May 19, 2017

कठै ! पुरानाहरुको अप्राकृतिक गठबन्धन, वैकल्पिक शक्तिहरुको छुट्टाछुट्टै नाटक मञ्चन !

२० वर्षपछि स्थानीय चुनाव हुँदैछ । २० वर्षदेखि नै पक्ष र प्रतिपक्षमा रहेर झगडा गरेकाहरु चुनावको मुखमा एकैठाउँ हुँदैछन् । मोर्चाबन्दीको नाममा सहकार्य गर्दैछन् । टाउकाको मूल्य तोक्ने कांग्रेसको नेताले उर्दी दिए, ‘कांग्रेसका कार्यकर्ता, हँसिया हडौथामा भोट हाल ।’ कांग्रेसलाई प्रमुख दुश्मन मानेर दस्तावेज लेख्ने प्रचण्डले कार्यकर्तालाई सुप्रिमोको शैलीमा आदेश दिए, ‘रुखमा छाप लगाऊ ।’
बहुदलमा फरक दलहरु हुन्छन् । दलहरु चरित्रका हिसाबले फरक भएर नै प्रतिष्पर्धामा हुन्छन् । तर, कुनै पनि कोणबाट सहकार्य गर्न नमिल्ने पुराना दलहरु सहकार्य गरिरहेका छन् । मोर्चाबन्दी गरिरहेका छन् । तर वैकल्पिक राजनीति सुरु गर्ने भन्दै राजनीतिक रंगमञ्चमा उभिएका नयाँ खेलाडीहरु एकअर्कालाई बेवास्तादेखि निषेधसम्मको राजनीति गरिरहेका छन् ।

यसरी हेर्दा त लाग्छ, नयाँ वैकल्पिक भनौंदाहरु जमानत जफतको बाटोमा दौडिरहेका छन् । आश्चर्य मान्नुपर्छ, राजतन्त्र र हिन्दू राष्ट्रको नारा बोकेका राप्रपा र धर्मनिरपेक्षता र साम्यवादको नारा दिने र नामको पछाडि मार्क्स, लेनिन र माओको नाम झुन्डिएकाहरु बीच सत्तादेखि निर्वाचनसम्म सहकार्य भएको छ । अझ आश्चर्य त, नाटकीयरुपमा त्यही सरकारमा माओवादीहरु पनि अटाइरहेका छन् । विगतमा माओवादी मास्ने अभियानमा लागेको कांग्रेससँग उनीहरु घाँटी जोडिरहेका छन् । यहाँ सत्ता र शक्ति प्राप्तिको लागि के हुँदैन ? यसलाई राजनीतिक वेश्यावृत्ति मान्ने कि नमान्ने ?
विगतमा फरक सिद्धान्त र विचार मान्नेहरुबिच टाउको फुटाउनेदेखि छोएको पानीसम्म नखाने अवस्था र राजनीतिक संस्कार थियो । त्यो अतिबाट अहिले अर्को अतिमा राजनीति गइरहेको छ । बहुदल मान्ने । पाँच वर्ष प्रतिष्पर्धा गर्ने, झगडा गर्ने अनि चुनावमा तालमेल गर्ने ! सकरात्मकरुपमा नै हेरौं, सहमति र सहकार्यको सुरुवात त भएको छ नि । बैठकमा सँगै बसेर मापसे गर्ने, नेताहरुबीच मेलमिलाप तर भाषण गर्दा एकअर्कालाई सत्तोसराप गर्ने प्रचलन पनि विस्तारै हटोस् भन्ने शुभेच्छा गर्न सकिन्छ एउटा नागरिकको रुपमा ।
जगन कार्की
सत्ता र शक्तिको लागि मात्र हुने अप्राकृतिक गठबन्धनहरु विकृतिपूर्ण भएपनि सबै राजनीतिक पार्टीहरुको उद्देश्य पक्कै पनि देश बेच्ने र मास्ने हुनुहुँदैन । कम्तिमा विकास र समृद्धिका मुद्दामा वा विशेष परिस्थितिमा गठबन्धन बन्नु राम्रै कुरा हो । वर्तमान परिस्थिति भने विषम नै हो ! एक अमुक व्यक्तिलाई प्रधानमन्त्री बन्ने हतारोमा एक पक्षलाई सडकमा छोडेर संविधान पारित गराउनु, पारित त भो सर्वस्वीकार्यताका लागि संशोधन र त्यसको कार्यन्वयनको पक्षलाई ध्यानमा राख्दै कम्तिमा सर्वदलीय सरकार बन्न सक्नुपर्ने थियो । बिडम्बना त्यो भएन । संविधानसभालाई दिइएको मत संविधानका खातिर थियो । भाग शान्ति मिलेर सत्ता चलाउनु पक्कै थिएन । यो कुरा हेक्का नराखी कुनियतले बनेका गठबन्धनले जे परिणाम ल्याउनु थियो त्यहि ल्यायो र ल्याइरहेको छ । प्रहरी प्रशासनमा नाङ्गो हस्तक्षेप, म्यानपावर दलालीलाई राजदूत बनाउनेदेखि आफुले भनेजस्तो नगर्ने प्रधानन्यायाधिशलाई नै महाभियोगसम्मको चरम विकृत अवस्थामा देश पुगेको छ ।
