्ने हो ।
हिजोका कम्युनिष्टहरुले झगडा गरेर समय व्यतीत गरे । नयाँ शक्ति त्योभन्दा माथि उठ्न चाहन्छ । हामी चार/पाँच पुस्तापछिका विषयमा रुमलिएर समय बर्बाद गर्नुभन्दा अहिलेको पुस्तामा गर्नुपर्ने के हो, त्यसमा केन्दि्रत हुन चाहन्छौं । तसर्थ हिजोका विचारभन्दा माथि उठेको हाम्रो विचार, हाम्रो दर्शन हो ।
प्रारम्भिक रुपमा हाम्रो वाम लोकतान्त्रिक (लेफ्ट डेमोक्र्याटिक) कार्यक्रम हुन्छ । सारतत्वमा बाम भनेको प्रगतिशील हुन्छ, रुप पक्षमा यो अत्यन्त सहभागितामूलक हुन्छ । अन्तिम लक्ष्य भनेको सम्वृद्ध प्रकारको समाजवाद भनेका छौं । हिजोकोजस्तो राज्यले लादेको समाजवाद भन्दा सहभागितामूलक समाजवादको मोटामोटी खाका प्रस्तुत गरेका छौं ।
तर, तत्कालको कार्यक्रम भनेको वाम लोकतान्त्रिक नै हुन्छ । तसर्थ कसैले यो केही मार्क्र्सवादसम्मत भयो कि भएन, कांग्रेसको समाजवाद जस्तो भयो कि भएन भनेर तर्क गरेर हामी ठीक ठाउँमा पुग्दैनौं ।
रंगशालाबाट प्रचण्डहरुको भन्दा ठूलो कमिटी बनाउने कि सानो ?
अहिले हामी पार्टीको घोषणा गछौं । र, संक्रमणकालीन विधान बनाएर त्यस अनुरुप नै सांगठनिक संरचना बनाउँछौं । हाम्रो सोच के छ भने समावेसी समानुपातिक, र सहभागितामूलक लोकतन्त्र भनेर हामीले पार्टीभित्रको र राज्यको लोकतन्त्रको विधि भनेका छौं । पार्टी स्थापना भएपछि हामी तलैबाट वडादेखि नै निर्वाचित कमिटी बनाउँछौं । अहिलेचाहिँ आयोजक समिति बनाउँछौं । चुस्त र सानो कमिटी बनाउँछौं ।
कांग्रेस, एमाले र माओवादीको औचित्य सकियो भन्नुहुन्छ, वैकल्पिक शक्ति बनाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ? कि थाक्नुभयो ?
मचाँहि उत्साही नै छु । नेपाली जनताले नयाँ बिचार चाहेको छ । सबै पार्टीभित्र पुरानो सोच, शैली र पुरानो नेतृत्वबारे असन्तुष्टि छ । हामीले वैकल्पिक विचार, वैकल्पिक कार्यदिशा र कार्यशैली ल्याउन सक्यौ भने केही समयपछि ठूलो राजनीतिक ध्रुवीकरण हुन्छ ।
तर, सुरुको चरणमा एउटा नयाँ विचारलाई स्थापित गर्न केही मिहेनत गर्नैपर्छ । २१ औं शताब्दीको पछिल्लो अनुभवका आधारमा बैचारिक-राजनीतिक कार्यदिशा निर्माण गर्ने कुरा चुनौतिपूर्ण नै छ ।
अहिले जुनढंगको प्रतिक्रिया र आकर्षण प्राप्त भएको छ, म आशावादी नै छु । फेरि पनि विभिन्न पृष्ठभूमिका मानिसहरु एक ठाउँमा हुँदा आशंका हुनु अस्वाभाविक होइन । हिजोका पार्टीहरुमा ४० वर्ष मैले काम गरें, अहिले त्योभन्दा सुखद छ । दुई दिनको हाम्रो सचिवालयको बैठक भयो, त्यहाँ गहनखालको छलफल भयो । यस्तो कुनै पार्टीमा सम्भव छैन ।
तपाईलाई कसैले दिल्लीका केजरीवालको सिको गर्न खोजेको पनि भन्छन् नि ?
आफैं सोच्न नसक्ने मानिसले अरुसँग तुलना गर्नु यो सामान्य कुरा हो । बच्चालाई केही भन्यो भने उसले त्यस कुरालाई आफ्ना बाबुआमासँग जोडेर हेर्छ भनेजस्तै अल्पचेतना भएका मानिसले सोच्ने कुरा हो यो ।
हामी कसैको नक्कल भन्दा पनि २१ औं शताब्दीका चुनौतिको सामना गर्न नयाँ वैकल्पिक शक्ति बनाउन चाहँछौं । तसर्थ हामी सबैबाट सिक्न चाहन्छौं । आम आदमी वा युरोपमा भएका वैकल्पिक वा ल्याटिन अमेरिकी बहसबाट हामी सिकेर अगाडि जान चाहन्छौं ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More