July 25, 2017

अबको एनआरएनए यूके नेतृत्व


आसन्न गैरआवासीय संघ यूकेको चुनावी माहोल तात्दै गएको देखिन्छ । नेतृत्व दावी गर्नेहरु बिस्तारै खुल्दै आउनेक्रम चलिरहेको छ । एनआरएनएले भूकम्पको प्रकोपमा उल्लेख्य काम गरेको दृस्टान्तले यसको भूमिकालाई बलियोसंग स्थापित गरिदिएको छ । आगामी सेप्टेम्बर ९ को सातौं महाअधिबेसन सम्म आइपुग्दै गर्दा यसले यसका उद्देश्यहरु पुरा गर्ने काम चरणवद्धरुपमा व्यवहारमा भन्दा औपचारिकतामा सिमित हुंदै आएको आभास दिएको छ ।

हुन त सन् २००५ देखि उल्लेख्य रुपमा बढ्दै आएको नेपालीहरुको जनसंख्यासंगै बेलायतको नेपाली समाजमा झल्किन थालेको नेपालको प्रत्यक्ष सामाजिक परिवेश शिशेष गरेर फुट र गुटको राजनीतक संस्कारले एनआरएनए पनि अछुतो रहन नसकेको देखिन्छ । यसको नेतृत्व गम्भीर फुट बेहोर्दै एकतातर्फ बढेको अवस्थामा बेला बखत विगतका तिक्तताले यसको गतिमा बाधा ब्यवधान आउनु स्वभाविक हो र विविध समस्या र परिस्थितिहरु बीच अनवरत लागिरहनु हुने वर्तमान अध्यक्ष मुछेत्र गुरुङ र उनको टिमले खेलेको भूमिका उत्साहजनक नदेखिए पनि समग्र रुपमा सकारात्मक नै देखिन्छ ।


यसै सेरोफेरोमा विभिन्न व्यक्ति र प्रवृतिहरुको नेतृत्व दावा गर्ने नयां शैली झल्किन थालेको छ । सामाजिक सञ्जाल र अनलाइन पत्रिका मार्फत उम्मेदवारी सार्बजनिक गर्ने वा रेस्टुरेन्टमा पत्रकार सम्मेलन मार्फत उमेद्ववारी सार्वजनिक गरिने परिपार्टी बढेकोले पत्रकार मित्रहरुलाई यो ३ महिना राम्रैसंग चुनाव लाग्ने देखिएको छ भने अर्को तर्फ सामाजिक संजालको प्रभाव यसपालाको चुनावमा राम्रैसंगपर्ने देखिएको छ ।

विभिन्न राजनीतिक, जातीय, क्षेत्रीय परिवेशमा विभाजित बेलायतको नेपाली समाजमा हालसम्म ५ किसिमका प्रमुख प्रवृतिहरु देखा परेका छन् ।
१) जातीय संगठनहरुको बलमा अगाडि आउन चाहने प्रवृतिः 
जसरी ०६२, ०६३ को आन्दोलन परिवेशसंगै जात जातिका दबिएका आवाजहरु उठे त्यस्तै गरि प्रवासमा सम्भवतः सबैभन्दा ठूलो जनजातिको बाहुल्यता रहेको बेलायतमा त्यसको प्रभाव नरहने कुरा भएन । अझ रमाइलो कुरा त बेलायतको नेपाली समाज नेपालको जातीय संरचनाको तुलनामा ठ्याक्कै उल्टो पाइन्छ अर्थात् जनजातीहरुको जनसंख्या बहुमत रहेको र खस, आर्य र मधेशी समुदायहरु अल्पमतमा रहेको पाइन्छ । यस परिपेक्षमा यहां रहेका ठूला जातीय संघसंस्था र ब्यक्तित्वहरुले एनआरएनलाइ समावेशी चरित्र दिने परिक्षा भने पास गर्नुपर्ने देखिन्छ । 
स्वभाविक रुपमा यहांपनि जातीय संघ संस्थाहरुको पकड र आफ्नो जात जातिको नेतृत्वमा संघसंस्थामा वर्चस्व स्थापित गरि आफ्ना अभियानहरु अघि बढाउने प्रयास भएको पाइन्छ । अहिले पनि अमुक जातको, अमुक संस्थाको समर्थन र आशिर्वाद रहेको र आफू निर्वाचित हुने भन्दै उमेद्ववारहरु आउने क्रम एकातिर छ भने अर्को तर्फ पारिवारिक सम्बन्ध र जालोले अनि संस्कृतिक चाड पर्व सामूहिक मनाउने जस्ता भावनात्मक सम्बन्धले यस किसिमको नेतृत्वलाई बल पुरयाएको देखिन्छ ।