हो, राजनीतिमा सिद्धान्त हुन्छ तर त्यसकै जामा लगाएर सतिजाने परम्परागत राजनीतिको युग अहिले सकिएकै हो र ? जनमतको शक्ति नपाउञ्जेल सत्तामा पुगिन्न । सत्तामा नपुगी जति कराएपनि र जति आदर्श जीवन बाँचे पनि यो देशमा हुने भनेको मोहन बैद्य, मोहनविक्रमहरु नै हो । अब त लाग्छ, ठूला पार्टीहरु फरकफरक पार्टीहरु हुन् भनेर अब कुनै द्विविधा राख्न जरुरी छैन । अब सबै एकै भइसके सत्ता, शक्ति र शासनमा । न कुनै फरक विचार, सिद्धान्त, नैतिकता अनि आदर्श नै बाँकी छ । अनि सबैको उठबस, संस्कार, शैली एकै भएपछि चुनावी एकतामा विचार खोजेर के हुन्थ्यो र ?
यही जगमा हो नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भनेको । यही भावभूमिमा फैलन सक्छ वैकल्पिक शक्ति नेपालमा भन्ने हो । यसर्थ, सिद्धान्तको दिमागी घेरा फराकिलो पार्दै यसलाई व्यवहारिक कसिमा घोटेर समृद्धि र विकासविना सिद्धान्त र राजनीतिको औचित्य नरहेको निर्क्यौल गर्दै मुद्दाको राजनीति सुरु गर्ने नयाँ शक्ति र यसका सुत्रधार बाबुराम नै पहिलो व्यक्ति हुन् । उनले जुन स्थानबाट पुरानो राजनीति त्याग्ने हिम्मत गरे, यो अद्वितीय छ ।
जब नयाँ शक्तिले विकासका मुद्दा र विचार मिल्नेहरुसँग ध्रुविकरणको लहर सुरु गर्‍यो, मुलुकमा चिराचिरा परेका ६ मधेसवादीदलहरु एक बने । पुराना दलहरुबीच विभिन्न सत्ता स्वार्थका गठबन्धनहरु तयार हुन थाले तर, बिडम्बना नयाँ र वैकल्पिक भनाउँदा शक्तिहरु गठबबन्धन त के एक आपसमा सद्भाव पनि राख्न असमर्थ देखिन्छन् । यदि पुराना शक्तिहरुसंग लड्ने हो भने र त्यसलाई परास्त गर्ने नै हो र राष्ट्रको विकास र समृद्धि नै सबैको स्वार्थ हो भने हाम्रा इमान्दार, नयाँ, वैकल्पिक भनौंदा दलहरुले यसबाट पाठ सिक्नु पर्दैन ? कम्तिमा विचार मिल्ने र सकारात्मक भाव भएका वैकल्पिक शक्तिहरुले आँप, केरा, लिच्छी चिन्ह लिएर महानगरको चौकुनामा सिमित हुनु भन्दा अभूतपुर्व एकता प्रदर्शन गर्दै अघि बढ्ने समय थियो यो । बिडम्बना त्यस्तो भइरहेको छैन । वहाँहरुले काठमाडौँमा पनि तालमेल गर्न नसक्नु लज्जाको विषय हो । लाग्छ उहाँहरु लामो रेस दौडने घोडा हैनन् ।
विवेकशील दलले काठमाडौँमा युवा उमेद्वार उठाउने जमर्को गरेको छ भने साझा पार्टीले अनुभवी उमेद्वार ल्याएको छ । दुवै उमेद्वारीको औचित्य पार्टीको प्रचार गर्नुमा यस्ता राम्रा, सद्गुणीलाई भोट नदिने हराउने जनता खराब, जालझेल गरेर अरुले जिते भनेर आरोपको राजनीति हुने देखिन्छ, जुन परम्परागत नै हो । भावनाले हुँदैन राजनीति भन्नु हुन्छ रबिन्द्रजी र उज्ज्वलजीहरु । तर, अझ साझा त पार्टी नै हैन हामी सिनियर मिल्न अरुले त्याग गर्नुपर्छ, बाबुराम भट्टराईले नेतृत्व छोड्नु पर्छ भनेर अहंकारले भरिएको जवाफहरु सुन्न पाइन्छ । एकता गर्न परयासरत साँचो वैकल्पिक शक्ति खडा गर्न उद्यत यो पक्तिकार जस्ता केहि व्यक्तित्वहरु माझ ।
