June 24, 2016

देशी-बिदेशी दलालहरुको हण्डी खाएर नेपाल र नेपालीको भावनामा खेल्ने पित्ते पत्रकारबिरुद्ध जागौं

जनक पाण्डे।
जो पढ्छन पढाउँछन र त्यही बिषय पत्रकारितामा दैनिक अभ्यस्त पनि छन्, उनिहरु कहिल्यै कुरा गदैनन् त्यसैको । बरु यदाकदा समाज र जनमानसमा चीयागफ तिर बिरलै भएपनि सुन्न पाईन्छ पीत पत्रकारिता अर्थात येल्लो जर्नालिज्मको बारेमा । जुन अतिनै सम्बेदनशील विषय पनि हो । पत्रकारितामा एउटा जिम्मेबार पत्रकारको सानो लापर्वाहिले पनि कहिलेकाँही ठूलो दुर्घटना निम्त्याउन सक्ने स्थिति रहन्छ । सबैलाई थाहा भएकै कुरा हो पत्रकारिताको आधारभूत उद्देश्य मानिसका सरोकारका जुनसुकै सूचनाहरु संकलन र सम्प्रेषण गरेर उनिहरुलाई सू–सुचित राख्नु । अथवा, सूचनाको माध्यमबाट संसार बारे ज्ञान दिनु । जागरुक गराउनु नै हो । तर पत्रकारले जानेर नजानेर पत्रकारिता आचार–संहिताबारे ख्याल नगर्दा पीत–पत्रकारिताका नमुनाहरु बिषेश गरेर केहि राम्राखाले अनलाईन सञ्चारमाध्यम बाहेक अन्य अनलाईन सञ्चार माध्यमहरुमा देखिईरहेका छन् ।

अब कुरागरौँ पीत–पत्रकारिता (येल्लो प्रेस) को। यो एउटा समग्र प्रेस जगतकै बिकृती हो । प्रेस आचरण बिपरित गरिएको पत्रकारिता अर्थात निजी लाभबाट प्रेरित भई सूचना, समाचारलाई अतिरंजित ढंगले प्रस्तुत गर्ने शैली । पूर्ण खोज–अनुसन्धान र तथ्यमा आधारित नभई सूचनालाई मनगढन्ते बनाई प्रचारबाजीमा लागेका र सस्तो लोकप्रियताका भोका मिडीयाहरु यसको खेतीमा लागेको हिजोआज प्रशस्तै भेटिन्छन् । १९ औ सताब्दिको अन्ततिर अमेरिकाबाट सुरुवात भएको पीत–पत्रकारिता जोसेफ पुत्जिरले उनको आफ्नो पत्रिका “न्यूयोर्क वल्ड” मा पहिलो पटक अभ्यास त गरेका थिए । तर उनले समाजबाट धेरै आलोचना पनि खेप्नु परेकै थियो । समाचारलाई बङ्ग्याउने, बढाई–चढाई गर्ने, होहल्लाबाज, सानोतिनो कुरामा पनि सनसनी मच्चाउने हावादारी चरित्र को यस्तो पत्रकारिता को सिको केहि राम्रा बाहेकका अनलाईन मिडीयाहरुले गर्ने गरेका छन् ।

सूचना र प्रविधिमा द्रुत्तर बिकाश र सर्बसाधारणको यसमा पहुँच बढेसंगै अनलाईन मिडीयामा देखिएको आर्कषर्णले नेपाली समुदायलाई पनि अछुत राख्न सकेको छैन । डिजिटल समाजको निर्माणसंगै दिनानुदिन बढ्दै गइरहेको अनलाइन सञ्चारप्रतिको जनबिस्वास, समाचारका लागी सहजता र संसारको जुनसुकै कुनाबाट पनि एकैछिनमा आफ्ना सरोकारका सूचना सुुन्न, हेर्न र पढ्न पाइने भएकाले अनलाइन सञ्चार माध्यममा भर पर्ने जनसमुदायको संख्या बढिरहेको छ । तसर्थ यो हाम्रा लागी अपरिहार्य र प्रभाबकारी मिडीयाको रुपमा स्थापीत हुनसक्ने कुरामा दुईमतै छैन । बाँकी यसमा देखिएका चुनौती र जिम्मेबारी त छँदैछन । एउटा शैक्षिक बेरोजगार जमात लगायतका अन्य समुदाय  पेशाका लागी यो क्षेत्रमा प्रवेशगर्नु कुनै नौलो घटना त भएन । तर पत्रकारिताको आधारभुत ज्ञान र सीपबिना नै आकर्शण र लोभका कारण मात्र यो क्षेत्रमा हामफालियो भने गुणस्तरिय अनलाईन पत्रकारिताको बिकाश हुन सक्दैन । जसलेगर्दा समाजमा अनलाईनप्रतिको जनबिस्वास घट्नुका साथै सञ्चालनमा आईरहेका राम्रा अनलाईन पोर्टलको समेत आफ्नो क्रेडिट बिग्रने डर रहन्छ ।