२) राजनीतिक दलको आडमा अगाडि बढ्न खोज्ने ः 
भर्खरै सकिएको २ चरणको निर्वाचन परिणामसंगै ठूलो जनमत भएको दल, सत्तासिन दलहरु र अन्य दलहरु आ आफ्नै किसिमका गठबन्धन र राजनीतिक दाउपेचहरुमा नेतृत्व हत्याउने परिपार्टीले पनि ठूलो बजार लिएको देखिन्छ । कांग्रेस नजिक संगठन र व्यक्तिहरु खुलेर मैदानमा निस्किएको देखिन्छ भने एमाले र माओबादी निकट संस्था मौन रणनीतिक चलखेलमा रहेको देखिएको छ । नेपालमा हुर्किएको अनावश्यक समीकरण र ध्रुवीकरण खेल यहां पनि खेलियो भने दीर्घकलिन रुपमा एनआरएनको उद्देश्य र काम कारबाहीमा नराम्रो असर गर्ने देखिन्छ ।

३) धन सम्पतिको रवाफमा बिना दक्षता अगाडि बढ्न खोज्नेः
सबै कुराले सम्पन्न भएपछि केहि योगदान गर्न लालयित हुनु स्वभाविक हो तर आफ्नो दक्षता नभएको क्षेत्रमा बसेर केहि गर्छु नाम आउंछ, पैसा फयांकेर मान्छेलाई काम लगाउंछु भन्ने सोच र प्रवृति पनि एनआरएनएमा देखा परेको छ । यस्तो प्रवृति व्यक्तिमा हुनु स्वभाविक हो तर यस्ता व्यक्ति र प्रवृतिलाई मुख्य पद र जिम्मेवारी सर्लक्क छोडिदिनु, यस्तै प्रवृति हरु हावी हुंदै जानु चाहिं जिम्मेवार समाज र व्यक्तिको गैर जिम्मेवारीपन हुन जान्छ ।

४) बुद्धि र दक्षता भएका तर पैसा नभएका ः
बेलायतको नेपाली समाजमा यो प्रवृतिको पनि बाहुल्यता रहेको छ जो बढी आफंै आफ्नो काममा तल्लिन हुने गर्दछ र उसलाई गर्न जरुरी हुने गर्दछ । बेलायतको राजनीतिक परिपेक्षमा पनि आफ्नो पेशा ब्यवसाय र आर्थिक रुपमा अन्तरनिर्भर नभई राजनीति तथा समाजसेवालाई प्राथमिकतामा राखिन्न, त्यस्तै गरेर अलिक दक्ष र पेशाकर्मीहरुले एनआरएनमा केहि योगदान गर्न चासो देखाएको पाइन्न भने एन आरएनएको नेतृत्वले पनि पैसा र पहुचंलाई बढि ध्यान केन्द्रित गरेको हो कि भन्ने आभास संस्थाको बिधान लेख्नसम्म योगदान गरेका डा सूर्य सुबेदीले गत महिना ग्लोबल पोलिसी फोरमको एक अन्तरर्बार्तामा बताउनु भएको थियो भने डा. चन्द्र लक्सम्बा लगायत बुद्धिजीविहरुको धारणा पनि एनआरएनए बुद्धि र दक्षता भन्दा धन केन्द्रित हुंदै गएको हो कि भन्ने छ ।