नयाँ शक्तिमा दाग लागेको छ, पुराना पार्टीका मान्छे आदिइत्यादि जस्ता कुतर्क सुनिन्छ । नेपालमा हुने सबै नेपालीले कुनै न कुनै दललाई भोट हालेका छन् । अब चन्द्रलोकबाट कार्यकर्ता ल्याएर नयाँ बनाउने हो र ? कम्तिमा पुरानो त्याग गरी नयाँ हुनुपर्ने स्वीकारोक्ति, सोच र प्रणले नै बनाउने हो नयाँ वैकल्पिक शक्ति ।
मेरो अनुरोध छ, संकीर्ण दिमागी घेरा भन्दा माथि उठनुस्, राष्ट्रको निम्ति केहि गर्ने नै धोको हो भने म ठूलो हुनुपर्ने, मलाई प्रमुख भूमिका हुनुपर्ने जस्ता अहम् भाव सबैले त्याग्नुस् र देशलाई यो वर्तमान भ्रस्ट गठबन्धनको चंगुलबाट निकास दिनुहोस् । इमान्दारिता, सदाचारिता र भावनाका डम्फुहरुलाई रणनीतिकरुपमा प्रयोग नगरे शक्ति आर्जन हुँदैन । यहि नै हो भावनाको आधारमा राजनीति हुँदैन भन्ने वाक्यको चुरो कुरो । शक्तिविना सडकमा नथाकुन्जेल कराउने मात्र हो । तर, आफूले जितेर आफ्नो नीति लागू गर्न विजयी हुनुपर्छ । जनताले टुक्रे मानिसकता भएकाहरुले देश जोड्लान्, प्रगति गर्लान् भनेर कसरी पत्याउने ? अप्राकृतिक गठबन्धन भइरहेको देशमा वैकल्पिक राजनीतिक शक्ति भन्नेहरु नै मिल्न र सहकार्य गर्न सक्दैनन् भने विविधतायुक्त देशलाई कसरी एकीकृत गर्न सक्छन् ? कसरी नेपाली इन्द्रधनुषी राष्ट्रियतालाई सम्वर्द्धन गर्न सक्छन् ?
तपाईहरु सोच्नुस् । अझै समय छ । जनता तपाईंहरुको जमानत जफत भएर संधै सडकमा कराइरहेको होइन, देशको कार्यकारी स्थानमा पुगेर परिवर्तन गरेको हेर्न आतूर छन् । फुटेर हैन जुटेर, कसैको मानमर्दन गरेर हैन सम्मान र इज्जत गरेर मात्र यो सम्भव छ ।
कम्तिमा नयाँ शक्तिले सहकार्यको पहल गरेको छ । २१औं सताब्दिमा रणनीति प्रयोग गरी सत्तामा जाने अनि सिद्धान्त लागू गर्ने हो । गाई-सुर्य, रुख-हथौडा मिल्नुमा अब आश्चर्य रहेन । सिद्धान्त मिलेको हलुका निष्कर्ष ननिकाली हालौं । तिनलाई गालि गर्नुभन्दा हामी चाहिँ राम्रो अझ बृहद उद्देश्यसहित मुद्दा मिल्ने गठबन्धन निर्माणमा लागौं । संघीय समाजवादीमा जनजाती, मधेशीको तागत र परिवर्तनको विरासत छ । नयाँ शक्तिमा पुराना विरासत त्यागेर नयाँ सिराबाट सुरु गर्न सक्ने अनुभवी नेतृत्व र २१औं शताब्दीको उत्कृष्ट दर्शन र विकास र समृद्धि मूल मन्त्र ठान्ने कार्यकर्ता रहेका छन् । तपाईंहरु किन मिल्न नदिनेहरुका लहडमा लाग्नुहुन्छ ? अरुले उचालेको मृगले बाघ मार्ने विश्वास कम्तिमा नेपाली समाजले गर्दैन, हेक्का रहोस !
मसाल चिन्हको रणनीतिक उपयोग गर्दै निष्ठापूर्वक चुनावमा होमिनु, यति छिट्टै ३५ देशमा सञ्जाल विस्तार गर्नु, ७५ वटै जिल्लामा संगठन विस्तार गर्ने चौथो दलमा पर्नु र विभिन्न परिवर्तनकामी शक्तिहरु बीचको कार्यगत एकता र वैकल्पिक शक्तिहरुबीच एकता गर्दै अघि बढ्ने यसको निरन्तर पहलुनै दुरदर्शी नेतृत्व र कुशलताका संकेतहरु देखिन्छन् ।
(कार्की अन्तर्राष्ट्रिय नेपाली संघ युकेको उपाध्यक्ष हुन्)
Published on Sajha Post : http://www.sajhapost.com/2017/05/09/69907.html

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More