July 28, 2017

जनै अनि डोरो लगाउनको अर्थ खोजिरहेको पुस्ता

जगन कार्की
जनै अनि डोरोको भिर्नुको अर्थ पहिल्याउँदै बिरालो बाध्ने संस्कृति सुधार्ने जिम्मेवारी बोकेको पुस्ता ।
जनै अनि डोरोको भिर्नुको अर्थ पहिल्याउँदै बिरालो बाध्ने संस्कृति सुधार्ने जिम्मेवारी बोकेको पुस्ता |
जनै पुर्णिमा र बिबिध चाडपर्व संगै मौलाएको बिकृति, पुस्तान्तरण र साँस्कृतिक स्खलन सम्बन्धि बहस थालनीका हेतुले मेरो धारणा पोखेको छु , समय मिले हेरेर प्रतिक्रिया दिनुहोला ।



’येनबद्धो बली राजा दानबेन्द्रो महाबलः,तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।... ..
भन्दै केटाकेटी हुंदा घरमा आएर पण्डितजीले डोरो बाँधीदिन्थे । अनि अलि ठुलो भएपछि जनै लाइयो , केके मन्त्र पनि पढियो । तर यो जनै लाउनु र त्यो हातमा डोरो बाध्नुको अर्थ चै कहिल्यै बुझिएन  ।

यसो पण्डित बाजेहरुसगं सोध्यो, रक्षा हुन्छ, बलबुद्दी मिल्छ भन्छन् । सायद मैले सोध्या बाजेहरुलाई त्यो भन्दा बढी जानकारी नभएर होला । अब आफुपछिको पुस्ताले सोध्यो भने पनि मसंग जवाफ नै छैन  ।

यसो अहिले आएर सोच्दा यो जनै लगाउने चै बाबुआमा, परिवारले अब तिमि हाम्रो उत्तराधिकारी हौ , मर्दापर्दा सबै जिम्मा तिम्रो हुनेछ भनेर एउटा उत्तराधिकारी चुनेको प्रतिकको रुपमा हो कि भन्ने मेरो अनुमान थियो । त्यस्तै कालान्तरमा बुझदा धेरै सांकेतिक अर्थहरु जस्तै गुरुको , मातापिताको दायित्वस्वरुप , स्वास्थ्यको, ऋषिहरुको , एउटा बयस्क र विश्वासिलो बनिनुको संकेत लगायत विभिन्न अर्थ रहेको पाइयो ।

रक्षाबन्धन त झन् धेरै कुराको रक्षाको लागि होला । शास्त्रले चांही भगवान बिष्णुले दानब बलिराजाको नास गरी पाताल लोकमा राज्य गरे तिम्रै साथमा रहन्छु भनेर प्रतिज्ञा गरेको खुसियालीमा यो पर्ब मानिएको भन्दो रहेछ । उता राखी पर्ब मनाउनेहरुले फेरी यसलाई महाभारतको युद्धसग जोडेर हेर्दा रहेछन् । कृष्णले सिशुपाललाई सुदर्शन चक्र प्रहार गर्दा कृष्णको हातमा चोट लगेर रगत बगेको देखेर द्रौपदीले आफ्नो कपडा च्यातेर कृष्णको औंलामा बाँधिदिएको र त्यसबाट प्रसन्न भएर कृष्णजीले के चाहन्छौ भन्दा एउटी चेलीले जस्तै भगवान कृष्णको स्नेह, उपस्थिति सधै रहिरहोस भनिन् रे ।

त्यसबाट राखीको आरम्भ भएको भनिएको रहेछ , यो धार्मिक, पौराणिक कुरो एक ठाउंमा छ ।


जे होस् हामी नेपाली हाम्रो चिनारी नै हाम्रो चाडबाड , परम्परा , संस्कृति हुन् । यी सब नहुने हो भने हामी के नेपाली ? तर हरेक संस्कृतिक परम्परा र सामाजिक संस्कारहरुले एउटा जीवन्त सांकेतिक अर्थ , परिभाषा बोकेका हुन्छन । ति संकेत र परिभाषाअनुसार समाजले ग्रहण गरेको हुन्छ ।
तर नेपालमा बिरालो बांधेर सराद्दे गर्ने परम्पराले छोड्न सक्या छैन । किन गर्या भन्दा बाउ , बाजेले गर्थे त्यही भएर हामीले गरेको बिंडो थामेको जवाफले संस्कार र संस्कृति पतोन्मुख छन् । गर्नेले त गर्यौं तर देख्नेले त बहुत गलत अर्थ लगाउने देखिएको छ । त्यसै त हिन्दु धर्मका धेरै भगवान छन् ।मान्छे पिच्छेका भगवान बुझी नसक्नु छ भनेर दुर्प्रचार गर्नेहरु कम छैनन् ।

विशेष गरेर मधेसी समुदाय र भारतीय हिन्दु समुदायमा मनाइने राखीमा चेली र दाजुभाई बीचको सम्बन्ध , प्रेम र बाल्य अवस्था देखिको सम्झनालाई हरेक वर्ष राखी हातमा बांधीदिएर पुनर्ताजकी गराउने गरिन्छ । पहाडी समुदायमा पनि केहिले त मान्न सुरु गरेको पाइन्छ, तर तिहारमा बहिनिको हातको टिका लगाउने चलन बढी छ ।