एक दक्ष व्यक्तिलाई काम गर्ने अवसर दिएको खण्डमा पैसामात्र ठुलो कुरा भन्ने हुंदैन तर एनआरएन जस्तो संस्था चलाउन हरेक मिटिंग र सेमिनार संयोजन गर्न, चन्दा र डोनेसनका लागि त्यतिकै आर्थिक भार पर्ने अर्को पाटो छ । लगभग अहिलेको अवस्थामा एनआरएन यसका क्रियाकलाप, नेतृत्व र प्रवृतिलाई मध्यनजर गर्दा एक चन्दा उठाउने र खर्च गर्ने संस्थाको रुपमामात्र अघि बढि रहेको हो कि भन्ने भान हुने गरेको छ । अर्को तर्फ नेतृत्वमा केहि गर्ने इच्छा शक्तिको पनि जरुरी हुनुपर्ने त छंदै छ । चुनिएका प्रतिनिधिले काम गर्न नसक्नेगरि चन्दा र भत्ता असुली गर्ने, अक्षमहरुलाई पोस्ने र सक्षमहरुलाई निरुत्साहित गर्ने सबै विकृत प्रवृतिहरुलाई सन्तुलनमा ल्याउन संस्थागत विधिविधान फेरबदल गरेर वा विभिन्न दीर्घकालिन रणनीतिक कार्यक्रमहरु मार्फत एनआरएनए यूके अगाडि बढ्नु पर्ने देखिएको छ । अझ वर्तमान कार्यसमितिले जांदा जांदै एउटा अनलाइन सर्भे गरेर आफ्नो काम, संस्थाको मुल्यांकन र जनअपेक्षाको सर्वे गरेर सोअनुरुप सुधारको पहल अघि बढाइदिए उत्तम हुने थियो ।

५) समाजमा केहि योगदान गर्न चाहने, दक्षता र सम्पन्न भएको नाम र राजनीति मात्र होइन सेवाभावले अघि बढ्न चाहनेः

पाचौं प्रवृतिको समूह बेलायतमा उल्लेख्य देखिएको छ । यो प्रवृति न ठूला कुरा गर्न मन पराउंछ न अरुले गरेको मन पराउंछ । बरु चुपचाप काम गर्न रुचाउंछ । बेलायतको स्थानीय संस्कृति अनुरुप क्षमता र दक्षताले अघि बढ्ने सेवाभावले जिम्मेवारी आइलागे निभाउने देखिन्छ । यस प्रवृत्तिलाई एनआरएनएले आकर्षित भन्दा विकर्सित गर्दै लगेको पाइन्छ ।

केहि विकृतिका कुरा
धेरैले अध्यक्षको उमेद्ववारी घोषणा गरेर उपाध्यक्ष सुनिश्चित गर्ने अथवा एउटा दलबाट धेरै उमेद्ववारी दिएर अरुलाई रोक्ने, प्रचार प्रसारमा आउन उमेद्ववारी घोषणा गर्ने विविध विकृत रणनीति अपनाउने, पत्रिकामा उमेद्ववारी दिने देखि डमी सदस्य बनाउने, सदस्यता किन्नेसम्म प्रवृत्ति सुनिन आएको छ । उमेद्ववारी दिने जति सबैलाई ब्यवस्थापन गर्न स्थान दिइने देखि वर्तमान नेतृत्वलाइ नै दोहोरयाउने अवस्था सृजना गर्ने सम्मका बजार हल्ला सुनिन थालिएको छ । ६ वटा उपाध्यक्ष, धेरै सचिव अनि जिम्मेवारीको अन्योल र नेपाल हाउस प्रोजेक्टमा शिथिलता देखापर्नु, वर्तमान कार्यसमितिमा रहेक सदस्यहरु कोहि पनि भित्रि रुपमा सन्तुष्ट नरहनु, वर्तमान सदस्य संख्यामा ज्यादै न्यून संख्याले मात्र सदस्यता नवीकरण गर्नु जस्ता कुराहरु चुनावपछि सदस्यहरु र कार्यसमितिको दुरी अनि धेरै बेथितिका सूचक हुन् ।

