July 29, 2016

तिमीले बगाएको रगतमा नेपाल आमाको मुहार देखेको छु-दिल निशानी मगर

सप्तरी घटनालाइ लिएर प्रख्यात लेखक दिल निशानीले फेसबुकमा  यस्तो भाव प्रकट गरे - उनको खबरदारी भाव टिभी अन्नपुर्णबाट जस्ताको तस्तै  साभार गरिएको छ । His Facebook link
केहि महिना अगाडी म मधेस घुम्न गएको थिए । खासगरी मधेस आन्दोलन पछिको मधेश र नाकाबन्दी पछिको मधेसको मानसिकता कस्तो भयो होला भन्ने जान्न मन थियो मलाई । राजनीतिको बिषयमा लेख्नको लागि नियमित पत्रिका पढेर मात्र हुदैन भन्ने लाग्छ ।
कोठामा बसेर त झन् हुँदै हुदैन् । त्यसैले मौका मिल्दा म फकिर जस्तो बनेर निस्कन्छु फिरफिरे यात्रामा । केहि नयाँ कुरा जान्न, सिक्न र मनन गर्न नयाँ ठाउँमा नै जानुपर्छ ।
नाकाबन्दी सकिएपछि म मधेश गए मेरो देशको उर्बर भूमिमा गए । निकै भाबुक बनेर हरिया फाँटहरुमा घुमे । केहि महिना अगाडी सम्म मधेसी लाई हेर्ने नजर जुन थियो त्यो परिवर्तन भयो ।