विश्वमा नेपाली अनलाईन मिडीयाको स्थिति हेर्दा यो नयाँ छैन । सन १९९३-९४ बाटै सुरु भएको भएपनि सन २००० बाट नियमित भएको अध्ययनले देखाउछ । नेपाल भित्र र बाहिर बाट गरेर ५०० भन्दा बढी अनलाईन पोर्टल सञ्चालन भएका भन्ने पनि बिभिन्न शोध अनुसन्धान रिपोर्टमा उल्लेख छ । यसरी हेर्दा नेपाली समाजले बिकसित प्रबिधिलाई पहिल्यै आत्मसात गरेपनि सरकारले आफ्नै बिभिन्न प्राविधिक कारणले गर्दा यती लामो समय सम्म अनलाईन सञ्चार माध्यमका लागी कुनै छुट्टै कानुन ल्याउन सकेको थिएन । बिधुतिय कारोबार ऐन अर्तगत यसका मुद्धाहरु हेरिइरहेकोमा, अहिले सरकारको सूचना तथा सञ्चार मन्त्रालयले अनलाईन सञ्चार माध्यम लाई नियमन गर्न “अनलाईन सञ्चार माध्यम निर्देशिका–०७३” जारी गर्यो । यो राम्रो कुरा हो अनलाईन मिडीयालाई पनि कानुनले ब्यवस्थित गर्नू । तर यो निर्देशिकाले संबिधानको धारा–१९ ले प्रदत्त प्रेस स्वतन्तत्रतालाई नै वेवास्ता गर्यो। धारा १९ लाई मिचेर बनाईएको निर्देशिकाको बुँदा ११ ले पे्रसलाई नियन्त्रण गर्न खोज्यो । सम्बैधानिक प्रेस स्वतन्त्रता हनन गर्यो । यसको बिरुद्धमा संपूर्ण सञ्चार जगतबाटै बिरोध आइरहेको बेला पाठकको तर्फबाट यो मलाई पनि केहि बोल्न मन लागको हो ।

अब बाझिएको अर्को कुरा, यो निर्देशिकाको नाम “अनलाईन सञ्चार माध्यम निर्देशिका–०७३” अर्थात अनलाईन सञ्चार माध्यमलाइ नियमन गर्न बनाइएको कानुन, खासगरेर बुँदा ११ को ङ नम्बरको नियम, समाचारमा आधिकारिक स्रोत नभएका, भ्रम सृजना गर्ने र अन्तराष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पुर्याउने भनिएका कुरामा बन्देज लगाईएको यो कानुन, अनलाइन मिडीयालाई मात्र लाग्ने कि अरु मिडीया जस्तो छापा, रेडियो र टेलिभिजन लाईपनि लाग्ने ?  यदि अनलाईन मिडीयालाई मात्र लाग्ने हो भने किन ? समाचार सामाग्री त सबै मिडीयामा उस्तै हुन्छन् नि ! स्वतन्त्र सञ्चार क्षेत्रमा लादिएको यस्तो बुझ्न, बुझाउनै नसकिने कानुन प्रभाबकारी देखिदैन । कानुन कार्यान्वयन पक्षलाई पनि यो पक्कै गाहे हुनेछ । तसर्थ सरकारले यस्तो अस्पष्ट र अब्यवहारिक निर्देशिका बुँदा, प्रेस स्वतन्त्रता फर्किने गरी सच्याएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ ।