चुनावको मुखमा मात्र मेम्बर बढाउने आव्हान , नविकरणको चटारोले नेपालमा झै जनतालाई भोट बैंक ठान्ने प्रवृति बेलायतमा पनि झल्किएको भान भएको छ । यो काम सुरुदेखि किन गरिएन भन्ने प्रश्नले कार्यसमिति र यहाको नेपाली समुदायको स्पस्ट सम्बन्ध बिच्छेदको अवस्थाको झल्को दिन्छ । त्यस्तै गरेर २५ पाउण्ड सुल्क लाद्ने निर्णयले कतै बढी संख्यामा नेपालीहरु नआउन ? भन्ने हेतु हैन भन्ने सवाल पनि उठाएको छ । केन्द्रलाइ पठाउनु पर्ने एक्स्ट्रा १० डलर नयाँ आउने मेम्बरको टाउकोमा थोपरेर यसमा संलग्न हुने ठुलो जनमासलाइ रोक्नुका साथै सिमित एलिट वर्गलाइ मात्र आकर्षित गर्ने ध्यय त हैन भन्ने पनि सवालहरु उब्जिएका छन् ।

अवसरका कुरा 
बेलायतमा बढ्दो नेपालीहरुको शिक्षा र दक्षताको स्तर उपयोग गर्न, युवा पुस्ता र स्थापित पुस्ताहरुबीच बढेको पुस्तान्तरण समस्या कम गरि बढी भन्दा बढी युवाहरुलाई कार्यसमितिमा सामेल गरि उनीहरुको भूमिका र आत्मा विश्वासलाई स्थापित गर्ने अवसर छ । त्यस्तै गरेर महिलाहरुले हांकीरहेको मुलुक बेलायतको नेपाली संस्था पुरुष प्रधान देखिन्छ यसलाई सच्याएर महिला नेतृत्व विकास गर्ने । बेथिति र विसंगति चिर्न पद्दति र पारदर्शिता अनि कार्यगत एकता र सामूहिक नेतृत्वको विकास गरेर सम्पूर्ण जात, क्षेत्र, धर्ममा विभक्त समाजलाई समन्वय गरेर एउटा मालामा गांस्ने देखि यहां रहेका हरेक नेपालीहरुलाई दूतको रुपमा भूमिका निभाउन प्रोत्सान गर्ने, व्यापार ब्यबसायलाई यहां स्थापित गर्न सहयोगी भूमिका खेल्ने, नयां संबिधानको कार्यान्वयनसंगै खुलेको विकासको ढोकालाइ टेवा पुरयाउन यहांको सिप ज्ञान नेपालसम्म प्रसार गरेर समग्र नेपाल र नेपालीहरुको प्रवर्धन गर्ने उच्च लक्ष्य हासिल गर्न सकिने देखिन्छ ।


माथिका तमाम प्रवृतिहरुको विश्लेषण बाबजुद बेलायतमा बढ्दो नेपाली समाजका आवश्यकता, उनीहरुको हकहितको रक्षा गर्दै नेपाल र बेलायतबीच नेपाली समुदायको पुल भएर भूमिका खेल्नु पर्ने बहुउद्देश्य बोकेको संस्थामा पैसा, जातपात र राजनीति भन्दा माथि उठेर ठूलो तस्बिर देख्न सक्ने ब्यक्तित्व अहिलेको एनआरएनएमा आवश्यक देखिएको छ । नेपालमा बढेको जस्तै जातजाति, क्षेत्र, धर्मको राजनीति, मनी, मसल र मिडिया पावरले चुनाव जित्ने प्रवृतिलाई बेलायत एनआरएनएमा निरुत्साहित गरेर नेपालमा सम्म एउटा गतिलो नमुना नेतृत्व प्रदर्शन गर्ने जिम्मेवारी बेलायतको नेपाली समाजमा कांधमा आएको छ ।


दलीय भागबण्डा, तेरो मेरो हाम्रो र मिलाएर जाने मिल्ने प्रवृतिमा अनावस्यक सौदा बाजी गरिनु भन्दा लोकतान्त्रिक अभ्यासबाट मुद्धा केन्द्रित उमेद्ववारीलाई चुन्ने परिपार्टीको थालनी गर्ने र विगतका त्रुटीहरु सच्याउने अवसर फेरी एकपटक बेलायतको नेपाली समुदायलाई प्राप्त भएको छ, यसको सदुपयोग वा दुरुपयोग हुने निक्र्याेल अबको २ महिनाले गर्नेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More