स्वभाबिक रुपमा म पहाडिया थिए । कालो छाला भएकाहरु जति सबै भैया हुन, भारतीय हुन् भन्ने कुरा सानै देखि सिकेको थिए तर कालो छाला भएकाहरु आदिवासी, जनजाती नेपाली रहेछन ।
म भ्रममा रहेछु । ढाका टोपी लाउनेहरू भन्दा धोति लाउनेहरु कर्मठ नेपाली रहेछन् । भारतको भुमि रक्सौल पुगेपछि मलाई भारतीय पुलिसले समात्यो चिनियाँ नागरिक भनेर तर मलाई टाँगामा राखेर घुमाइरहेका सप्तरीका एकजना भाई आफ्नो टाँगाबाट निस्केर त्यो पुलिस सँग निहुँ खोज्दै भने, “हमरा आद्मीको क्यु तङ कर्ता हे? “ति भाईले हमरा आद्मी वा हामी नेपाली लाई दुःख नदेऊ भन्न खोजि रहेका थिए । म स्तभ भए तिनको कुरा सुनेर ।
किनभने मैले कालो छाला हुनेलाई भारतीय सम्झिन्थे । उनले भन्थे, “मधेसको सरकारी कार्यालयहरुमा धेरै पहाडीया छन् मधेसीका छोराछोरीलाई नोकरी कम मिल्छ किनभने हामी नेपाली भाषा राम्रो बुझ्दैन् ।  हाम्रो आफ्नै भाषा स्कुलमा पढाई पनि हुदैन । बिहारीलाई नागरिता बेचेर पैसा कमाउने पहाडीया कर्मचारी नै हुन् ।
हामीलाई नागरिता चाहियो भने हाकिमको खुट्टा समात्नु पर्छ किनभने हामीलाई भारतीय भन्छन  ।सायद नयाँ संबिधानमा यही कुरामाथि शंका गरेका छन् मधेसी दाजुभाई दिदीबहिनीहरुले ।
मधेस आन्दोलन एउटा आधारमा सफल भएकै हो । नाकाबन्दी चाँही अर्को परिस्थितिमा उपस्थित थियो । यो राजनैतिक रुपलाई हामीले सामाजिक रुपबाट बुझ्दा मधेसीहरु राज्यको हेलम बर्सौ देखि परेका पिडित बनेका छन् भन्ने कुरा बारा, पर्सा सिरहा पुगेर बुझे मैले, यस्तो कुरा गर्दा कतिपय मानिसहरुको तर्क हुने गर्छ कर्णालीको खसहरुपनि पिडीत छन् ।
जसरि पनि एकल राज्य संरचनाको बचाउ गर्ने ति मित्रहरुलाई सम्झेर हाँस्न बाहेक अरु केहि गर्न सकिन्न, वास्तविकता र तर्क त ति बुझ्ने मनुस्य होइनन् ।
हामीलाई दाल, चामल, चिनी पठाउछ मधेस । सरकारलाई सबैभन्दा धेरै कर तिर्छ मधेस, खाली सिसी र खाली बोटल उठाउँछ मधेस । सिमानाका पिल्लरहरु गायब पारिन्छ तर मधेसी दाजुभाईहरु पिल्लर बनेर उभिएका छन् । नेताहरुले बेचेका नदीनालाहरुको कारण मधेस कहिले सुक्खा हुन्छ त कहिले बाढीले बस्ती नै बगाउँछ ।
झोला भरी पैसा, रुखको पात पातमा बिजुली भन्ने नेताहरुको घरमा त शोलर पावर बलेको होला तर मधेसको झुपडीहरु टुकीमा बलेका छन्, सबैथोक भएर पनि रित्तिएको छ मधेश ।
दसगजाको दुःख
सांस्कृतिक रुपमा रोटि र बेटीको सम्बन्ध हुनु सिमानाको नागरिकहरुको लागि सामान्य बिषय हो तर हामीकहाँ राजनैतिक रुपमा ठुला समस्या छन् । मुखले राष्ट्रवाद शब्द भनिरहने तर हातहरुले राष्ट्रघात गरिरहने नेपाली शासकहरुको आम प्रचलन बनेको छ ।
यसबाट कोहि पनि चोखो छैन्, भन्दा नि फरक पर्दैन । ‘नो म्यान्स ल्यान्ड’ अर्थात् अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दुई देशबीचको सीमा (दसगजा) मा १०|१० गज वारिपारिको क्षेत्रफलभित्र कसैले केही गतिविधि वा उपयोग गर्न पाइदैँन् तर महोत्तरी स्थित सीमावर्ती भिठ्ठामोडदेखि नेपालको समसी क्षेत्रसम्म भारतले दसगजा मिचेर सडक बनाएको पाइएको छ ।
यसबारे मधेसीहरुले धेरै बिरोध गरेका हुन् तर राज्यको उपस्थिति फितलो भयो वा प्रभुको दबाबमा प¥यो उ बोल्न सकेन् । मधेसीहरु बोले कराए तर उनीहरुको दमित आवाज सुन्ने कोहि निस्केन त्यति मात्र होइन्, भारतले भिठ्ठामोडबाट सुरसण्ड हुँदै सितामढीसम्म जोडेको पिच सडकअन्तर्गत ३ सय एकदेखि तीन सय दुईसम्मको लम्बाइभित्र ठाउँ ठाउँमा रहेको जंगे पिलरको जगमा टाँसेर सडक बनाएको छ ।
यसबारेमा पनि राज्यको निकाय मौन छ यसमा मात्र होइन नदीनाला बेचेर झोलामा पैसा हाल्ने मधेस लाई कहिले खडेरी त कहिले डुबानमा डुबाउने जस्ता सवालमा पनि राज्य मौन छ ।