यहाँनेर, हामीले मनन गर्नैपर्ने कुरा, अनलाईनका लागी छुट्टै आधिकारिक नियमन नहुदा, के हामिले अनलाईन मिडीयाका लागी साँचो पत्रकारिता गरेका थियौँ की लेखन्दासको काम गरेका थियौँ ? अनलाईन मिडीयाहरु अनलाइनमै भर पर्ने गरेको कुरा सामाजिक सञ्जालतिर चर्चा नचलेको पनि होईन । सूचनालाई डूब्लिकेटिङ गने, अरुको समाचार चोर्ने, काल्पनिक घटना बिवरण दिने, बिश्वसनिय स्रोतको अभाब, अनुचित स्क्याण्डल जस्ता प्रबृतीले समाजलाई कतातिर डोहोर्याउला ? यसको बारेमा सोच्ने कि नसोच्ने ? यसरी अनलाईन मा देखिएका पीत–पत्रकारिताकै कारण समाजमा अवस्था प्रतिकुल भएमा, स्थिति के होला..? के पत्रकारिताका लागी व्यवसायीकरण गर्न, गराउन अथवा भनौ ब्यावशायीक पत्रकारिताको बिकाश गराउने उद्देश्यले स्थापित पत्रकारकै सामाजिक संगठनहरु थुप्रै छन् त ! किन सबै मौन..? कि उनिहरु पत्रकारकै हक हितका लागी मात्र स्थापीत भएका हुन ? उनिहरुको समाजप्रतिको उत्तर दायीत्व छैन ? समय–सीमा भित्र सत्य–तत्य र बिस्वसनिय सूचना पाउनु पाठक, श्रोता, जनताको अधिकार होईन ? खै त्यो अधिकारको रक्षा भएको ?

साँचो को लागी मात्र साँचो लगाइन्छ, झुटको लागी होईन, मिडीयामा पीत–पत्रकारिता मौलाउन नदिन पत्रकार स्वयँले पनि आफ्नो धर्म निभाउनु, पत्रकार आचार–संहिता पूर्ण पालना गर्नु जस्तो उत्तम र प्रभावकारी बिकल्प अरु छैन । राज्यको चौथो अंङ्ग अर्थात राज्य सञ्चालनको सहयात्री, बिकाश र सुचनाको संबाहकको जिम्मेवारी पाएको, संपूर्ण प्रेस जगत राज्यको अति सम्बेदनशील अंङ्ग हो । सूचना बिस्वसनिय, चुस्त–दुरुस्त र तुलनिय पनि  हुनुपर्छ । नेपाल एउटा विविधताले भरिएको देश, जहाँ सामाजिक धार्मिक, सास्कृतिक र भौगोलिक विविधता छ । सानो गल्ती र लापर्वाहिका कारण राज्यको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक, धर्म, जात–जाति, समुदाय, लिङ्ग, वर्ग र सामाजिक सुरक्षामा प्रतिकुल असर पर्न गएमा यसको परिणति के होला..? आचार–संहिता आफैमा एउटा पत्रकारिता केन्द्रित आन्तरिक नैतिक कानुन हो । पत्रकारिताको धर्म–ग्रन्थ हो । जसले पत्रकारितामा गलत प्रबृती र कृयाकलापलाई नियन्त्रण गर्छ भने किन पत्रकार आचार–संहितालाई पूर्ण पालना नगर्ने...? अनलाईन पत्रकारिता भित्रको नकारात्मक पाटोको रुपमा देखिएको पीत–पत्रकारिताले अनलाईनप्रतिको जनबिस्वास गुमाउदै जानु आफैमा स्वतन्त्र र बिश्वसनिय सञ्चारलाइ कमजोर बनाउनु पनि होईन र...? सधैँ सबैकुरामा बिरोधमात्र गर्नुभन्दा भएका नयाँ परिवर्तनलाई आत्मसात गर्दै नैतिक बाटो हिड्न पनि सिकौँ र परिवर्तन किन र केका लागी भयो त्यसका पछाडीका कारणहरुको खोज अध्ययन गरौं।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More