नेवारी समुदायको क्वाटी, भोज जात्राहरुको सुरुवातको मजा अर्कै छ । मान्नु पर्छ , जगेर्ना गर्नु पर्दछ हाम्रो देशको संस्कृति र परम्परालाई । तर समय सन्दर्भ अनुसार परिमार्जनको कमीले मनाउने प्रथामा ह्रास आउन थालेको हो कि ? यो चाड हिन्दुहरुको महान चाड हो तर केवल खान , पिउन रमाइलो गर्ने हिसाबमा मात्र चाडबाड परिभाषित हुन थालेका छन् अझ अहिलेको नया पुस्ताले त त्यो बाहेक केहि बुझेको नै छैन किन कि हामीले नै बुझेका छैनौ ।

हाम्रो परम्परा , संस्कृतिलाइ सम्बर्धन गर्न र भाबी पुस्तालाइ सजिलैसगं हस्तान्तरण गर्न अब समय सुहाउंदो ब्याख्या र मनाउने बिधिको बिकास गर्न जरुरी देखिन्छ ।

आलेखमा उठाईएका जिज्ञासा र विचारलाई अन्यथा नालिइयोस् । केहि कट्टर हिन्दु धर्म अनुयायी हरुलाई जे छ मान्नै पर्छ, बिरालो बाध्नै पर्छ भन्ने लाग्ला । केहि नास्तिकहरुलाई धर्म कर्म हैन खाने पिउने मस्ती गर्ने भन्ने खालका अतिबादी संोचले संस्कृति र परम्परा स्खलित भएको छ । हाम्रो बहुसांस्कृतिक चिनारीलाई अझ परिस्कृत गरेर बाहिरी दुनियाले हेर्दा पनि अर्थपूर्ण लाग्ने बने त्यसले निरन्तरता र थप उचाई हासिल गर्ने देखिन्छ ।

मुसलमान समुदायले सुंगुरलाइ हेला गर्दा सम्मान गर्ने समुदायले नेपालमा हिन्दुले गाईलाई पुजागर्नुमा , टिका लगाउनुमा धज्जी उडाउनुले केहि हेपायती संस्कार देखिएका छन् । हिन्दु धर्मका नाममा लादिएको जात, जातिको बिखन्डन , भेदभाव ,तल्लो जातलाई मन्दिर पस्न नदिने , छुवा छुत् प्रथा जस्ता अमानवीय प्रथाले धेरै भेदभावमा परेका जातिले धर्म नै परिवर्तन गर्ने गरेको कारणलाइ नहेरी एकोहोरो कराउने धर्मका मसिहा पण्डितजीहरुले पनि सोच्ने बेला आएको छ ।

भावी पुस्तालाई ब्यबहारिक र यथार्थ ढंगले बुझाउन नसकिने संस्कार भबिस्यमा टिक्ला ? अनि इसाई र अन्य धर्मको ब्यापार र हिन्दु संस्कृति प्रतिको अतिक्रमण र निरन्तर प्रहार नबढ्ला ?
हाल भारतीय हिन्दु समुदायमा पनि चाडबाड , संस्कृति र परम्परा मनाउनु र त्यससग जोडिएका बैज्ञानिक पक्षको परिभाषा गर्ने परम्परा बसेको छ । जस्तै भनौं, तामाको भांडोमा जल राखेर भगवानलाइ चढाउने, पिपल , तुलसीलाइ पुजा गर्दा आरोग्य अक्सिजन प्राप्त हुने , गौत सेवनले शरीरमा भएको ब्याक्टेरियालाइ मार्ने , विभिन्न चाडबाडमा सेवन गरिने परिकार जस्तै जाडोमा तरुल , तिल सेवनले शरिरमा ताप र उर्जा दिने ।

गरिबी र अशिक्षाले ब्याप्त नेपाली समाजमा अधिकांश समय सन्तुलित भोजन नगरिने र छाक टार्न मात्र खान खाने तर अत्यधिक श्रम गर्नुपर्ने भएकोले दशैं र विभिन्न चाडपर्वमा सेवन गरिने अत्यधिक मासु र अन्य परिकारले शरीरलाई चाहिने प्रोटिनको मात्र बढाउने जस्ता पक्ष एकतर्फ छन् भने पारिवारिक भेटघाट , सामाजिक क्रियाकलाप र चाडपर्बमा हुने ब्यापारिक गतिबिधिले अर्थ व्यवस्थालाई पनि सुचारु गर्न मद्दत गरिरहेका हुन्छन् ।

धनी वर्गको भने रवाफ बेग्लै । रक्सी, जुवा , तास नै चाडबाड । कमसेकम यस्ता चाडबाडमा केहि मानवीय कर्म गर्ने , समाज र सामुदायिक सेवा गर्ने परिपाटी पनि साथसाथै जोडेर परम्परा बनाउन सके झन् सुनमा सुगन्ध हुने र बाहिरी समुदायले हेर्दा पनि अनुकरणीय र सराहनीय देखिन्छ । यस्ता सबै पक्षलाई समेटेर एउटा राष्ट्रिय स्तरमा संस्कृतिको ब्याख्या, सम्बर्धन र प्रबर्धन गर्न नागरिक समाजदेखि सम्बन्धित निकायको अर्थात् संस्कृति मन्त्रालय र मातहतका निकायको पनि ध्यान जान जरुरी भएको हो कि ?
http://www.nepalipatra.com/news/trend/jagan-karki-article/23491

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Loading...

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More