जानकारहरुका अनुसार अहिलेसम्म ६५ हजार हेक्टर भन्दा बढी नेपाली भूमि भारतीयबाट अतिक्रमण भएको छ । एसएसबीकै तथ्यांक अनुसार भारततर्फ १४ हजार ७ सय ८५ र नेपालतर्फ १३ हजार ९ सय २२ वर्गमिटर दसगजा क्षेत्र अतिक्रमण गरेर बस्ती बसेको छ । मोरङ र सुनसरीमा मुख्य र सहायक गरी २ सय ४४ वटा सीमा स्तम्भ छन् ।
मोरङ र सुनसरीमा दुई दर्जन सीमा स्तम्भ बेपत्ता र त्यति नै क्षतिग्रस्त छन् । यी जे भएका छन् यसमा नेपाली शासकहरुको दोष छ । आफ्नो देशको माया नहुनेहरूको भूमिका छ । मधेसीहरु त अझैँ सम्म पनि लडाईमा नै छन् । असमान सुगौली सन्धि पछि र अझैँसम्म सिमाना बनेर उभिएका छन ।
यो सबै भारतको हेपाहा रबैया हो, र हाम्रा शासकहरुको आत्मसमर्पण हो । आजभोली अर्को धम्कि आएको सुनिन्छ तर त्यो पनि योजना अनुसार नेपाललाई गलाउने धम्कि हो । ५० वर्ष पुरानो कोशी ब्यारेज भत्काइदिने धम्कि आइएसले दिएको भन्ने हल्ला चल्यो सुरुमा पछि फेरि माओबादीले भनियो ।
यी सबै नियोजित थिए । बर्खाको मौसम भएको कारणले कोशी ब्यारेजको जल स्तर निकै उच्च रहेको छ । नेपालको पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको सप्तकोशी नदि माथि निर्मित कोशी ब्यारेजलाई ध्वस्त पार्ने धम्की भारतले दिदैछ ।
यी सबै खतराका बिरुद्धमा आवाज उठाउन आन्तरिक राष्ट्रिय एकता को जरुरी छ । तर शासकहरुले आफ्नै नागरिकलाई विदेशी भन्ने तर आफु भने विदेशी सँगै दलाली गर्ने जुन परम्परा छ त्यो नै घटक छ ।
जस्तो कि विश्व बैंकले ४ हजार एक सय ८० मेगावाट विद्युुत उत्पादनको क्षमताको सम्भाव्यतासहित संसारकै सस्तो परियोजनाको रूपमा उल्लेख कर्णाली जलविद्युत आयोजना नेपालीकै लगानीमा निर्माण सम्पन्न गरी उर्जासंकट समाधान भई देशको समृद्धिको सम्भव सपना आम नेपालीको आँखामा थियो तर नेपाली जनभावना विपरीत ग्लोवल टेन्डर आव्हानको नाममा भारतीय ठेकेदार कम्पनी जीएमआरलाई ९ सय मेगावाट एक सय ४० अर्ब लागतमा निर्माण गर्ने गरी दिइयो ।
तिलाठीक सपुतलाई सलाम
अहिले सामाजिक संजालमा सप्तरी तिलासठीमा भएको एउटा झडपको तस्बिर भाइरल बनेको छ । मधेसी जनताहरुको राष्ट्रवाद माथि शंका गर्नेहरुले पनि मधेसीहरु माथि दयाको भाव जगाएका छन् । मानौ कि यो देश उनीहरुले आफ्नो टोपीमा लुकाई राखेका हुन्छन् ।
भारतीयहरुले दशगजा क्षेत्रमा बनाउन लागेको बाँध सप्तरीको तिलासठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत विच रहेको दशगज्जा क्षेत्रमा दुवै तिरका स्थानीयहरु विच झडप भयो । झडप किन भयो? सबैलाई थाहा छ नेपालीको माटोको मायाको कारणले भयो ।
नेपाली दाजुभाईहरुले बाँसको भाटा तथा ढुंगामुढा गर्दै भारतीयहरुको प्रतिवाद गरेका थिए । यो तरिका ठिक नहोला तर अन्तिम उपाय यही थियो । जहाँ देशको शासक अन्धो हुन्छन् जहाँ अन्याय र अत्याचारलाई कानुनले देख्दैन्, त्यहाँ बाँसको भाटा तथा ढुंगामुढाको प्रयोग हुनु स्वभाबिक हो ।
झडपका क्रममा भारतीयहरुको कुटाईबाट घाईते भएका तिलाठी–४ का देवनारायण यादवको अवस्था गम्भीर रहेको छ ।
उनको टाउँको बाट बगेको रगत लुगा भरी छ । तर पनि उनको मुहारमा मुस्कान देखिन्छ । म भन्छु उनको लुगामा बगेको रगतमा नेपाल आमाको मुहार देखिन्छ ।
त्यस्तै खबरदारी विचार पाइयो जगन कार्कीको  तपाइका पनि  यस्तै विचार भए लेखि पठाउनु होला ।

वास्तवमा हेला र अपमानले, २-४ जना मधेशकै मसिहा भन्ने १२ मास सत्तामा बस्ने बिजय गछादर, राजेन्द्र महतो , उपेन्द्रहरुलाइ मन्त्रि दिएर मंछाउने प्रवृतिले मधेशीका सपना बेचेर खाइदिए,यी एक एकथरी मधेशी उचालेर सत्तामा पुग्ने , अर्काथरीले पहाडको भुत जागाएर मधेशलाइ आगो ओकल्ने आपसमा भिडाएर फाइदा लिनेनारुको भिड वर्तमान राज्यसत्ताका पुराना खेलाडीहरु रहेसम्म , हामी नेपालीमा सह अस्थित्व बोध , समता मुलक समाजको भावना बिकास नभए सम्म यो प्रक्रियाको सिकार जनता हुने फाइदा छिमेकी र हाम्रा दलबहादुर , दल-लालहरुले लिई रहन्छन ।
Jagan Karki


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More